शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • लिदीमा पहिरो: एक जनाको शव भेटियो, ३६ जना पुरिएको आशंका

लिदीमा पहिरो: एक जनाको शव भेटियो, ३६ जना पुरिएको आशंका

पाँच जनाको हेलिकप्टरबाट उद्धार

  • शुक्रबार, साउन ३०, २०७७
लिदीमा पहिरो: एक जनाको शव भेटियो, ३६ जना पुरिएको आशंका

सिन्धुपालचोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ। वडा नम्बर २ का वडाध्यक्ष प्रताप लामाका अनुसार एक जनाको शव फेला परेको हो भने अन्य पाँच जनाको उद्धार भएको छ। ‘अहिले एक जनाको शव फेला परेको छ। पाँच जनालाई सेनाको हेलिकप्टरबाट उद्दार गरी अस्पताल पठाइएको छ,’ उनले सेतोपाटीसँग भने।

चार जनालाई जिल्लाको चौतारा अस्पताल पठाइएको छ भने एक जनालाई काठमाडौं लगिएको छ। मृतकको सनाखत हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी माधव काफ्लेका अनुसार घाइते हुनेमा एक बालक, दुई महिला र दुई पुरूष छन्।

घाइते हुनेहरूमा नौ वर्षीय रूप बहादुर दोङ, २३ वर्षीय पासाङ दोङ, ६० वर्षीया केवारिङ दोङ र ४३ वर्षीया जुनु दोङ छन्। उनीहरूलाई चौतारामा लगिएको छ। यसैगरी मनाङ एयरको हेलिकप्टरबाट घाइते एमजी लामालाई काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ।

पहिरोमा अझै ३६ जना पुरिएको हुन सक्ने आशंका गरिएको छ। ‘अहिले हामीले नाम टिप्दा ३६ जना पुरिएको भन्ने आएको छ,’वडाध्यक्ष लामाले भने।  प्रहरी, सेना तथा स्थानीय उद्धारमा खटिएका छन्। यसैगरी सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको पहिरो पीडित बस्तीमा पुगेका छन्।

चर्चामा

सम्बन्धित समाचार