शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • ईश्वर पोखरेल र योगेश भट्टराईबीच चर्काचर्की

ईश्वर पोखरेल र योगेश भट्टराईबीच चर्काचर्की

  • शुक्रबार, भदौ ५, २०७७
ईश्वर पोखरेल र योगेश भट्टराईबीच चर्काचर्की

तीनदिनअघि दुबईबाट नेपाल आउने तयारीमा रहेका २३० जना नेपाली नागरिक लिन गएको नेपाल एयरलाइन्सको विमान रित्तै फर्कियो । कारण थियो जहाज नेपालबाट दुबई प्रस्थान गरेपछि कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले अन्तिम समयमा विदेशबाट नेपाली ल्याएर राख्न नसकिने निर्णय गर्नु ।

केहीदिनअघि मन्त्रिपरिषदले गरेको निर्णय विपरीत केन्द्रले यस्तो निर्णय गरेपछि जहाज रित्तो फर्किनुपरेको थियो । यसै विषयलाई लिएर कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक ईश्वर पोखरेल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईबीच बैठकमै चर्काचर्की परेको छ ।

स्रोतका अनुसार मंगलबार बसेको केन्द्रको बैठकमा संयुक्त अरब ईमिरेट्स युएईमा उद्धारका लागि गएको नेपाल एअरलाइन्सको जहाज रित्तै फर्काएपछि भट्टराई पोखरेलसँग क्रुद्ध हुन पुगेका हुन् ।

“उद्धार उडान भरेको विमान रित्तै फर्काइन्छ । विमानस्थलमा विमान अवतरण गरेपछि विभागीय मन्त्रीले थाहा पाउँछ,” पर्यटनमन्त्री भट्टराईको भनाइ उद्धृत गर्दै एकमन्त्रीले बाह्रखरीसँग भने, “किन फर्काएको भनेर सोध्दा सीसीएमसीले उद्धार रोकेको भन्ने जवाफ आउँछ । सीसीएमसीले गरेको निर्णय सीसीएमसीकै सदस्यलाई थाहा हुनुपर्दैन ?”

भट्टराई जङ्गिएपछि पोखरेल मौन बसेका थिए । स्रोतका अनुसार होटल र क्वारेन्टिनको प्रबन्ध राम्रो नभएको भन्दै केन्द्रका संयोजक पोखरेलले उद्धार उडान नभर्ने निर्णय गरेका थिए । निजी कम्पनीमा यात्रु ल्याउन नेपाल एअरलाइन्सको विमान रित्तै फर्काएको पर्यटन मन्त्रालय स्रोतको भनाइ छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईले बाह्रखरीलाई दिएको जानकारीअनुसार सरकारले निर्णय गरेर नल्याउने भनेकाले दुबई गएको जहाज रित्तै फर्किएको थियो । “सरकारले निर्णय नै नल्याउने गरेको छ । नियमित उडान जस्तो पनि होइन । चार्टर उडानबाट ल्याउने कि नल्याउने सरकारको निर्णय अनुसार अगाडि बढ्ने हो । त्यहीअनुसार निर्णय भएको हो ।”

तर, हतारमा निर्णय गरेकाले एयरपोर्ट पुगिसकेका नेपालीले त दुःख पाए नि ? भन्ने बाह्रखरीको प्रश्नमा उनले भने, “त्यो विषयमा सीसीएमसीलाई नै सोध्नू ।” कति नेपाली दुबई विमानस्थलमा आएर फर्किएका थिए भने कतिलाई अन्तिम समयमा उडान रद्ध भएकाले नआउन भनिएको थियो । अघिल्लो साता सोमबारको मन्त्रिपरिषद् बैठकले भने भदौ १ देखि सञ्चालन गर्ने भनेको नियमित हवाई सेवा रोक्दै दैनिक पाँचसय संख्या नबढाई विदेशबाट उद्धार गर्ने निर्णय गरेको थियो ।

दुबईबाट नेपाली श्रमिकलाई ल्याउन नदिएको सरकारले इस्तानबुलबाट टर्किस विमानबाट भने यात्रु ल्याउन दिएको छ । नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्सलाई यात्रु नलिई आउन निर्देश गरेको सीसीएमसीले मंगलबार नै टर्किस एयरलाइन्सलाई भने यात्रुको अनुमति दिएको खुलेको छ । सीसीएमसीको अनुमतिबाटै टर्किसले सोही दिन २०१ यात्रु ल्याएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले टर्किसलाई यात्रु ल्याउने अनुमति भएकाले उसले यात्रु ल्याएको बताए । उक्त विमानले २ सय १ जना यात्रु ल्याएको थियो । “वायुसेवा निगमलाई यात्रु ल्याउन अनुमति सीसीएमसीले दिएको थिएन, ल्याउन पाएन । टर्किस्लाई अनुमति दिएको थियो, ल्यायो,” उनले भने ।

चर्चामा

सम्बन्धित समाचार