बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • क्रिकेट
  • राष्ट्रिय क्रिकेटर पाउने तलबको टुंगो लगाउँदै क्यान

राष्ट्रिय क्रिकेटर पाउने तलबको टुंगो लगाउँदै क्यान

  • शनिबार, साउन १०, २०७७
राष्ट्रिय क्रिकेटर पाउने तलबको टुंगो लगाउँदै क्यान

नेपाल क्रिकेट संघ (क्यान) ले महिला तथा पुरुष क्रिकेटरसँग तलब र अन्य सुविधाको विषयमा सम्झौता गर्ने प्रस्ताव अन्तिम चरणमा पुर्‍याएको छ।

क्रिकेटरसँग सम्झौताको मोडालिटी तयार पार्न गठन गरेको समितिले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको हो।

समितिको संयोजकमा क्यानका कोषाध्यक्ष रोहन सिंह छन् भने सदस्यमा अमितविर पाण्डे र दुर्गा पाठक छन्।

‘हामीले क्रिकेटरसँग गरिने सम्झौताको मोडालिटी अन्तिम चरणमा पुर्‍याएका छौं,’ सिंहले सेतोपाटीसँग भने,’२-३ दिनमा टुंगो लाग्छ होला।’

उनले क्रिकेटरसँग हुने सम्झौताको विषयमा खुलाउन चाहेनन्। ‘हामीले सबै पक्षसँग सल्लाह लिएर अन्तिम रुप दिएपछि मात्र सम्झौता सार्वजनिक गर्नेछौं,’ सिंहले भने।

क्रिकेटरको वर्गीकरण गर्ने विषयमा समितिमा अन्योल देखिएको छ। तर यस विषयमा सिंहले केहि प्रतिक्रिया दिन चाहेनन्।

समितिले सम्झौताको खाका तयार पारेर क्यानलाई बुझाउनेछ। जसलाई क्यानको बोर्ड बैठकले पारित गरेपछि लागू गरिनेछ।

क्यानले नयाँ आर्थिक वर्षपछि पुरुष क्रिकेटर र महिला क्रिकेटरसँग सम्झौता गर्ने बताएको थियो। नयाँ सम्झौतामा खेलाडीले यसअघि पाउँदै आएको भन्दा बढी तलब हुने बताइएको छ।

यसअघि पुरुष क्रिकेटरका लागि मासिक रुपमा तलब दिने गरिएकोमा अब महिला क्रिकेटरका लागि भने पहिलो पटक सम्झौता गरेर रकम दिइनेछ।

पुरुष क्रिकेटरका लागि तीन श्रेणीमा वर्गिकरण गरेर सम्झौता गरिएको थियो। जसमा ए श्रेणीको मासिक ३५ हजार, बी श्रेणीको मासिक २५ हजार र सी श्रेणीको मासिक १५ हजार रुपैयाँ तलब थियो।

डेढ वर्षअघिको वर्गीकरण अनुसार ए श्रेणीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी थिए।

बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन रहेका थिए। सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनील धमला, सुशन भारी, प्रदीप ऐरी र विनोद भण्डारी थिए।

अब हुने सम्झौतामा खेलाडीहरूको नाम थपघट हुनेछ।

पुरानो सम्झौता भएका क्रिकेटरले सन् २०१९ देखिको तलब पाएका छैनन्। क्यान निलम्बनको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाली क्रिकेटरलाई तलब उपलब्ध गराएको थियो। सो बेलाको रकममा १० हजार बढाएर दिनका लागि क्यानले यसअघि नै आग्रह गरिसकेको छ।

सन् २०२० देखि क्यानले सम्झौता अनुसार तलब दिनेछ। साभार

चर्चामा

सम्बन्धित समाचार