शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ६
  • जाजरकोटको बारेकोटमा पहिरो : एकको मृत्यु, ११ बेपत्ता, दुई घर बगे

जाजरकोटको बारेकोटमा पहिरो : एकको मृत्यु, ११ बेपत्ता, दुई घर बगे

  • शुक्रबार, असार २६, २०७७
जाजरकोटको बारेकोटमा पहिरो : एकको मृत्यु, ११ बेपत्ता, दुई घर बगे

जाजरकोट — जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीटोलमा बिहीबार राती पहिरो गएको छ। पहिरोले दुई घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले दिएको जानकारी अनुसार बिहीबार राती अविरल वर्षा पछि गएको पहिरोले गोपाल सार्की र कलु सार्कीको घर बगाएको हो।

पहिरोमा पाहुना आएकासहित हराएका १२ मध्ये एकजनाको शव फेला परेको छ । शवको पहिचान हुन सकेको छैन । अन्य ११ जना पहिरोमै पुरिएको आशंका गरिएको छ । अहिलेसम्म प्रहरी घटनास्थल पुग्न सकेको छैन । पहिरोमा परी ५२ वर्षीय गोपाल सार्कीसहित उनकी श्रीमती ५० वर्यीया पुष्पा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की र ११ वर्षका छोरा अर्जुन सार्की बेपत्ता भएका छन् ।

उनको घर समेत पहिरोले पुरेको छ । त्यस्तै ३८ वर्षीया कलु सार्कीसहित उनकी छोरीहरु १४ वर्षीया तिर्खा र ११ वर्षीया मला तथा ६ वर्षीय छोरा सुभास वेपत्ता भएको प्रमुख प्रशासकीय अधिकृत सिंहले बताए । त्यस्तै कलु सार्की अर्थात दिदीको घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षीया डिल्ली सार्की, १४ वर्षीय गौरी सार्की, १६ वर्षीय कविता सार्की र १८ वर्षीय विरेन्द्र सार्की बेपत्ता भएको उनले बताए । उनले उद्धारमा निकै समस्या भएको सुनाए । अहिलेसम्म उद्धारका लागि कसैले आवश्यक पहल नगरेको बताए ।

जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले इलाका प्रहरी कार्यालय रामीडाँडा र अस्थायी प्रहरी चौकी लिम्साबाट प्रहरी टोली घटनास्थलतर्फ खटाएको बताए । तर सञ्चार सम्पर्क हुन नसक्दा घटनाबारे विस्तृत खबर आउन नससकेको उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार