बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बजार
  • ७ करोडभन्दा बढीको कोदो आयात

७ करोडभन्दा बढीको कोदो आयात

  • बिहिबार, साउन १५, २०७७
७ करोडभन्दा बढीको कोदो आयात

कृषि प्रधान देश भनेर चिनिएको नेपालमा चामल मात्र होइन रैथाने बाली कोदो पनि आयात हुने गरेको छ।  भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा ७ करोडभन्दा बढीको कोदो तथा कोदोको बिउ आयात भएको छ। आव २०७५/७६ मा ८ करोडभन्दा बढीको कोदोको बिउ तथा कोदो आयात भएको थियो।

सरकारले रैथाने बाली कोदोलाई उपेक्षा गरेको राष्ट्रिय कृषक महासंघले बताएको छ। बिहीबार महासंघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिष्ट(अनाज)ले कोदो खेतीको प्रवर्धनका लागि गरिएको ‘कोदो बहस’ कार्यक्रममा महासंघले सरकारले कोदोलाई उपक्षा गरेको बताएको हो।

नेपालको चौथो प्रमुख बाली मानिएको कोदोबाली विगतमा विपन्न ग्रामीण समुदायको बाँच्ने आधार थियो तर पछिल्लो समय यो क्रमिकरुपमा विस्थापित हुँदै गएकोप्रति महासंघले चिन्ता व्यक्त गरेको छ। पौष्टिकता र औषधीय गुणले भरिपूर्ण कोदोखेतीलाई प्रोत्साहित गरी आयात प्रतिस्थापनमा जोड दिनुपर्ने महासंघका अध्यक्ष नवराज वस्नेतले बताए।

कृषि प्रधान मुलुकमा वार्षिक ८ करोड रुपैयाँभन्दा बढीको कोदा तथा कोदोको बिउ आयात हुने गरेकोले यसको विस्थापनका लागि सरकारले प्रयास गर्नुपर्ने उनको भनाइ छ। महासंघका पूर्व अध्यक्ष तथा संरक्षक उद्धव अधिकारीले कोदोको प्रवर्धनमा सरकारी उदासिनताका कारण कोदोखेतीमा लाग्ने किसान पनि निरुत्साहित भएको बताए। महासंघले कोदोखेतीको पवद्र्धनका लागि विभिन्न ९ बुँदे सुझाव प्रस्तुत गर्दै असार १५ लाई कोदो दिवसका रुपमा मनाउन सरकारसँग मागसमेत गरेको छ।

कोदो बाली साना, सिमान्त कृषकको जीविकाको आधार भएकोले सरकारी लगानी र प्राथमिकतासहित प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने, वातारण सन्तुलन, पोषणयुक्त र आइरनयुक्त खाद्यन्न भएकोले भौगोलिक अवस्थाअनुसार विकास गरिनुपर्ने, जमिनको संरक्षण, उपयोग र युवा रोजगारका हिसावले कोदोवालीलाई हेरिनुपर्ने, खेती प्रक्रियामा सुधार, आधुनिक प्रविधि प्रयोग गरी सहज उत्पादनमा जोड दिनुपर्ने महासंघको सुझाव छ ।

त्यस्तै, अध्ययन अनुसन्धान गरी सम्मानित बालीका रुपमा प्रचार प्रसार गरिनुपर्ने, कोदोको प्रसोधन र उद्यमशिलतासँग कृषि कृषि शिक्षामा जोड दिनुपर्ने, राष्टिय नीति तथा कार्यक्रममार्फत विविधतायुक्त वीउ तथा प्रविधि उपलव्ध गराइनुपर्ने, उत्पादनको मूल्य श्रीङखला र बजारीकरणमा जोड दिनुपर्ने र स्थानीय, प्रदेश र संघीय सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरी कोदो दिवस र कोदोखेती प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनुपर्ने पनि महासंघको सुझाव छ। कोदोमा प्रचुरमात्रामा फलाम पाइने हुनाले महिलाहरुमा देखिने रक्त अल्पताको समस्यालाई न्युनीकरण गर्नुका साथै क्याल्सियम हाड तथा दाँतको विकास र तन्दुरुस्तीमा महत्वपूर्ण मानिन्छ।

यसमा पाइने रेशाजन्य पदार्थले पेट सफा गर्ने भएकोले आन्द्राको क्यान्सरबाट बचाउँछ। कोदोमा प्रशस्त मात्रामा म्यागानिक, जिंक पोटोसियम पाइने विभिन्न अध्ययनले देखाएको छ।

चर्चामा

सम्बन्धित समाचार