शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकी चुनावः ट्रम्पको पक्षमा रुस, विपक्षमा चीन–ईरान ?

अमेरिकी चुनावः ट्रम्पको पक्षमा रुस, विपक्षमा चीन–ईरान ?

  • शुक्रबार, अशोज १६, २०७७
अमेरिकी चुनावः ट्रम्पको पक्षमा रुस, विपक्षमा चीन–ईरान ?

अमेरिकी राष्ट्रपतिको निर्वाचन केवल १ महिना टाढा छ । प्रतिस्पर्धी डोनाल्ड ट्रम्प वा जो बाइडेनमध्ये रुस, चीन र ईरानले कसलाई गोप्य रुपमा समर्थन गर्दैछन् ? अहिले यस विषयमा सर्वत्र चासो छ । ३ नोभेम्बरमा हुने निर्वाचनअघिका तीन राष्ट्रपतिय बहसमध्ये ट्रम्प र बाइडेनबीच पहिलो बहस गत मंगलबार सम्पन्न भइसकेको छ । बाँकी दुई बहस थप तातो हुने आँकलन गरिएको छ । वासिङटनका गुप्तचर निकायका शीर्ष अधिकारीहरु भने चीन, रुस र ईरानजस्ता विदेशी शक्तिले निर्वाचनमा प्रभाव पार्नसक्ने भयमा छन् ।

२०१६ को राष्ट्रपतिय निर्वाचन

अमेरिकी गुप्तचर निकायहरुका अनुसार सन् २०१६ मा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको ठाडो आदेशमा निर्वाचन प्रभावित गर्ने गरी अपरेशन चलेको थियो, मस्कोले यस निर्वाचनमा हिलारी क्लिन्टनलाई कमजोर र डोनाल्ड ट्रम्पलाई विजयी बनाउन भूमिका खेल्यो । अमेरिकामा राजनीतिक तथा सामाजिक द्वन्द्व बढाउने उदे्दश्यले यस्तो गरिएको गुप्तचर निकायहरुको ठहर थियो । वासिङटनका धेरै अधिकारी तथा गुप्तचर एजेन्सीहरुको यस्तो आशंकापछि यसबारे छानविन गर्न एफबीआईका पूर्वनिर्देशक रोबर्ट मुलरको नेतृत्वमा समिति नै गठन गरिएको थियो । अनुसन्धानका क्रममा विभिन्न अभियोगमा ट्रम्पको निर्वाचन अभियानमा जोडिएका धेरै अधिकारीहरु पक्राउ परे, यद्यपी ट्रम्पको संलग्नतालाई मुलरले स्थापित गर्न सकेनन् । आफ्नो रिपोर्टमा ट्रम्पले सफाइ पनि नपाएको उनको भनाइ थियो ।

विदेशी हस्तक्षेप

यो परिस्थिती चार वर्षपछि पनि कायम छ । नेशनल काउन्टर इन्टेलिजेन्स एन्ड सेक्युरिटी सेन्टर (एनसिएससी) प्रमुख विलियम इभानिनाका अनुसार चीन, रुस र ईरानले यस वर्षको निर्वाचनमा हस्तक्षेप गर्न खोजेका छन् । इभानिनाका अनुसार धेरै विदेशी शक्तिहरुले अमेरिकाको नीतिलाई बदलेर अस्थिरता फैलाउनका लागि मतदाताहरुलाई प्रभावित गर्ने कोसिस गरिरहेका छन्, उनीहरुले अमेरिकाको प्रजातान्त्रिक प्रक्रियाप्रति अमेरिकी जनताको आत्मविश्वासको अवमुल्यन गरेको इभानिनाको धारणा छ ।

रुसको रोजाइ

ट्रम्पलाई ४५ औँ राष्ट्रपति बनाउन सघाएको आरोप रुसमाथि कायमै छ । इमानिनाका अनुसार पुटिन सरकारले रुसी टेलिभिजन र सामाजिक सञ्जालमा ट्रम्पको उम्मेदवारीलाई प्रबद्र्धन गर्ने गरी अभियान थालिसकेको छ । उसले जो बाइडेनको उम्मेदवारीलाई कमजोर बनाउन रुसी संस्थापन विरोधीका रुपमा हेरिएका सदस्यहरुलाई कमजोर बनाउने नीति लिएको छ । एफबीआईका निर्देशक क्रिस्ट्रोफर वरेले ह्वाइट हाउसलाई खतराबारे जानकारी दिइसकेका छन्, जो बाइडेनविरुद्ध निर्वाचनमा हस्तक्षेप निम्त्याउनका लागि गलत सूचना फैलाउने काम रुसले सक्रिय ढंगबाट गरिरहेको उनको चेतावनी छ । बाइडेनले निर्वाचनमा रुसी हस्तक्षेपबारे टिप्पणी गर्दै मस्कोको संस्थापनलाई भनेका छन्, ‘निरन्तर हस्तक्षेप गरिरह्यौँ भने तिमीहरुले त्यसको मुल्य चुकाउनुपर्नेछ ।’ यद्यपी, २०१६ को निर्वाचनमा रुसको हस्तक्षेपलाई अस्विकार गर्दै आएका राष्ट्रपति ट्रम्पको अभिव्यक्ति फरक छ । उनले भनेका छन्, ‘मलाई लाग्छ, मलाई रुसले अन्तिमपटक कार्यालयमा देख्न चाहेको छ । रुसप्रति म जति कठोर भएँ, त्यति अहिलेसम्म कोही हुनसकेको थिएन ।’

चीनको रोजाइ

ट्रम्प प्रशासनले निरन्तर चिनियाँ कम्पनीहरुलाई समस्यामा पारिसकेको छ र साउथ चाइना सीमा पनि उसको सैन्य अडान कडा छ, बेइजिङ पक्कै पनि ट्रम्पको निरन्तरता चाहँदैन । इभानिनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘चीनले ट्रम्पले फेरि चुनाव जितुन् भनेर चाहदैंन । उनलाई बेइजिङले विश्वास गर्न नसकिने व्यक्तिका रुपमा हेर्छ ।’ यसबारे ट्रम्प भन्छन्,‘चीन हामीले त्यस्तो निर्वाचन गरौं भनेर चाहन्छन्, जहाँ डोनाल्ड ट्रम्प सुतेका जो बाइडेनसँग हारुन् । उनीहरुले हाम्रो देशको स्वामित्व लिएको सपना देख्नसक्छन्, यदी जो बाइडेन राष्ट्रपति हुन्थ्यें भने चीनले हाम्रो देशमा शासन गर्नसक्थ्यों ।’ यद्यपी, द डिप्लोमेटको सम्पादकीयअनुसार यदी अमेरिकामा नेतृत्व परिवर्तन भइहाल्यो भनेपनि चीनप्रतिको अमेरिकी नीतिमा ठूलो परिवर्तन हुनेछैन ।

ईरानको रोजाइ

डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता ईरानसँगको तनाव निकै बढेको छ । बाराक ओबामाको कार्यकालमा भएको ईरान आणविक सम्झौताबाट एकतर्फी रुपमा अमेरिका बाहिरिएको घोषणा ट्रम्पले सन् २०१८ मा गरेका थिए । त्यसयता, दुई देशबीच तिक्तता छ । सहमतिअनुसार खुकुलो गर्नुपर्ने प्रतिबन्धहरुलाई वासिङटनले फेरि लगाउन थालिसकेको छ, उसले ईरानमा प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसंघलाई नै प्रेरित गरेको थियो (तर, सफल भएन) । किनकी, ईरानले ट्रम्पलाई सहयोग गर्दैन र बाइडेनको पक्षमा खडा हुनसक्छ भन्ने ट्रम्पलाई लागेको छ । ईभानिनाका अनुसार तेहरान ट्रम्पको विपक्षमा नै हुनेछ किनकी अमेरिकाले आफ्नो देशमाथि दबाब बढाउने र सत्ता परिवर्तनको खेल थाल्ने उनीहरुको बुझाई छ ।

ईभानिनाका अनुसार ट्रम्पविरुद्ध ईरानले अनलाईन अभियान चलाउनेछ । यसक्रममा सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाउने र अमेरिकाविरोधी सामाग्रीहरुलाई भाइरल बनाउने काम उसले गर्नेछ । ट्रम्पले ईरानले आफ्नो हार कामना गरेको बताएका छन् । यद्यपी उनी अगाडि थप्छन्, ‘यदी मैले जिते भनें ईरानसँग सम्झौता निकै चाँडो गर्नेछु । हामीले उत्तर कोरियासँग पनि चाँडै सम्झौता गर्नेछौँ । यदी २०१६ मा मैले चुनाव नजितेको भए, हाम्रो देश उत्तर कोरियासँगको लडाइँमा पनि हुनसक्थ्यो । हामीसँग खासमा उत्तर कोरियाको सम्बन्ध बनेको छ ।’

स्रोत : https://eurasiantimes.com/

चर्चामा

सम्बन्धित समाचार