शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविता-“साइनो बोकेर आउँछ”

कविता-“साइनो बोकेर आउँछ”

  • मङ्लबार, साउन ६, २०७७
कविता-“साइनो बोकेर आउँछ”

अञ्जान नारीपुरुषको अनौठो भेटघाट
आँखा जुधाइ, सुस्त गतिमा समीप
मुस्कान, परिचयपछिको घुलमिल
अनि,
हरेक बाहाना मै एक अर्कामा आकर्षण
मायाप्रेम, बाचाकसम भगवान साक्षी राखी
भावनाको वेगमा हुत्तिएर बग्दै-बग्दै जादा
यौवनको समुन्द्रमा चुर्लुम्मै डुबेपछि
एकै रथका दुई पाङ्ग्रा जस्तै बनेर
दुई मुटु एक धड्कन, दुई ज्यान एक मन
त्यसपछि,
सयर गर्छन् जीन्दगीको दुर्गामी यात्रा
अनमोल मायाप्रेम फूलाउन, फलाउन
एक चिम्टी सिन्दुरले नारी दुलही बन्छे
जन्म घर छोडेर पराइ घरमा अन्मिन्छे
कसैकी छोरी बुहारी बन्छे श्रीमती बन्छे
त्यही एक चिम्टी सिन्दुरको मालीक
अब कुमार रहन्न, नारी कुमारी रहन्न
पुरुष गदगद हुन्छ नारी पाएको उपलक्ष्यमा
नारीपनि रोजेको र चाहेको पाउँदा उस्तै राजी
एकअर्काको कम्मरमा आँचल गाँसेर
एक माना माटोमाथि बनाएको जग्य
त्यसैमा बालेको आगोमा सात फन्का मारेर
सयौं जुनीसम्म नछुट्टीने गरि विधिबत
अनौठो तवरले बिहेको बन्धनमा बाधिन्छन्
क्रमशः,
मायाप्रेममा लिप्त त्यो युगल जोडीले
रतिभावमा रमाउदै यौवनको उत्सव मनाउदै
सुनसानमा मधुरस प्याला पिउदै संसार भुलेर
जब एकअर्कालाई परितोष मिल्छ र शिथिल
हो,
त्यही समय सुन्दर गर्भमा बिजको रोपाइ हुन्छ
बिज बढ्दै जान्छ नारीको अन्तर गर्भभित्र
केही महिनामा मायाप्रेमको उपहारको उपमा
नारीलाई आमा बनाउन प्रसव पीडा दिन्छ
र,
यस सुनौलो धर्तीमा जन्मिन्छ एक शिशु
आमाबाबाको छोरा बनेर या छोरी बनेर
बाजेबज्यैको नाति बनेर या नातीनी बनेर
दाइभाइको भान्जा बनेर या भान्जी बनेर
कसै-कसैको भाइ बनेर या दाइ बनेर
आदि-आदि नयाँ साइनो बोकेर आउँछ
सबैको प्यारो बन्छ, माया पाउँछ,
खुशी ल्याउँछ, धेरैको अंगालोमा जान्छ
धेरै मान्छेका चुम्मा कोमल गालामा पाउँछ,
यसैलाई समात्न माया गर्न तछाडमछाड
दाँत नउम्रीएका गिजा देखाउदै मुस्कुराउँछ
ऊ बढ्दै जान्छ……,
यसैगरी यो जीवन चक्र चलिरहन्छ
अचेल म निकै गहिरिएर सोच्ने गर्छु
जीन्दगी त केवल खेलौना पो रहेछ ।

चर्चामा

सम्बन्धित समाचार