लकडाउनका कारण रोजगार बन्द भएपछि घर फर्केका सुदूरपश्चिम प्रदेशका नेपाली नागरिकहरुको कन्तबिजोग भएको छ। अनेकौं दुखःकष्ट गर्दै सिमा नाकामा समेत समस्या झेलेर आफ्नो परिवारसहित जिल्लासम्म पुगेका श्रमिकहरुले केहि राहत महसुस गरेका छन्। भारतबाट घर फर्केका मध्ये अधिकांश दलित समुदायका छन्।
दलित वा गैर दलित जो भएपनि परदेशबाट परिवारसहित घर आउँदा निकै समस्या भएको नवदुर्गा गाउँपालिका –५ चामाका ५४ वर्षीय झिम्वाँ लुहारले बताए। भारतको गुजरात राज्यको राजकोटबाट आएका लुहार भन्छन ‘धेरै दुख भयो हजुर यो कोरोनाका कारण। उता पनि लकडाउन यता पनि लकडाउन, सँगै केटाकेटी छन् परिवार छ।
सामान पनि सम्हाल्न साह्रै समस्या भएर यहाँसम्म पुगेका हौ। यहाँ त ठिकठाक रहेछ, घरै पुगेको जस्तो भयो।’ ‘वडाध्यक्ष धनबहादुर दाईले हाम्रा लागि धेरै व्यवस्था गरेका रहेछन्। यहाँ पुगेपछि कसलाई के कस्तो छ भनेर सोधपुछ, चियानास्ता खानपिन, गाडी लगायतको सबै व्यवस्था मिलाएर घर पठाउँदैछन्’ उनले थपे।
वडा नम्बर ५ कै हरिना बिकले पनि आफूले बाटोमा भोग्दै आएको सबै दुखकष्ट डडेल्धुरा पुगेर बिर्सेको बताइन। ‘सास फेरियो, उकातिर बाटोको दुःख, गर्मी, भोकप्यास अर्कोतिर कोरोनाको डर। अब त हामी घर पुगिसक्यौ भन्दापनि हुन्छ’ क्वारेन्टाइनमा बस्दा खुसी रहेको बताउँदै उनले भनिन ‘भोट हालेको अहिले काम लाग्यो, अब सकभर भारत नजार परोस्।’ यस्तै काखमा १८ महिने बालकसहित डडेल्धुरा पुगेकी बैतडीको सिगास गाउँपालिकाकी पद्मा चुनारा भन्छिन ‘हामी भारतको गुजरात प्रदेशबाट आएका हौ। चार दिनपछि घर पुगियो। खुसी लागेको छ। अब सरकार जे भन्छ त्यही मान्छौं।’
कोरोनाका कारण विश्वभरी लकडाउन भएका बेला भारतमा पनि रोजगारको सम्भावना प्रभावित भएपछि केहिदिन बाध्य भएर बसेका नेपालीहरु अनायस घर पुग्न थालेका छन्। जसमध्ये ९५ प्रतिशत दलित समुदायका रहेका छन्। नेपाली काँग्रेसका नेता तथा अगुवा दलित अधिकारकर्मी भरत नेपाली भन्छन, ‘उनीहरु रहरले गएका हुन वा रहरले घर आएका हुन राज्यले बुझ्नु जरुरी छ।’
अहिले भारतबाट आएका नागरिकहरुले मापदण्ड अनुसार क्वारेन्टिनमा बस्नुपर्ने भएपछि उनीहरुलाई डडेल्धुरा सदरमुकामबाट सम्बन्धित स्थानीय तहमा पठाउने कार्य भइरहेको छ। आफ्ना स्थानीय तहबासीहरुलाई क्वारेन्टाइनमा राख्ने र आवश्यक चेकजाँच गर्न सक्रिय भएका जनप्रतिनिधिहरुलाई धौधौं परिरहेको नवदुर्गा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष धनबहादुर साउँदले बताए।
‘व्यवस्थापन गर्न गाह्रो छ, गाउँमा खानेपानी पर्याप्त छैन। विद्यालयहरुमा शौचालयको अवस्था त्यस्तै, हामी हाम्रो बुद्धि विवेकले भ्याएसम्म विभिन्न तबरबाट सकेजति गरिरहेका छौं’ उनले भने, ‘अब हाम्रा जिल्लाका नेताहरुले पनि सोच्नु पर्यो, भारतबाट आएका आफ्ना मतदाताहरुलाई कसरी सुरक्षित गर्ने, कसरी राहत दिने, उनीहरुको भविष्य आयमूलक कसरी बनाउने? राज्यले जनताप्रति निभाउनुपर्ने दायित्व बोध कसरी हुन्छ जान्नु परेन? केन्द्रमा बसेर मात्र हुँदैन। जनताको वास्तविक अवस्था कोरोनाले गर्दा अहिले उजागर भएको छ।’
भारतबाट आउनेको संख्या दिनप्रतिदिन अपेक्षा भन्दा बढिरहेको तथ्याङ्कले देखाउँछ। ठूलो संख्यामा भित्रिएका सुदूरपश्चिमका दलित वा गैरदलित यीमध्ये कतिपय फेरी रोजगारका लागि भारत जान बाध्य हुनेछन्। तर कतिपय जान नचाहेको पनि देखिन्छन्।
जान नचाहने नागरिक तथा युवाहरुलाई देशभित्रै स्वरोजगारको सिर्जनागरी पलायन नहुने सुनिश्चितता भए उनीहरुले ज्यान पलायन गर्नुपर्ने छैन्। दिनेश खवर