यो अलि घतलाग्दो प्रसंग छ । जसै लकडाउन सुरु भयो एउटा फरक किसिमको खबर पनि सञ्चार माध्याममा देखिए । खबर थियो, लकडाउन भएसँगै बजारमा कन्डमको खपत बढ्यो । झट्ट सुन्दा उट्पट्याङ लागेपनि यो स्वभाविक खबर थियो । किनभने धेरैजसो दम्पतीको दैनिकी धपेडीमा वितिरहेको अवस्था थियो । उनीहरुले आपसमा अन्तरंग पल साट्ने मौका समेत पाएका थिएनन् । यस्तो अवस्थामा उनीहरु घरभित्रै बस्नुपर्ने भएपछि अरु के चाहियो ?
सामाजिक सञ्जालमा कतिपयले ठट्टा पनि गरे, ‘अबको ९ महिनापछि सन्तान दर बढ्नेछ ।’ यो अनुमान सत्य पनि हुनसक्छ । दम्पतीबीचको शारीरिक सम्बन्धलाई समय र परिस्थितीले पनि प्रभाव पार्छ । कतिपय अवस्थामा चाहेर पनि दम्पतीले यौन भोग गर्न सकिरहेका हुँदैनन् । पाइरहेका हुँदैनन् । तर, परिस्थिती अनुकुल हुनसाथ दम्पतीहरुले उक्त मौका उम्काउँदैनन् पनि ।
कुनैबेला नेपालमा लोडसेडिङ व्याप्त थियो । कति बेला बत्ती आउँछ भनेर तालिका हेर्दै बस्नुपर्ने बाध्यता थियो । अधिकांश समय त बत्तीको उज्यालो देख्नै नपाइने । यसरी लोडसेडिङले देश नै अध्याँरो भइरहँदा पनि एउटा खबर छापिएको थियो, ‘लोडसेडिङले गर्भवती बढे ।’
खासमा अनुकुल समयको फाइदा उठाउन वा पट्यारलाग्दो समय कटाउन दम्पतीले अन्तरंग पल साट्ने गर्छन् । यसमा उनीहरुको इच्छा भनेको केवल शारीरिक सुखभोग मात्र हुन्छ । तर, गर्भनिरोधक उपाय अपनाउन नसक्दा गर्भ रहन सक्छ । यसरी सन्तानको रहर नभई वा कुनै योजना नै नभइ पनि कतिपयले बच्चा जन्माउनुपर्ने अवस्था आइलाग्छ ।
हुन त अनिच्छित गर्भ रोक्नका लागि चिकित्सा विज्ञानसँग अनेकन उपाय छन् । परिवार नियोजनदेखि कन्डमसम्मको प्रयोग अपनाउन सकिन्छ । त्यसैगरी आकस्मिक गर्भनिरोधक चक्कीहरु समेत पाइन्छन् । दम्पतीहरु यी कुराबाट अनभिज्ञ पक्कै छैनन् । तर, उनीहरुले कतिपय अवस्थामा सुरक्षाका विधी अपनाउने गर्दैनन् ।
किन नगर्ने परिवार नियोजन ?
परिवार नियोजनका साधनका लागि परामर्श तथा सेवा दुवै सरकारी स्वामित्वका अस्पताल तथा स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छ । अहिले धेरै प्रसुति तथा स्त्रीरोग बिशेषज्ञहरुले आफ्नो निजी क्लिनिकमा पनि परिवार नियोजनका परामर्श तथा सेवा दिन शुरु गरिसकेकोले डर र त्रास बिना आफ्नो चिकित्सकसंग सल्लाह गर्न सकिन्छ ।
राम्रो पक्ष के छ भने अहिले निजी क्लिनिकमा पनि हर्मोन प्रयोग नगरिएको १२ बर्षसम्मको लागि पुग्ने तथा आवश्यक भए झिक्न पनि मिल्ने कपर टि (ओके प्लस) स्त्रीरोग बिशेषज्ञले लगाउने भएकोले विज्ञको सेवा नै खोज्नेहरुको लागि सजिलो भएको छ ।
त्यस्तै स्थायी बन्ध्याकरण गर्ने मन भएर पनि दुखाईको डरले नगरेर बसेकाहरुका लागि पनि मैले जस्तै धेरै स्त्रीरोग तथा प्रसुती बिशेषज्ञले निजि अस्पतालमा पुरै नदुख्ने बनाएर स्थायी बन्ध्याकरण गर्ने सेवा पनि दिने गरेका छन् । यसले एकातिर दिर्धरोगी तथा विज्ञबाट नै सेवा खोज्नेहरुको लागि सजिलो भएको छ भने अर्कातिर परिवार नियोजनका साधनको सहि छनोटले अनच्छित गर्भ राख्नुपर्ने बाध्यताको अन्त हुने गरेको छ । त्यसैले समयमा नै उचित परिवार नियोजनका साधन सम्बन्धि परामर्श र सेवा उपभोग गर्नु बुद्धिमानी साबित हुन्छ ।
गर्भलाई सुनियोजित गर्ने
गर्भलाई सुनियोजित गर्नु नै वास्तविक परिवार नियोजन हो । परिवार नियोजनका साधनका प्रयोगले सन्तानको संख्या कम हुने मात्र हुदैन । थोरै र जन्मान्तरले आमा र बच्चा स्वास्थ्य राम्रो हुन्छ । बच्चालाई राम्रो स्याहार गर्न सकिने, पोषणयुक्त खाना अनि स्वास्थ्य वातावरणले बिमारी कम हुने तथा स्वास्थ्यमा हुने खर्चमा कमि आउने हुन्छ ।
त्यस्ता बच्चालाई राम्रो शिक्षादिक्षा दिन सकिने र त्यसैले राम्रो रोजगार पाउने जस्ता कुराहरुले आर्थिक, समाजिक, स्वास्थ्य, शिक्षा हरेक क्षेत्रको प्रगती र सन्तुलनमा परिवार नियोजनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मद्दत गरेको हुन्छ । राष्ट्रलाई पनि कम जनसंख्या भएको अवस्थमा स्वास्थ्य, शिक्षा, रोजगार जस्ता अत्ति आवश्यक सुबिधाको कुशल व्यवस्थापन गर्न सजिलो हुन्छ भन्ने कुरामा दुई मत छैन । त्यसैले राज्यले पनि यसलाई उच्च महत्व दिएको छ र सरकारी स्वास्थ्य संस्थाहरुमा परिवार नियोजनका सबै सेवाहरु निःशुल्क गरेको छ ।
जानकारी छ, प्रयोग छैन
महिलाहरुलाई परिवार नियोजनका साधनहरुका बारेमा जानकारी हुदाहुदै पनि बिगत १० बर्ष देखि यसको प्रयोग बढेको देखिएको छैन । अधिकाशं महिलाहरुमा परिवार नियोजनका साधन प्रयोग गर्नाले सधैका लागि गर्भ नरहने डर रहने गरेको पाईन्छ । कसैकसैमा यसले महिनावारी गडबडी गर्ने तथा पाठेघरका असर गर्ने तथा क्यान्सर नै हुन सक्ने डर पनि रहेको हामीले पाएका छौ ।
परिवार नियोजन सम्बन्धि विज्ञसंग परामर्श नै नगरी यस संबन्धि पुर्ण ज्ञान नभएको मानिसहरुले भनेका आधारमा परिवार नियोजनका साधनका बारेमा भ्रम पालेर तनावमा बसेका धेरै दम्पतीहरु हाम्रा वरिपरी रहेको पाउछौ । यस्ता अधिकाशं महिलाहरुमा गर्भ नराख्ने चाहना हुने गरेको तर परिवार नियोजनका साधनहरु प्रयोग गर्न डराएका अनि यस संबन्धि परामर्शका लागि लजाउने गरेको पाईन्छ । यी महिलाहरुको त्यही डर, लाजले गर्दा अनईच्छित गर्भ रहने र गर्भपतन सेवाका लागि भौतारिने गरेको हामी पाउछौ ।
शिक्षाले परिवार नियोजनमा ठुलो महत्व राखेको पाईन्छ । शिक्षित परिवारमा ढिलो विवाह हुने, थोरै सन्तान पाउने र राम्रो जन्मान्तर कायम गरेको पाईन्छ । त्यसैले शिक्षित बर्ग परिवार प्रति जिम्मेवार र संवेदनशिल रहेको आभास गराउछ तर यस्ता वर्गमा परिवार नियोजनका साधन कम प्रयोग गर्ने गरेको अध्ययनहरुले देखाएको छ । २०१६ को नेपाल डेमोग्राभी एण्ड हेल्थ सर्भे अनुसार लेखपढ नभएका ५२ प्रतिसत महिलाहरु परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका देखाएका छन् भने माध्यमिक वा सो भन्दा बढि पढेका केवल ३४ प्रतिसत महिलाहरुले मात्र यो प्रयोग गर्ने गरेको देखाएको छ । शिक्षित महिलाहरुले प्राकृतिक बिधि अपनाउने गरेको वा निजि वा सरकारी परिवार नियोजन क्लिनिकमा नगएर आफ्नै किसिमले परिवार नियोजनका साधनहरु प्रयोग गर्ने गरेको हुन सक्ने अनुमान सहजै लगाउन सकिन्छ ।
परिवार नियोजनका बारेमा जान्नु आवश्यक छ । यसका बारेमा नजानेकाले एकातिर गर्भपतन गराउनु पर्ने बाध्यता छ भने अर्कातिर जोखिम लिएर भए पनि नचाहिएको बच्चा पनि जन्माउनु परेको छ । सन् २००२ देखि २०१७ सम्ममा करिब १० लाख महिलाले सुरक्षित गर्भपतन गराईसकेको र सो भन्दा बढि असुरक्षित गर्भपतन भएको हुन सक्ने अनुमान गरिएको छ । गर्भपतनलाई व्यवस्थित गर्नको लागि पनि परिवार नियोजनका बारेमा परामर्श सेवा बढाउनु आवश्यक छ ।
आजभोली मान्छेको चाहना बढि सकेको छ । अहिले सामान्य बिसन्चोमा पनि बिशेषज्ञसंगको सेवा नै चाहना राख्छन् । परिवार नियोजनका लागि पनि विज्ञसंगको परामर्शको चाहना राख्नु ठुलो कुरा रहेन । अर्को कुरा अहिलेको जिवनयापन र खानपानले गर्दा कम उमेरमा नै उच्चरक्तचाप, मधुमेह जस्ता दिर्धरोगको समस्या अनि त्यस अवस्थामा चाहिने परिवार नियोजनको परामर्शलाई अलिक गम्भीर हुनु आवश्यक देखिन्छ ।
परिवार नियोजनका साधन रोज्न हतार गर्नुहुदैन । आफुलाई उपयुक्त हुने साधन अनि त्यसको फाइदा–बेफाइदाका सम्बन्धमा राम्रो जानकारी लिनु पर्छ । यसबारेमा चिकित्सक, स्वास्थ्यकर्मी वा स्वास्थ्य कार्यकर्तासंग परामर्श लिन सकिन्छ । उचित परामर्श पछि मात्र यसको सेवन वा प्रयोग गर्नुपर्छ तर परिवार नियोजनका साधारहरु प्रयोग गर्न अप्ठ्यारो मानेर, डर वा चिन्ता लिएर गर्भ रहन दिनु हुदैन । आफुले वा महिलाले नचाहदा नचाहदै गर्भ रहन गएका त्यस्तो गर्भका लागि १८ बर्ष पार गरेका महिलाहरुले आफ्नै मञ्जुरीमा गर्भपतन रोज्न पाउने कानूनि प्रावधान रहेको छ ।
नेपालमा गर्भपतन सेवाले बि.स.२०५९ मा कानुनी मान्यता पाएको हो । परिवार महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार हाल ७५ वटै जिल्लामा गरेर ३ हजार भन्दा बढि गर्भपतन सेवा दिने स्वास्थ्यकर्मी तथा चिकित्सकहरु छन् ।
लेखक मोरङ सहकरी अस्पतालका प्रसुती तथा स्त्री रोग विशेषज्ञ हुन्