बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सामाजिक सञ्जाल
  • यसरी हुन्छ दम्पतीबीच भावनात्मक अत्याचार

यसरी हुन्छ दम्पतीबीच भावनात्मक अत्याचार

  • सोमवार, जेष्ठ १९, २०७७
यसरी हुन्छ दम्पतीबीच भावनात्मक अत्याचार

बेलाबखत श्रीमान–श्रीमतीबीच मनमुटाव हुनु, ठाकठुक पर्नु सामान्य हो । पारिवारिक जीवन चलाउने क्रममा कतिपय कुरामा उनीहरुको मत मिल्दैन, मन मिल्दैन । त्यही कारण झगडा हुन्छ । वास्तवमा दम्पतीबीत हुने यस्ता झगडाले उनीहरुलाई थप परिपक्क र व्यवहारिक पनि बनाउँदै लान्छ ।

यद्यपि यो स्थिति सधै कायम रहे वा बारम्बार यस्तै अवस्था दोहोरिएमा त्यो सामान्य मान्न सकिदैन । दम्पतीबीच हुने मनमुटाव एवं झगडा उनीहरुमा मात्र सीमित हुँदैन । त्यसले सबैभन्दा बढी उनीहरुका बालबच्चालाई पिरोल्छ, त्यसपछि आमाबुवालाई । परिवारका सदस्य, आफन्त, इष्टमित्रलाई समेत असर गर्छ ।

घर–व्यवहार चलाउने क्रममा सानोतिनो विवाद हुन्छ । तर, कतिपय दम्पतीको प्रवृत्ति नै झगडालु हुन्छ । उनीहरु स–सानो निहँु निकालेर झगडा गर्न खोज्छन् । कुनैपनि कुरामा सम्झौता गर्दैनन्, संयम अपनाउँदैनन् । मुखमा जे आयो, त्यही बोल्छन् । आपसमा झगडा हुन्छ । आफ्नो झगडाले गर्दा परिवारमा कति अशान्ति छाएको छ भन्ने समेत हेक्का राख्दैनन् ।

त्यसबाहेक पनि कतिपय स–साना कुरा हुन्छन्, जसले दम्पतीबीच आशंका वा बेमेलको स्थिति बनाइरहन्छ । जस्तो कि, एकले अर्काको कुरा सुन्दै नसुन्ने । कुनैपनि कुराको निर्णय गर्दा एकले अर्काको बेवास्ता गर्ने । आफुखुसी हिँडडुल गर्ने । आफ्नो कुनैपनि कुरा सुनाउँदै नसुनाउने ।

हुन त कतिपयको स्वभाव के हुन्छ भने खुलेर नबोल्ने । उनीहरु आफ्ना श्रीमान वा श्रीमतीसँग मात्र होइन, अरु कसैसँग पनि खुलेर कुरा गर्दैनन् । एकलौटी निर्णय लिने गर्छन् । तर, जानीबुझी आफ्ना श्रीमती वा श्रीमानसँग खुल्न नचाहनु, केही कुरा लुकाउनु, कुनैपनि कुरा साझेदार नगर्नु भनेको एक हिसाबाले भावनात्मक अत्याचार हो ।

श्रीमान वा श्रीमती दुबैजना एकै प्रवृत्तिका हुँदैनन् । उनीहरुमध्ये एक जनाले पारिवारिक मर्यादा बुझेका हुन्छन् । दाम्पत्य कलहले पार्न सक्ने असरबारे सचेत हुन्छन् । सामाजिक प्रतिष्ठा कायम राख्ने सोंच हुन्छ । त्यसैले उनीहरु पार्टनरको खराब बानीलाई पनि ढाकछोप गरेर बस्छन् । आफैभित्र लुकाएर बस्छन् । अरुको सामुन्ने व्यक्त गर्दैनन् । वा आफ्नै पार्टनरसँग पनि खुलेर बिरोध गर्दैनन् । सहन्छन् । चुपचाप बस्छन् । तर, अर्का पार्टनरले यसलाई नै कमजोरी ठान्छन् । यही कमजोरीमा टेकेर अरु अत्याचार गर्न थाल्छन् ।

आफ्ना जीवनसाथीसँग कुनैपनि कुरा साझेदार नगर्नु वा उनको हरेक कुरामा असहमत हुनु पनि भावनात्मक अत्याचार मानिन्छ । अत्याचार भन्नसाथ कुटपिट वा शारीरिक रुपमा कुनै हिसाबले यातना दिनुलाई मानिन्छ । तर, भावनात्मक अत्याचार शारीरिक यातनाभन्दा बढी पीडादायी हुन्छ ।

त्यसैगरी कतिपय श्रीमान वा श्रीमतीको बानी हुन्छ, पार्टनरलाई होच्याउने । कुनैपनि कुरामा आफु मात्र जान्ने छु भन्ने र पार्टनरको हरेक कुरामा टिप्पणी गर्ने प्रवृत्ति हुन्छ । कोहीपनि मान्छे आफैमा पूर्ण हुँदैनन । हरेकको आफ्नै गुण हुन्छ र दोष पनि । पार्टनरलाई आफुजस्तै देख्न खोज्नु वा उनमा पूर्णता खोज्नु पनि एक किसिमको अत्याचार नै हो ।

दाम्पत्य जीवनमा भौतिक सुख–सुविधा मात्र पर्याप्त छैन । अक्सर श्रीमान कमाई गरेर ल्याएको छु, खाना दिएको छु, लगाउन दिएको छु, किनमेल, घुमफिर, मनोरञ्जन सबै कुरा पुरा गरिदिएको छु् भनेर सोच्छन् । यसैगरी अक्सर श्रीमती भान्साको काम सम्हालेकी छु, बालबच्चा स्यहारसुसार गरेकी छु, लुगाफाटो धुने, घर सफा गर्ने सबै काम भ्याएकी छु भनेर सोच्छन् । दाम्पत्य जीवनमा यस किसिमको व्यवहारिक तालमेल चाहिन्छ । तर, यो आफैमा पर्याप्त छैन ।

दाम्पत्य सम्बन्धलाई अरु प्रगाढ बनाउनका लागि एकअर्काबीच भावनात्मक साथ र सहयोग पनि आवश्यक हुन्छ । श्रीमान र श्रीमतीले एकअर्कासँग खुलेर कुराकानी गर्नु आवश्यक हुन्छ । घर–व्यवहारको कुरामा मात्र होइन, भावनात्मक कुरा पनि ।

धेरैजसो अवस्थामा श्रीमान वा श्रीमतीले एकअर्काको रुची, चाहना, इच्छा, आकंक्षाबारे त्यती खुलेर वहस गर्दैनन् । व्यक्त नगरेपनि आफ्नो कुरालाई पार्टनरले बुझेका छन् वा बुझ्नुपर्छ भन्ने धारणा राख्छन् । आफ्ना स–सना रुचीको कुरा मात्र होइन, घर–व्यवहारको कुरामा पनि उनीहरु यस्तै सोचाई राख्छन् । सामान्य लागेपनि यही कुराले दम्पतीबीच मनमुटाव ल्याउँछ ।

त्यसैले दम्पतीबीच यस्ता कुरामा आपसी संवाद हुन जरुरी छ । उनीहरुले आफ्नो व्यक्तिगत रुची, धारणादेखि पारिवारिक योजनासम्मका कुराहरु एकअर्कासँग साट्नु आवश्यक छ । यसरी भावनात्मक रुपमा एकढिक्का भएपछि मात्र व्यवहरिक तालमेल मिलाउन सहज हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार