शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • अदालतबाट सफाइ पाएका तत्कालिन एसपीको पुनर्बहाली होला ?

अदालतबाट सफाइ पाएका तत्कालिन एसपीको पुनर्बहाली होला ?

  • शुक्रबार, साउन १६, २०७७
अदालतबाट सफाइ पाएका तत्कालिन एसपीको पुनर्बहाली होला ?

निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्टसहित यातना दिएको अभियोग लागेका ८ प्रहरीले कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाएका छन्।

उनीहरुले सफाइ पाएसंगै विभागीय कारबाहीमार्फत बर्खास्त भएका तत्कालीन प्रहरी उपरिक्षक (एसपी) डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक जगदिश भट्टको पुनर्बहाली के हुन्छ भन्नेबारे चासो बढेको छ।

निर्मला पन्तको हत्या प्रकरणमा गृह मन्त्रालयले एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्त गरेको थियो। भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी उनलाई बर्खास्त गरिएको थियो।

उनीहरुले दिएको पुनरावेदन मन्त्रिपरिषद् बैठकमा विचाराधीन छ। अदालतको फैसला पर्खिएर बसेको मन्त्रिपरिषद्लाई अब निर्णय गर्न दबाब परेको छ। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अदालतको पुर्ण पाठ नआई केही बोल्न नमिल्ने बताए।

विष्ट र भट्टसहित अन्य ६ प्रहरी अधिकारीले प्रमाण नष्ट र यातना दिएको अभियोगमा बिहीबार कन्चनपुर जिल्ला अदालतबाट सफाई पाएका हुन्।

२०७५ साउन ११ गते १३ वर्षीया बालिका निर्मलाको शव भीमदत्तनगरपालिकास्थित उखुबारीमा भेटिएको थियो। स्थानीय प्रहरीले प्रमाण संकलन गर्न लापरबाही गर्दा प्रमाण नष्ट भएको गृहको बुझाई थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानपछि स्थानीय दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरिएपनि डीएनए नमिलेपछि उनी छुटेका थिए। दिलिपले प्रहरी अधिकारीविरुद्ध हिरासतमा यातना दिएको दावीसहित मुद्धा दर्ता गरेका थिए।

डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरिक्षक एकिन्द्र खड्का, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदले पनि सफाई पाएका छन्। उनिहरु सबै निलम्बनमा थिए।

चर्चामा

सम्बन्धित समाचार