शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कोरोना फैलिएपछि धमाधम सेवा बन्द गर्दै ठूला अस्पताल

कोरोना फैलिएपछि धमाधम सेवा बन्द गर्दै ठूला अस्पताल

  • शनिबार, साउन २४, २०७७
कोरोना फैलिएपछि धमाधम सेवा बन्द गर्दै ठूला अस्पताल

विराटनगर : चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि प्रदेश १ को राजधानी विराटनगरका ठूला र सुविधासम्पन्न अस्पतालहरुले धमाधम आफ्ना सेवा बन्द गर्न थालेका छन्। कोरोनाको प्रभावका कारण प्रदेशमै ‘रेफरल सेन्टर’का रुपमा चिनिएका सरकारी एवं निजी अस्पतालले बिरामी भर्ना लिने, उपचार गराउने नियमित सेवा बन्द गर्न थालेका हुन्। कतिपय अस्पतालले बहिरंगका साथै आकस्मिक समेतका सेवा अनिश्चित कालका लागि बन्द गरेको भन्दै सूचना टाँसेर छन्। केही अस्पताल सिल गरिएका छन्।

विराटनगरका गोल्डेन, न्युरो, मोरङ सहकारी, विराट नर्सिङ होम एवं विराटनगर, कोशी समेतका ठूला अस्पतालले नियमित स्वास्थ्य सेवा बन्द गरेका छन्। उपचारका सबै काम बन्द गरेर आकस्मिक सेवालाई सञ्चालनमा ल्याए पनि प्रभावकारी सेवा दिन सकेका छैनन्।

स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि गोल्डेन अस्पतालले बिहीबारबाट सेवा बन्द गरेको छ। मंगलबार स्वाब परीक्षण गराउँदा दुई जना स्वास्थ्यकर्मी र एक जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ। अस्पतालको ओपीडी, आकस्मिकदेखि लिएर सबै सेवा बन्द गरिएको प्रशासन प्रमुख सन्तोष मेहताले बताए।
‘अस्पताललाई ‘डिसइन्फेक्ट’ नगरिकन सञ्चालन गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘स्वास्थ्यकर्मीबाटै अरु बिरामीलाई कोरोना सर्छ कि भनेर सेवा बन्द गरिएको हो।’ सबै चिकित्सक र स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट यकिन भइसकेपछि मात्रै अस्पताल सञ्चालनबारे निर्णय हुने उनले बताए।

मोरङ सहकारी अस्पताले पनि आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ। अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेपछि सेवा बन्द गर्नु परेको सञ्चालक विकाव अधिकारीले बताए। अस्पताल नियमित रुपमा कहिलेदेखि सञ्चालनमा ल्याउन सकिन्छ भन्ने यकिन नभएको उनको भनाइ छ।

न्युरो अस्पतालका पाँच जना नर्सिङ स्टाफ र एक हेल्परमा कोरोना देखिएको डाइरेक्टर रञ्जित बस्नेत बताउछन्। गत आइतबारबाट अस्पतालको सबै सेवा बन्द गरिएको थियो। तर बिहीबारबाट आकस्मिक सेवा सञ्चालन गरेको भए पनि बिरामीले खुट्टा राख्ने ठाउँ नहुने उक्त अस्पतालमा उपचारका लागि कोही पुगेका छैनन्।

वरिष्ठ चिकित्सकलाई साउन ६ गते कोरोना देखिएपछि सिल गरिएको विराट नर्सिङ होमको आकस्मिक सेवा सोमबार बिहानबाट सञ्चालनमा आयो। ओपीडी सेवा बन्द नै छ। अस्पतालका प्रशासन प्रमुख पदम विनाडी बिरामीले उपचार नपाउने अवस्थालाई ध्यानमा राख्दै आकस्मिक सेवा सञ्चालन गरिएको बताउँछन्। सधैं बिरामीले भरिने विराटमा यतिबेला बिरामी पाउनै मुस्किल परेको छ। हालसम्म विराटसँग आवद्ध १३ जनामा संक्रमण पुष्टि भइसकेको छ।

प्रदेश १ कै ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालको ओपीडी सेवा साउन १५ गते बन्द गरियो। बुधबारदेखि सेवा सञ्चालन गरिएको भए पनि उपचारका लागि आउने बिरामीको संख्या न्यून छ। ‘पहिले दैनिक एक हजार दुई सय बढी उपचार र स्वास्थ्य परीक्षणका लागि आउने गरेका थिए अहिले ५० जना पुग्दैनन्।’ अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले भने।

चिकित्सक, नर्सिङ स्टाफसहितका स्वास्थ्यकर्मी र कर्मचारी गरेर शुक्रबारसम्ममा कोशीमा १६ जनालाई कोरोना पोजेटिभ देखिएको छ।अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरेर पाँच सय बढी कार्यरत छन्।

विराटनगरमा पछिल्लो समय समुदायस्तरमै कोरोना संक्रमण देखिएको छ। हालसम्म विराटनगरमा २२३ जनामा संक्रमण पुष्टि भइसकेको छ। बाहिरैबाट संक्रमण फैलिएको हो वा अस्पतालबाट समुदायमा पुगेको हो यकीन भएको छैन। कतिपय संक्रमितको ‘ट्राभल हिस्ट्र’ हेर्दा अस्पतालसँगै जोडिएको पाइएको महानगर जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए।

चिकित्सक, नर्सिङ तथा अस्पतालका कर्मचारी र बिरामी बाहिरी मानिससँग सम्पर्कमा रहने हुँदा यकिन गर्न गाह्रो परेको कार्कीको भनाइ छ। ‘संक्रमणको फैलावट हेर्दा अस्पतालबाटै भएको हो कि भन्ने अवस्था पनि छ। तर अस्पतालमा पनि बाहिरबाट आएकाले नै सारेका हुन्,’ कार्कीले भने।

संक्रमणको पछिल्लो लहर हेर्दा स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पूरा गरेर र बढो सावधानी अपनाएर मात्रै अस्पताल चलाउन सक्ने अवस्था रहेको उनको भनाइ छ। यसरीनै संक्रमण फैलँदै गएर सबै स्वास्थ्य संस्थाले सेवा बन्द गर्दै जाँदा अन्य रोगीको उपचारमा संकट उत्पन्न हुन सक्ने कार्कीले बताए।

चर्चामा

सम्बन्धित समाचार