सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रवास
  • लिपुलेकमा भारतले १२ वर्षदेखि बनाइरहेको थियो सडक

लिपुलेकमा भारतले १२ वर्षदेखि बनाइरहेको थियो सडक

  • शनिबार, बैशाख २७, २०७७
लिपुलेकमा भारतले १२ वर्षदेखि बनाइरहेको थियो सडक

भारत सरकारले शुक्रबार उद्‌घाटन गरेको सडक सन् २००८ देखि निमार्ण थालेको भारतीय अधिकारीलाई उदृत गर्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । उनले भने, “मैले भारतीय ‘काउन्टरपार्ट’सँग यो विषयमा बुझ्दा भारतले सन् २००८ देखि नै ऐतिहासिक महत्वको मार्ग भन्दै भारतको राजधानी दिल्ली-मुरादावाद-पिलिभित-टनकपुर-पिथौरागढ-गर्ब्याङ- गुन्जी-कालापानी क्याम्प-नाबी- लिपुलेकसम्मको सडकमार्ग निर्माण सुरु गरेको रहेछ ।”

भारतीय सञ्‍चारमाध्यम इकोनमिक टाइम्सका अनुसार यो सडकमार्ग निर्माणका लागि सन् २००५ मा भारतीय मन्त्रिपरिषद्‌ले ८० करोड ७६ लाख भारतीय रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको थियो । सन् २०१८ मा उक्त सडक निर्माणको रकम परिमार्जनसहित चार अर्ब ३९ करोड ४० लाख स्वीकृत गरिएको इकोनमिक टाइम्समा उल्लेख छ ।

बोर्डर रोड अर्गनाइजेसनले पिथौरागढको घाटियाबगरदेखि १७ सय फिटको उचाईमा रहेको लिपुलेकसम्मको ८० किलोमिटरको ट्र्याक खोल्ने काम १७ अप्रिल, २०२० मा निर्माण सम्पन्‍न गरेको जनाइएको छ । उक्त ८० किलोमिटर सडक निर्माणका लागि इन्डो-चाइना बोर्डर रोड (आईसीबीआर) को लगानी र चाइन स्टडी ग्रुप (सीएसजी) ले अध्ययन गरेको इकोनमिक टाइम्सले जनाएको  छ।

भारतले शुक्रबार उत्तराखण्डको पिथौरागढदेखि नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडकमार्गको उद्‌घाटन गरेको छ ।  ३ नोभेम्बर २०१९ मा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको ६ महिनापछि भारतले लिपुलेक हुँदै मानसरोवर जाने लिंकरोडको उद्‌घाटन गरेको हो । सन् १८१६ को सुगौली सन्धिअनुसार लिपुलेक नेपाली भूमि हो ।

१५ मे, २०१५ मा दुई विशाल छिमेकी मिलेर नेपाललाई पत्तै नदिई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेइजिङ भ्रमणका क्रममा नेपाली भूमि लिपुलेकलाई उपयोग गर्दै सीमा व्यापार गर्ने सहमति गरेका थिए । त्यसयता नेपाल झस्किएको थियो । सन् २०१९ मा उक्त क्षेत्रसहित समेटेर भारतीय नक्सा सार्वजनिक गरेसँगै भारतले वैधानिक रुपमै नेपालको अतिक्रमण गरिएका भूमि आफ्नो बनाएको हो ।

त्यसयतादेखि नै आफ्नो भूभागको सुरक्षा गर्ने विषयमा ठोस पहल नगर्दा भारतले एक पक्षीय रुपमा सडक निर्माण गरी सञ्‍चालनमा ल्याएको छ । यस विषयमा शुक्रबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सडक निर्माण र उद्‌घाटनका विषयमा अहिले अध्ययन नगरिएको र पर्याप्त अध्ययनपछि जानकारी दिने बाह्रखरीलाई बताएका थिए । तर, शनिबार भने परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाली भूमि हुँदै भारतले लिपुलेकसम्म चीन जोड्ने सीमासडक एकतर्फी निर्माण गरेको जानकारी अत्यन्तै दुःखका साथ प्राप्त भएको र यो दुई देशबीचको समझदारीको विपरित रहेको प्रतिक्रिया दिएको छ ।

परराष्ट्र मन्त्रालयले एकतर्फीरुपमा नेपाली भूमिमा कुनै गतिविधि नगर्नसमेत भारत सरकालाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले पूर्वमा काली (महाकाली) नदी यताका सम्पूर्ण भूभागहरु लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका भूभाग भएको पनि स्पष्ट पारेको छ । यसअघि भारतले नक्सा जारी गर्दा पनि परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै उक्त भूभाग नेपालको भएको बताएको थियो भने यस विषयलाई कूटनीतिक पहलमार्फत समाधान गर्न भारतलाई पत्राचारसमेत गरेको थियो । तर, पत्राचारको पाँच महिना बितिसक्दा पनि भारतले कुनै जवाफ पठाएको छैन । #बाह्रखरि

चर्चामा

सम्बन्धित समाचार