बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शिक्षा
  • अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ कलेजको सम्बन्धन खारेज

अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ कलेजको सम्बन्धन खारेज

  • बुधबार, भदौ १०, २०७७
अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ कलेजको सम्बन्धन खारेज

सरकारले अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको छ।  चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत संचालित स्वास्थ्य विषयका प्रमाणपत्र तहभन्दा तलका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको हो।

आयोगको साउन ३० गते बसेको बैठकले उक्त निर्णय गरेको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले जानकारी दिए। उनका अनुसार आयोगले चिकित्सा शिक्षा ऐनको दफा १५ (४) अनुसार सिटिभिटीले यही शैक्षिक सत्रबाट प्रमाणपत्र तहभन्दा मुनिका कुनै पनि कार्यक्रम संचालन नगर्ने नगराउने निर्णय गरेको हो।

आयोगको निर्णयसँगै यो वर्षदेखि देशभरमा रहेका अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज भएको छ। यी कुनै पनि कलेजले नयाँ भर्ना लिन पाउने छैनन्। तर यी कलेजमा हाल अध्ययनरत विद्यार्थीको पढाइ पूरा नभएसम्म भने चालू रहने छन्।

‘यसै शैक्षिक सत्रबाट सञ्चालन बन्द भएका कार्यक्रमहरूसँग सम्बन्धित विषयहरूमा यसअघि भर्ना भएका विद्यार्थीको अध्ययन पूरा गराउने प्रयोजनका लागि विश्वविद्यालय प्रतिष्ठान तथा परिषद् र अन्तर्गतका शिक्षण संस्थाहरूले अध्ययन अवधि सकिएको मितिले तीन पटकसम्म परीक्षा लिने व्यवस्था सम्बन्धित संस्थाले मिलाउनु पर्नेछ,’ आयोगको निर्णयमा उल्लेख छ।

आयोगले यी कलेजलाई मापदण्ड पुरा गरेर स्तरोन्नती गर्न सक्ने निर्णय पनि गरेको छ। आयोगको बैठकको निर्णय नम्बर ७ मा ‘प्रमाणपत्र तहभन्दा मुनिका चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त गरेका संस्थाको हकमा ऐनले तोकेको समय अवधिभित्र त्यस्ता कार्यक्रमहरूलाई कार्यक्रम मिल्ने गरी अवस्था भएसम्म अर्को मिल्दो कार्यक्रममा स्तरोन्नति गर्ने वा अर्को कुनै संस्थासँग गाभिएर मापदण्ड पूरा गरे स्तरोन्नति गर्ने’ उल्लेख छ।

सरकारले २०८० भित्र यस्ता कार्यक्रम खारेज गर्ने नीति लिएको थियो।

चर्चामा

सम्बन्धित समाचार