शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • सेनाले खरिद गरेको स्वास्थ्य उपकरण काठमाडौं आउन थाल्यो

सेनाले खरिद गरेको स्वास्थ्य उपकरण काठमाडौं आउन थाल्यो

मंगलबार जहाजमार्फत आयो १८ दशमलब ७ टन सामान

  • बुधबार, जेष्ठ ७, २०७७
सेनाले खरिद गरेको स्वास्थ्य उपकरण काठमाडौं आउन थाल्यो

नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य उपकरणहरु धमाधम नेपाल आउन थालेका छन् । चीनको सरकारी स्वामित्वको चाइना  नोफर्मा इन्टरनेशनल कर्पोरेशन कम्पनीसँग नेपाली सेनाले गरेको खरिद सम्झौता अनुसारका सामानहरु नेपाल आउन थालेको हो ।

यसअघि जेठ ३ गते तातोपानी नाका हुँदै १० वटा कन्टेनरबाट २ सय ६५ क्युविक मिटर सामान नेपाल आइसकेको थियो । मंगलबार मात्रै सेनाले नेपाल वायुसेवा निगमको जहाजमार्फत १८ दशमलब ७ टन सामान नेपाल ल्याएको छ भने तातोपानी नाकाबाट ५ वटा कन्टेनरमार्फत १ सय ७६ क्युविक मिटर सामान नेपाल ल्याइपुर्‍याएको छ ।

नेपाल सरकारले ओम्नी ग्रुपलाई दिएको ठेक्का सम्झौता रद्ध गर्दै जिटुजी विधिबाट स्वास्थ्य उपकरण खरिद गर्नका लागि नेपाली सेनालाई जिम्मा दिएको थियो । चैत १६ गतेको मन्त्रीपरिषद् वैठकबाट पाएको जिम्मेवारी अनुसार नेपाली सेनाले चीनको सरकारी स्वामित्वको चाइना सिनोफर्मा इन्टरनेशनल कम्पनीसँग १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर बराबरको स्वास्थ्य उपकरण खरिद गर्ने सम्झौता गरेको थियो । करिब २ अर्ब २३ करोड मूल्य बराबरको उक्त सामान ३ सय ४२ टन हुने सेनाले बताएको छ ।

सेनाले ल्याउने सामानमध्ये ४७ दशमलब ५ टन सामान विमानमार्फत् ल्याउने छ भने बाँकी सामान स्थल मार्गबाट ल्याउने बताएको छ । सामान ल्याउने जिम्मा भने फ्ल्यास फ्रेट नामक कार्गो कम्पनीलाई दिइएको छ ।
सेनाले मंगलबार विमानमार्फत् ल्याएको सामान यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा रहेको सेनाले बताएको छ । यसअघि स्थलमार्गबाट आएको सामान भने नेपाली सेनाको गौचर ब्यारेकमा रहेको वेरहाउसमा राखिएको छ । जेठ ७ गते बुधबार ७ वटा कन्टेनर र जेठ ८ गते बिहीबार ८ वटा कन्टेनर काठमाडौं आइपुग्ने सेनाले बताएको छ ।

सेनाले खरिद गरेको यी सामानहरु अब क्रमश नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्दै जाने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले रातोपाटीलाई बताए । सेनाले स्वास्थ्य तथा औषधीजन्य उपकरणहरु जिटुजी प्रक्रियाबाट खरिद गरी नेपाल सरकारलाई बुझाउने जिम्मा लिएको कारण ती सामानहरु अब बिस्तारै सरकारलाई बुझाउने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार