शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपामा प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुनै सक्दैनन : नेता थापा

नेकपामा प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुनै सक्दैनन : नेता थापा

  • बिहिबार, असार १८, २०७७
नेकपामा प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुनै सक्दैनन : नेता थापा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कर्णबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्ने भन्ने कुरा नै असान्दर्भिक भएको टिप्पणी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘यो राष्ट्रका निम्ति, पार्टीका निम्ति र नेपाली जनताका निम्ति असान्दर्भिक छ । अहिले हामीले अवलम्बन गर्दै आएको लोकतान्त्रिक गणतन्त्र, र त्यो लोकतान्त्रिक गणतन्त्रलाई व्यवस्थित् गर्ने हाम्रो संवैधानिक व्यवस्था छ ।

यो कुनैपनि चिजसँग अहिलेको राजीनामा सान्दर्भिक छैन् ।’थापाले आफूहरु विधिको शासनमा रहेको र संविधानको सर्वोच्चता मान्दै आएको सुनाए । २०१५ सालमा विपी कोइरालाको नेतृत्वमा दुई तिहाईको सरकार बनेको स्मरण गराउँदै उनले नेपाली जनताले अहिले केपी शर्मा ओलीको नेतृत्वलाई झण्डै दुई तिहाई बहुमत दिएको स्पष्ट पारे ।

उनले जुन दलले ऐतिहासिक बहुमत प्राप्त गर्छ त्यो दललाई अन्य दलभन्दापनि आफ्नै दलभित्रबाट सरकारलाई असहयोग हुने गरेको पनि ईतिहास सुनाए । नेता कर्णले वर्तमान सरकारको बारेमा जनतालाई अनुभुति नभएको पनि गुनासो पोखे । उनले वर्तमान सरकार समग्र क्षेत्रमा असफल भएको दाबी गरे । उनले भारत र चीन दुवैसँग नेपालले सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले सुरुदेखि नै सन्तुलित सम्बन्ध बिगारेको आरोप लगाए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहना पूरा गर्नेगरि अघि बढ्नुपर्नेमा उनको जोड छ । उनले अहिले एकले अर्कोलाई खुट्टा तान्ने काम गर्न नहुने जिकिर गरे । उनले नेकपाभित्रबाटै केपी ओलीको राजीनामा मागिनु असान्दर्भिक भएको स्पष्ट पारे । उनले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने नेकपा नेतृत्वलाई प्रश्न गरे,‘के राजीनामा भनेको यस्तै खेलवाड हो ? राजनीति भनेको प्रश्न खडा गर्नेमात्रै हो र ? कि समस्या समाधान गर्ने ढंगले सोच्ने हो ?’थापाले ओलीको राजीनामा मागिनुलाई शतप्रतिशत गलतको संज्ञा दिँदै त्यो नेपाली जनमतमाथिको अपमान भएको पनि टिप्पणी गरे ।

पूर्वमन्त्री समेत रहेका नेता थापाले वर्तमान प्रधानमन्त्री ओलीको विकल्प अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल हुनैनसक्ने जिकिर गरे । उनले भने,‘पहिलो पुस्ताले जे जति गरे, अब केपी ओलीपछि मैले जे जति नाम अहिले उच्चारण गरें। अब यी नामले नेतृत्व गर्न सक्दैनन् । नेकपामा अब ४० देखि ६० वर्षको दोस्रो पुस्ता छ, अब यही पुस्ताले देश चलाउने नेतृत्व र क्षमता राख्छ । म आज सार्वजनिक रुपमा दोहोर्याएर भन्दैछु अब नेकपामा हाम्रो पुस्ताले हस्तक्षेप गर्छ ।’

उनले वर्तमान प्रधानमन्त्री ओली पार्टीको कुनै मोर्चामा अल्पमतमा नरहेको दाबी गरे । यसैगरी कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले नेकपाको सरकारलाई आफूहरुले संविधान संशोधन गर्ने शर्तमा सुरुमा समर्थन गरेको तर सहमति पालना नभएकोले समर्थन फिर्ता ल्याएको स्पष्ट पारेका छन् ।

चर्चामा

सम्बन्धित समाचार