शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • पहिरोको कहर : न घर, न घडेरी

पहिरोको कहर : न घर, न घडेरी

  • शनिबार, साउन १०, २०७७
पहिरोको कहर : न घर, न घडेरी

शुक्रबार दुई बजेतिर तीनखण्डेको जनजागृति प्रावि पुग्दा देवीकुमारी भट्ट घाँसको भारी बोकेर गोठतिर जाँदै थिइन् । अगाडिबाट नचिनेको मान्छेले फोटो खिचेको देखेपछि लाज र संकोच मान्दै उनी घाँस भुइँमा राखेर उभिइरहिन् । उनको पछिपछि आइरहेका दुई बालिका कपाल चलाउँदै, औँला टोक्दै हजुरआमाको छेल परे ।

‘गोरुलाई घाँस हाल्न जान लागेको । आउनुस् बस्नुस्’, भन्दै उनी स्कुलकै चौरतर्फ फर्किइन् । स्कुलको चौरमा पुग्दा दुईवटा भवनको बीचको मैदानमा दुईवटा त्रिपाल टाँगिएका थिए । त्यसको ओतमा थुपारिएको थियो उनकै ‘झिटीगुण्टा’ । विद्यालयको कोठाभित्रको एउटा कुनामा करिब चार डोको मकै, अर्को कुनामा रेडक्रसको लोगो अंकित बाल्टिन, चुला लगायतका भाँडाकुँडा, ओड्नेओछ्याउने लगायतका लुगाकपडा थिए । अर्को कुनामा बेञ्च जोडेर बनाइएको ओछ्यान थियो ।

तीन जना नातिनीलाई लिएर देवीकुमारीको यहाँ सुतेको चार दिन भयो । ‘सुतेको भन्नुमात्र हो । आज पनि राति दुई बजेसम्म आँखै लागेन’, उनले भनिन्, ‘रातभर उठ्दै झ्यालबाट बाहिर हेर्दै गरिरहेको छु । हेर्दाहेर्दै आँखै अगाडि पारि पाखामा यत्ति ठूलो पहिरो गयो । अब यी लालाबालालाई कहाँ लगेर राख्ने भनेर रातभर मन उँडेको चरा भयो ।’ रात त जेनतेन बित्यो, अब कहाँ गएर बस्ने भनेर दिनमा पनि चिन्ता मात्रै लाग्ने उनको भनाइ छ ।

७० वर्ष बिताएको तीनखण्डेको आफ्नो घर भएको तर्फ फर्केर जान उनलाई पटक्कै मन छैन । सोमबारको पहिरोले धन्नै तीन नातिनी र उनको एउटै चिहान बनाएको । ‘धन्न पल्ला घरका केटाहरु आएर छानाको जस्तामा डड्याङडुडुङ गरेर ब्युँझाए र मात्रै बाँचेको । नत्र हामी तीन जनाको एउटै चिहान भइसक्थ्यो’, उनी भन्छिन्, ‘जति बसियो बसियो, पुग्यो । अब त्यहाँ बस्न त के, हेर्न जान पनि मन  छैन ।’ उनी ब्युँझिएर भाग्दा छिमेकीको दुईवटा घर पहिरोसँगै बगेर ५० मिटर तल पुगिसकेका थिए । निद्राबाट ब्युँझिने बित्तिकै देखेको त्यो दृश्यले उनको होसहवास उड्यो । 

अब घर बनाएर बस्न उनको जग्गा छैन । ‘घर र भएभरको पाखो बारी पहिरोले बगाइहाल्यो । जम्मा एक बिहानको मेलो खेत छ । त्यो पनि खोलाको किनारमा । घर बनाउन मिल्दैन’, स्थानीय युवा अर्जुन भट्ट भन्छन्, ‘उहाँका श्रीमान उहिल्यै बिते । छोरा सहरमा मजदुरी गर्न गएको छ । बुहारी तीनवटा छोरीलाई छोडेर अर्कै लोग्ने समाएर गइन् । यो परिवारको बिचल्ली छ ।’ घर बगाएपछि केही पनि झिक्न नभ्याएको उनको परिवार वडा कार्यालयले दिएको एक बोरा चामलको भरमा बाँचिरहेको छ ।

गत सोमबारको पहिरोले तीनखण्डेका तीन घर बगाएर लगेको छ । आसपासमा रहेका अरु गोकर्ण भट्टको घर पनि ५० मिटर तल पु¥याएको छ । त्यस्तै लालबहादुर भट्ट र मायादेवी भट्टको घर पनि पहिराले लगेको छ । सोही पहिराको चिराले स्थानीय सुमित्रा पाण्डे, जानकी पाण्डे, किसान पाण्डे, नीलबहादुर पाण्डे, मानबहादुर पाण्डे, नवराज पाण्डे र सन्तोष पाण्डेको घर पनि जोखिम बनाएको स्थानीय नवराज पाण्डेले जानकारी दिए ।

उनीहरु सबै घर छोडेर कोही स्कुलको भवनमा कोही हर्राबोटेमा आफन्तको शरणमा बस्न गएका अर्का स्थानीय सुरेश भट्टले बताए । ‘यहाँ पहिरोले बगेको तीन घर भट्ट परिवारको अन्यत्र घर बनाउने जग्गा पनि छैन, यहाँ बस्न मिल्ने त कुरै भएन’, उनले भने, ‘सरकारले तत्कालका लागि खाने र बस्ने व्यवस्था मिलाइदिनुप¥यो । दीर्घकालका लागि घरघरेडीको व्यवस्था गरिदिनुपर्छ भन्ने हामी सबैका माग छ ।’

बिहान पौने पाँच बजे गाउँ बगाएको त्यस दिनको घटनाले हातमा काम पनि नआउने, भोक, निद्रा नलाग्ने स्थानीयबासीको दुखेसो छ । ‘आइतबारको पहिरोले हाम्रो घर नजिकै ठूलो पहिरो गयो । त्यसपछि हामी सुत्नै सकेका छैनौं’, स्थानीय सुरेश भट्ट भन्छन्, ‘नभन्दै सोमबार त बिहानै गाउँ लगिहाल्यो । अहिले पनि जताततै चिरैचिरा छ । यहाँ बस्न मिल्ने ठाउँ नै छैन ।’ भूगर्भविद आएर भौगर्भिक अध्ययन गर्नुपर्ने पनि उनको माग छ।

रेडक्रसले लत्ताकपडा र भाँडाकुँडा, वडा कार्यालयले एक बोरा चामल, केही नुनतेल र गाउँपालिका कार्यालयले १० हजार रुपैयाँका दरले दिएको राहतको भरमा बाँचिरहेको अर्का स्थानीय अर्जुन भट्टले बताए । ‘यत्तिले हामीलाई के पुग्छ र ? खानेकुरा हामी काम गरेर जोहो गर्छौँ, बस्ने बासको व्यवस्था सरकारले गरिदिनुपर्यो‍ ।’

घर पहिरोले बगाएर ५० मिटर तल पु¥याएपछि पुरिएका सामान झिक्दै स्थानीय। 

घर पहिरोले लगेपछि नजिकैको जनजागृति प्राविमा आश्रय लिएकी देवीकुमारी भट्ट र नातिनी ।तस्बिर : शिव उप्रेती

अन्नपुर्ण पाेष्टबाट शाभार 

चर्चामा

सम्बन्धित समाचार