शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्रिकेट
  • आईपीएल सेप्टेम्बर १९ देखि यूएईमा

आईपीएल सेप्टेम्बर १९ देखि यूएईमा

  • मङ्लबार, साउन २०, २०७७
आईपीएल सेप्टेम्बर १९ देखि यूएईमा

मुम्बई : इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिताको आगामी संस्करण सेप्टेम्बरमा सुरु हुने भएको छ। प्रतियोगिता आगामी सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म सञ्चालन हुनेछ। चर्चित फ्रेन्चाइज प्रतियोगिता आईपीएलको यो १३औं संस्करण हो।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण प्रतियोगिताको आगामी संस्करण संयुक्त अरब इमिरेट्स (यूएई)मा खेलाइनेछ। प्रतियोगिता यूएईमा खेलाइने घोषणा यसअघि नै गरिए पनि भारत सरकारले यसका लागि अनुमति दिन बाँकी थियो। आइतबार भारत सरकारले पनि प्रतियोगिता यूएईमा आयोजना गर्न अनुमति दिएको छ।

आईपीएल सञ्चालन परिषद्को आइतबार अबेर सम्पन्न बैठकले प्रत्येक टोलीमा बढीमा २४ जना खेलाडी समावेश गर्न पाइने नियम बनाएको छ। कोरोना भाइरसको महामारीका कारण खेलाडी परिवर्तनसम्बन्धी नियममा पनि लचकता अपनाइएको छ।

प्रतियोगिताका खेलहरू दुबई, आबुधाबी र सारजहाँमा खेलाइनेछ। साँझको खेल नेपाली समयअनुसार ७ः४५ बजे सुरु हुनेछ। दिउँसोको खेल भने नेपाली समयअनुसार ३ः४५ बजे सुरु हुने बताइएको छ। प्रतियोगिताको पहिलो लेग खेलहरू बन्द (दर्शकविहीन) रंगशालामा खेलाइनेछ। प्रतियोगिताको १३औं संस्करणमा आठ टोली सहभागी छन्। चर्चित नेपाली लेगस्पिनर सन्दीप लामिछानेले देल्ही क्यापिटल्सबाट खेल्नेछन्।

प्रतियोगितामा कुल ५३ खेल हुनेछन्। यूएईमा आईपीएल खेलाउन लागिएको यो दोस्रोपटक हो। यसअघि सन् २०१४ मा पनि आईपीएल यूएईमा खेलाइएको थियो। त्यति बेला भारतमा आमनिर्वाचन भएकाले उक्त प्रतियोगिता यूएईमा सारिएको थियो।

मुम्बई इन्डियन्स प्रतियोगिताको साविक विजेता टोली हो। मुम्बई इन्डियन्सले हालसम्म चारपटक उपाधि जितेको छ। यसैगरी चेन्नई सुपर किङ्सले तीन र कोलकाता नाइट राइडर्सले दुईपटक उपाधि हात पारेका छन्। डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले एक÷एक पटक उपाधि चुमेका छन्। आईपीएलको पहिलो संस्करण सन् २००८ मा आयोजना भएको थियो। साभार

चर्चामा

सम्बन्धित समाचार