शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • सात दिनमा सुदूरपश्चिमका नाकाबाट २० हजार नेपाली भित्रिए

सात दिनमा सुदूरपश्चिमका नाकाबाट २० हजार नेपाली भित्रिए

  • मङ्लबार, जेष्ठ १३, २०७७
सात दिनमा सुदूरपश्चिमका नाकाबाट २० हजार नेपाली भित्रिए

सात दिनयता सुदूरपश्चिमका विभिन्न नाका हुँदै झण्डै बीस हजार नेपाली फिर्ता भएका छन्। कामका लागि भारत गएका नेपालीहरू सुदूरपश्चिमका चार जिल्लाका विभिन्न नाका हुँदै नेपाल फर्किएको जिल्ला अधिकारीहरूले बताएका छन्।

कैलालीको गौरीफन्टा नाका हुँदै सात दिनमा १३ हजार बढी नागरिक नेपाल भित्रिएको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

जेठ २ गते ३ सय ८३, ३ गते चार सय ३, ७ गते आठ सय ३४, ८ गते दुई हजार चार सय ९८, १० गते एक हजार नौ सय ५९ र ११ गते तीन हजार ९ सय ६४ जना नेपाल आए।

‘आज पनि दुई हजार ६ सय बढीलाई नेपाल ल्याइयो,’ जोशीले भने, ‘सात दिनमा यहाँबाट १३ हजार भन्दा बढी मानिसहरू भित्रिएका छन्।’
यसरी कैलालीको गौरीफन्टा नाकाबाट मात्रै जेठ महिनाभित्र १२ हजार ६ सय बढी नेपाली स्वदेश आए।

यस्तै कञ्चनपुरको दोधारा र ब्रहमदेव नाकाबाट करिब ५ हजार जना आएको कन्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए। आज पनि २ हजारलाई ल्याइने उनले जानकारी दिए।

‘सीमा नाकामा अझै मानिसहरू आउने क्रम जारी छ। भित्रिनेको संख्या बढ्ने छ,’ उनले भने। उता बैतडीको झुलाघाट नाकाबाट पछिल्ला तीन दिनमा तीन सय ७८ जना नेपाली स्वदेश आएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

यस्तै दार्चुलाको धारचुला नाका हुँदै जेठ ८ गते तीन सय १९ जनालाई स्वदेश ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र कार्कीले सिमामा कसैको पनि कोरोना परिक्षण नगरिएको जानकारी दिए।

‘उनले भने सीमा नाकामा आरडिटी वा पिसिआर कुनै पनि परिक्षण गर्ने मापदण्ड छैन,’ उनले भने, ‘भित्रिएका सबैलाई स्थानीय तहमा १४ दिन क्वारेन्टिन बस्नेगरी पठाइन्छ।

उनका अनुसार, क्वारेन्टिन अवधि पुरा भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण हुने र परीक्षणमा नेगेटिभ आए मात्र घर जान दिइने छ।
सीमा नाकामा यात्रुको सामान्य परीक्षण मात्र गर्ने गरिएको छ। त्यसबाहेक ज्वरो आएको वा कोरोनाको जस्तो लक्षण छ, छैन भन्ने बारे सोधपुछ मात्रै गर्ने गरिएको छ।

सुदूरपश्चिमका नौ वटै जिल्लामा पाँच सय १४ स्थानमा गरी १४ हजार ४४ बेड क्वारेन्टिन छन्। जसमा आजसम्म आठ हजार ५४ जना बसेको रेकर्ड प्रदेश सरकारसँग छ। प्रदेश सरकारले प्रदेशभरी चौबीस हजार क्वारेन्टिन थप्नुपर्ने भन्दै स्थानीय तहहरूलाई निर्देशन दिएको कार्कीले बताए।

चर्चामा

सम्बन्धित समाचार