शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपाभित्र टकराव : जुट्भन्दा फुटतिरै आकर्षण !

नेकपाभित्र टकराव : जुट्भन्दा फुटतिरै आकर्षण !

  • आइतवार, असार २१, २०७७
नेकपाभित्र टकराव : जुट्भन्दा फुटतिरै आकर्षण !

काठमाडौं — पार्टीको महत्त्वपूर्ण निकाय स्थायी कमिटी बैठक नै रोकेर निकास खोज्ने भनिएपनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु शक्ति संघर्षमै रुमल्लिदा पार्टी जुट भन्दा पनि फुटतिरै उन्मुख भएको छ ।

शुक्रबारको स्थायी समिति बैठकले शनिबार र आइतबार पार्टीमा बढेको विवाद मत्थर पार्न र सहमतिको बिन्दु खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच वार्ता र संवाद गर्न समय दिएको थियो ।

तर, यो समयमा नेताहरुबीच संवादमार्फत समस्याको बिन्दु पहिल्याउने भन्दा पनि दुरी बढाउनेतर्फका गतिविधि नै केन्द्रीत भए ।शुक्रबार बेलुका र शनिबार दिनभरका घटनाक्रम, भेटघाट र नेताहरुका अभिव्यक्ति सुन्दा पनि नेकपाभित्रको विवाद सितिमिति टुंगिने छनक देखिँदैन ।

स्पस्ट दुई ध्रुवमा विभाजित नेकपाका नेताहरु प्रधामन्त्री केपी शर्मा ओली समूह एकातिर र अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ तथा माधवकुमार नेपालहरु अर्कोतिर उभिएका छन् । यसैक्रममा उनीहरुले अन्य नेताहरुलाई समेत आआफ्नो कित्तामा आउन धम्कीपूर्ण शव्दावली नै प्रयोग गर्न थालेका छन् । यसको उदाहरण शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले बालुवाटारमा मन्त्रिहरुलाई दिएको निर्देशन नै पर्याप्त छ । ओलीकोे शीतलनिवास भेटवार्ता र त्यसपछि बालुवाटारमा मन्त्रीहरूसँगको परामर्शका क्रममा दिएको अभिव्यक्तिले स्थितिलाई थप जटिल बनाएको नेकपाका एक स्थायी समिति सदस्यको भनाइ छ ।

उनका अनुसार प्रधानमन्त्री ओलीले आफु अध्यक्ष र प्रधानमन्त्री कुनै पद नछाड्ने भन्दै मन्त्रीपरिषदका अन्य सस्यहरुलाई समेत कित्ता छुट्टयाउन समयसीमा नै दिएका छन् ।

ओलीको उक्त निर्देशनपछि मन्त्रिहरुले स्पस्ट नभनेपनि उनी स्वयं पार्टी विभाजनको पक्षमा छन् भन्ने प्रष्ट भएको छ । उता, ओलीको विपक्षमा उभिएका प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरु पनि शनिबार दिनभर आफू पक्षीय नेताहरुसँग छलफलमा जुटे ।

प्रचण्डसहित नेकपाका ३ शीर्ष नेता शीतलनिवासमा
प्रचण्ड निवास खुमलटारमा ६ सचिवालय सदस्यबीचको छलफलमा पार्टी फुटाउन दिन नहुने र त्यसका लागि आवश्यक पहल गर्ने निर्णय गरेको एक सचिवालय सदस्यले जानकारी दिए । त्यस क्रममा प्रधानमन्त्री ओली विधि र पद्धतिभन्दा बाहिर गएको निष्कर्ष निकाल्दै सोमबार बस्ने स्थायी समितिले स्पष्ट निर्णय गर्नुपर्ने ठहर समेत गरेको छ ।

उता शुक्रबार नै उपाध्यक्ष बामदेव गौतमलाई ओली समूहका नेताहरुले आफ्नो कित्तामा ल्याउने विभिन्न प्रयास समेत गरेका थिए । त्यसका लागि राष्टपति विद्या भण्डारीसँग भेटवार्तादेखि गौतम निवास भैंसेपाटी पुगेर महासचिव विष्णु पौडेललगायतका नेताहरुले उनलाई फकाउने प्रयास गरेपनि सो प्रयास सफल हुन सकेन । गौतमले ग्रिन सिग्नल नदिएपछि ओलीपक्षले बालुवाटारमा मन्त्रिहरुलाई बोलाएर धम्क्याएको हुनसक्ने ओलीविरोधी खेमाको बुझाइ छ ।

राष्ट्रपतिलाई कस्ले तान्यो विवादमा ?
प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा मन्त्री तथा राज्यमन्त्रीहरुलाई बोलाएर पार्टीको अवस्थाबारे ब्रिफिङ गरे ।त्यसक्रममा उनले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउनेदेखि राष्ट्रपतिलाई महाअभियोग लगाउनेसम्मका योजना बनाएकाले आफूले संसद अधिवेशन अन्त्य गर्नुपरेको दावी पेस गरे ।

साथै उनले आफ कुनै हालतमा राजीनामा नदिने र त्यसमा आफूलाई सहयोग गर्न मन लाग्नेले गर्न र नलाग्नेले अब मन्त्रीमा रहिरहन आवश्यक नभएको भन्दै अनौपचारिक रुपमा छोड्न भने । प्रधानमन्त्री स्वयले राष्ट्रपतिलाई जोडेर दिएको त्यस्तो अभिव्यक्ति पछि नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भएको भन्दै त्यसबारे स्वय राष्ट्रपतिले पनि विवेक पुर्‍याउनुपर्ने धारणा सार्वजनिक गर्न पुगे ।

आज होला सहमति ?
शनिबारको स्थायी समिति बैठक रोकेर दुवै पक्ष आ–आफ्नै रणनीति बनाउन केन्द्रीत भए । शनिबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । शनिबारको दुवैपक्षका गृहकार्यपछि आइतबार दुई नेताबीच संवाद गर्ने तयारी भइरहेको बुझिएको छ । आइतबार बिहान १० बजेपछि दुई नेताबीच हुने छलफलमा समेत सहमतिको संकेत नदेखिए दुवै पक्ष आआफ्नो बाटोमा लाग्नुको विकल्प नभएको एक नेताले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार