शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • गीतमार्फत दसैं सम्झाउँदै गोविन्द

गीतमार्फत दसैं सम्झाउँदै गोविन्द

  • बुधबार, भदौ १७, २०७७
गीतमार्फत दसैं सम्झाउँदै गोविन्द

काठमाडौं : लोकदोहोरी हुँदै छोटो समयमा गीतसंगीतमा आफ्नो पृथक् परिचय बनाएका गायक गोविन्द गौतम यतिबेला दसैंका लागि गीत तयार गर्न व्यस्त छन्। अघिल्ला वर्षहरूमा बिदा नमिलेर स्वदेश फर्कन नपाएका नेपाली दाजुभाइ यसपटक कोरोनाका कारण दसैं मनाउन स्वदेश फर्कन नपाउने हुन् कि भन्ने चिन्ता गर्दै गोविन्दले गीत तयार गरेका छन्। केही समय आफैं पनि परदेसिएका उनी अहिले स्वदेश फर्केर चाडबाडमा स्वदेश फर्कन नपाउँदाको पीडा कस्तो हुन्छ भन्ने वर्णन गर्न व्यस्त छन्। भन्छन्, ‘यसपालिको दसैं रोगले पो सताउँछ कि भन्ने चिन्ता छ, त्यसैले त्यसैलाई गीतमा समेट्ने प्रयास गर्दैछु।

परदेसिएका धेरै नेपाली दाजुभाइ कामको सिलसिलामा बिदा नमिलेर दसैं तिहारमा घर फर्कंन पाउँदैनथे तर यसपालि रोगले गर्दा फर्कने अवस्था नहोला जस्तो छ, त्यसैलाई गीतमार्फत उतार्दै छु।’ अमृत खातीको संगीतमा रेकर्डिङको तयारीमा रहेको उनको गीतले भन्छ,

‘पोहोर भ्याइनँ यसपालि रोग आयो, आफूसँगै बालबच्चा जोगाउँ,
जमरा टीका थालीमा, यसपालि त म घर आउँदिनँ, भेटौंला अर्को सालैमा।’

उनले यो गीत गायिका सुनिता दुलालसँग रेकर्ड गराउने तयारी रहेको पनि सुनाए। गाउँमा छँदा सानातिना सांगीतिक माहोलमा सामेल हुने उनलाई रामेछापको वनपाखाले नै गीतसंगीत सिकायो। आफूले औपचारिक रूपमा संगीतको शिक्षा नलिए पनि उनले लोकसंगीतको क्षेत्रमा पृथक् प्रस्तुति दिएका छन्। अहिले आएर संगीतको औपचारिक शिक्षाको आवश्यकता महसुस गरेका उनी त्यसको तयारीमा पनि छन्।

केही समयअघि उनले गाएको ‘भेटौं शनिबार’ बोलको गीतले निकै राम्रो चर्चा पायो। गायिका मेलिना राईको साथमा उनले गाएको यो गीतको म्युजिक भिडियो पनि निकै रुचाइएको थियो। कुमार कार्कीको शब्द र संगीत तथा कृष्ण भान्जाको एरेन्ज रहेको गीत उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भीमसेन अधिकारीको र खमेश श्रेष्ठको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा नेपाल आइडल मार्फत चर्चा कमाएकी काउली बूढी (सन्ध्या बुढा), गोविन्द गौतम, अर्जुन सिलवाल, एलिसा गिरीलगायतले अभिनय छ। लोकगीतलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको भिडियोको छायांकन ओम प्रसाईंले गरेका हुन्। सरिता गौतमको सम्पादन तथा अर्जुन सिलवालको कोरियोग्राफी रहेको भिडियोमा गायक आफैं मोडल पनि बन्ने प्रयास गरेका छन्।

गौतमले ‘साँढे गोरु झै’, ‘मायालुको ज्यान’, ‘तिमी मेरो बूढा म चाहिँ तिम्रो पोई’ जस्ता गीत बजारमा ल्याइसकेका छन्। उनीले केही गीत आफैंले पनि लेखेका छन्। भन्छन्, ‘अरू जुनसुकै काम गरे पनि संगीतको नशाले मलाई छोइसकेको छ त्यसैले योभन्दा टाढा गएर रमाउन सक्दिनँ।’

चर्चामा

सम्बन्धित समाचार