शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • चालिस कटेसी दम्पतीको यौन जीवन शिथिल हुन्छ ?

चालिस कटेसी दम्पतीको यौन जीवन शिथिल हुन्छ ?

  • बिहिबार, साउन २९, २०७७
चालिस कटेसी दम्पतीको यौन जीवन शिथिल हुन्छ ?

नवयौवनाको यौन जीवन जति सक्रिय र आनन्ददायक हुन्छ त्यो सधैभरी कायम रहन्छ होला ? विवाहको सुरुवाती बर्षहरुमा जस्तै दम्पतीले बर्षौंसम्म पनि यौन जीवनबाट रोमाञ्चकता हासिल गर्छन् होला ?

उमेर गुज्रिदै जाँदा दम्पतीमा यौन रुची र उत्सुकता एकनास रहन्छ होला ? ३०, ४० बर्षपछि पनि उनीहरु त्यसरी नै यौन क्रियामा संलग्न हुन्छन्, जसरी सुरुवाती दिनहरुमा हुन्थे ?

संभवत यौन जीवन र उमेरबीच त्यती धेरै सम्बन्ध नहोला । किनभने यौन शारीरिक क्रिया मात्र होइन, भावनात्मक उपस्थिती पनि हो । त्यसैले यौन क्रियाबाट उनीहरुले नै बढी सन्तुष्ट लिन सक्छन्, जसले यसको अन्तर्य बुझेका छन् ।

यौन जीवनलाई कसरी सक्रिय राख्ने, कसरी यसबाट आनन्द लिने भन्ने कुरामा दम्पतीबीचको सम्बन्ध, व्यवहार र भावनात्मक कुराले अर्थ राख्छ । यो सत्य होइन कि, बुढ्यौलीमा वा वयस्क हुँदै गएपछि यौन जीवन खल्लो हुन थाल्छ ।

यौन क्रियामा शारीरिक भन्दा बढी मानसिक उपस्थिती जरुरी छ । अतः युवा अवस्थामा दम्पतीको दैनिकी धपेडीपूर्ण हुन्छ । उनीहरु आफ्नो करियर, बालबच्चाको भविष्य, घर व्यवहारको चक्करमा दौडिरहेका हुन्छन् । हरेक साँझ घर फर्कदा उनीहरु मानसिक रुपले थकित भइसकेका हुन्छन् ।

अनेक आकंक्षा र तनावले पनि उनीहरुको सयन कक्षमा प्रवेश गर्छ । त्यसैले जवान अवस्थामा नै दम्पतीले यौनबाट भरपुर आनन्द लिन्छन् भन्ने छैन । बरु उमेर ढल्कदै गएपछि उनीहरु एक हिसाबले व्यवस्थित भइसकेका हुन्छन् । छोराछोरी हुर्कन्छन् । घर व्यवहारको सन्तुलन मिल्छ । इच्छा, आकंक्षा पनि पुरा भइसकेको हुन्छ । यस्तो अवस्थामा उनीहरु केही फुर्सदिला बन्न पुग्छन् । परिपक्क पनि । अतः यही उमेरमा उनीहरुको यौन जीवन भने सक्रिय हुनसक्छ ।

यौन मनोविज्ञहरु भन्छन्, ‘यौन जीवनमा उमेर भन्दा मानसिकता बढी जिम्मेवार हुन्छ ।’ यदि ढल्कदो उमेरमा पनि दम्पती मानसिक रुपले स्वस्थ छन् भने उनीहरु यौनमा सक्रियताका साथ सहभागी हुन सक्छन् ।

श्रीमान्–श्रीमती दुवै शारीरिक तथा मानसिक रूपले यौन क्रियाका लागि तयार छन् अथवा उनीहरूबीचको आपसी सम्बन्ध मधुर छ, उनीहरू सन्तुलित आहार र पर्याप्त निद्रा लिन्छन्, शारीरिक रूपले तन्दुरुस्त छन्, नियमित रूपमा व्यायाम गर्छन् भने उमेरले उनीहरूको यौन क्रियालाई कुनै असर पार्न सक्दैन ।

प्राकृतिक रूपमा बढ्दो उमेरसँगै शारीरिक रूपमा केही परिवर्तन आउनु स्वाभाविक हो तर शारीरिक रूपमा आएको परिवर्तनको अर्थ यौन क्रियाप्रतिको इच्छामा पनि परिवर्तन हुन्छ भन्ने होइन । यौन क्रियाप्रति अरुचि हुनुको कारण एउटा त शारीरिक समस्या हो भने अर्को मानसिक तनाव । श्रीमान्–श्रीमतीबीच आपसी तालमेल नमिल्दा पनि यौनजीवनमा असर पर्छ ।

आपसी संवाद

दम्पतीले यो कुरामा विश्वास गर्नुपर्छ कि, उमेर ढल्कदै गएपनि यौन जीवन एकनास रहन्छ । उनीहरुले यौन क्रियाका लागि कुनै निश्चित उमेर हुन्छ भन्ने कुरालाई मनबाट हटाउनुपर्छ ।

यौनक्रियाका लागि कुनै निश्चित उमेर हुँदैन । त्यस्तै यौन क्रिया कति पटक र कति दिनको अन्तरालमा गर्नुपर्छ भन्ने पनि सीमा हुँदैन, यो त श्रीमान्–श्रीमतीको इच्छा र परिस्थितिमा निर्भर गर्छ । त्यसैले अरू के गर्छन् भन्ने कुरामा जानु आवश्यक छैन । के गर्दा खुसी प्राप्त हुन्छ त्यही गर्नुपर्छ । यौन क्रिया श्रीमान्–श्रीमतीबीचको अत्यन्त निजी सम्बन्ध भएकाले आफैंले निर्णय लिनुपर्छ । यसो गर्दा यौन क्रियाको आनन्द उठाउन सक्नुका साथै आफ्नो नाता–सम्बन्ध र स्वास्थ्यमा पनि यसको असर पर्दैन ।

औपाधि सेवनबाट बच्नुपर्छ

कहिलेकाहीं श्रीमान्–श्रीमतीलाई यौनप्रति रुचि घट्दै जान्छ । अझ विशेष गरेर श्रीमान्लाई विभिन्न शारीरिक तथा मानसिक कारणले यौन क्रियामा रुचि हुँदैन र आफू अब यौन क्रियाका लागि उपयुक्त नभएको अनुभव हुन थाल्छ । उनीहरूलाई यौन टनिक आवश्यक भएको अनुभव हुन्छ । यसको नतिजा उनीहरू चिकित्सकको सल्लाह–सुझावबिना नै बजारमा उपलब्ध औपाधि सेवन गर्छन्, जसले शरीरमा नकारात्मक असर पार्छ ।

कुनै पनि औपाधि सेवन गरेर यौनप्रति रुचि बढाउनुभन्दा यौनप्रति अरुचि हुनुको कारण पत्ता लगाएर त्यसलाई हटाउने प्रयास गर्नुपर्छ । आफ्नी श्रीमतीसँग त्यसका बारेमा छलफल गर्नुपर्छ । त्यसपछि पनि समस्या समाधान भएन भने कुनै सेक्सोलजिस्टसँग मद्दत लिनुपर्छ । एक सेक्सोलजिस्टका अनुसार यौन क्रिया शरीर र मनको आस्थामा निर्भर गर्छ र यी दुवै उमेरसँगै परिवर्तन हुन्छन् । उमेरसँगै हार्मोन्समा आएको परिवर्तनका कारण पनि यौन क्रियामा असर पर्छ । भिन्दा–भिन्दै व्यक्तिको यौन क्षमता उमेरसँगै भिन्दा–भिन्दै हुन सक्छ । कसैको यौन क्षमता छिट्टै प्रभावित हुन्छ भने कसैको लामो उमेरसम्म पनि यथावत् रहन्छ । यसको कारण आनुवंशिक, खानपिन, नियमित व्यायाम, सन्तुलित आहार, प्रर्याप्त निद्रा तथा तनाव रहित जीवनशैली आदि हो । जति तनावरहित र स्वस्थ रहन सकिन्छ यौनजीवन पनि त्यति नै स्वस्थ हुन्छ ।

केही कुरा

सबैभन्दा पहिले आफ्नो उमेरका बारेमा सोच्न छाड्ने, आफ्नो यौनक्रिया गर्ने उमेर बित्यो भन्ने सोचाइ दिमागबाट निकालिदिने ।

–श्रीमतीसँग ख्यालठट्टा, छेडछाड गर्ने बानी यथावत् राख्ने । यसले सम्बन्धमा ताजापन ल्याउँछ ।

–कहिलेकाहीं परिवारदेखि टाढा आफ्नी श्रीमतीसँग मात्र समय बिताउनुपर्छ, हनिमुन जिन्दगीमा एकपटक मात्र मनाउनुपर्छ भन्ने छैन । आफ्नो जन्मदिन, वैवाहिक वार्षिक उत्सव श्रीमतीसँग कतै टाढा गएर मनाउनु राम्रो हुन्छ ।

–प्रायः दम्पतीहरू छोराछोरी ठूला भए भनेर एउटै कोठामा सुत्दैनन्, यसो गर्नु राम्रो होइन जुनसुकै उमेरमा पनि श्रीमान्–श्रीमती सुत्ने कोठा एउटै हुनुपर्छ ।

–कुनै विशेष अवसरमा मात्र श्रीमतीलाई उपहार दिनुपर्छ भन्ने छैन, कहिलेकाहीं त्यसै पनि आफ्नी श्रीमतीलाई उपहार दिनुपर्छ । श्रीमतीलाई यस्तो व्यवहार साँच्चै मनपर्छ र यसले सम्बन्धमा मधुरता आउँछ । प्रेमलाई प्रस्तुत गर्नु पनि आवश्यक छ ।

–कतिपय मानिसहरू उमेर बढ्दै जाँदा आफ्नो सौन्दर्य र पोशाकमा ध्यान दिन छाड्छन् तर जुनसुकै उमेरको भए पनि आफूलाई सधैं अप टु डेट राख्नुपर्छ यसले आफूलाई पनि राम्रो अनुभव हुन्छ । त्यसैले हरेक उमेरमा आफूलाई सजाउनुपर्छ ।

–हामी जस्तो सोच्छौं शरीरले पनि त्यस्तै प्रतिक्रिया दिन्छ । त्यसैले आफ्नो विचारलाई कहिल्यै बुढो हुन दिनुहुँदैन । बुढो भइयो भन्ने कुरालाई मनमा उत्पन्न हुन दिनु हुँदैन, किनभने यसको असर यौनजीवनमा पनि पर्छ ।

–आफूभन्दा कम उमेरका व्यक्तिहरूसँग पनि हेलमेल बढाउनु राम्रो हुन्छ । यसो गर्दा स्वयं आफूलाई तन्नेरी अनुभव हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार