• होमपेज
  • समाचार
  • कोरोनाकैबीच यसरी सुरु हुँदैछ बजेट अधिवेशन, वैशाख २८ देखि प्रि–बजेटमाथि छलफल

कोरोनाकैबीच यसरी सुरु हुँदैछ बजेट अधिवेशन, वैशाख २८ देखि प्रि–बजेटमाथि छलफल

  • शुक्रबार, बैशाख २६, २०७७
कोरोनाकैबीच यसरी सुरु हुँदैछ बजेट अधिवेशन, वैशाख २८ देखि प्रि–बजेटमाथि छलफल

काठमाडौं —  कोरोनाभाइरस संक्रमणपछि जारी लकडाउनकै बीच संघीय संसदको बजेट अधिवेशन शुक्रबार (आज) देखि सुरु हुँदैछ । अपरान्ह चार बजे शुरु हुने अधिवेशनका लागि विशेष स्वास्थ्य–सुरक्षा व्यवस्था अपनाइएको छ ।
संसद सचिवालयका पदाधिकारीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेका मापदण्ड पूरा गरेर अधिवेशन सुरु गर्न लागेको बताएका छन् ।

उनीहरुले कोरोनाको सम्भावित जोखिम र चुनौतिका कारण सांसद, कर्मचारी र मर्यादापालकको पीसीआर टेस्ट गर्न थ्रोट स्वाब संकलन र परीक्षण गर्नुपरेको जनाएका छन् ।

बिहीबार मत्रै २ सय १२ सांसदसहित ४ सय ४१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाएको सचिवालयले जनाएको छ । बिहीबारको रिपोर्ट आज बैठक सुरु हुुनुअघि नै आउँछ भने बाँकीको आजै स्वाब संकलन गरि परीक्षण गरिनेछ ।

संसद्का सहप्रवक्ता दशरथ धमलाका अनुसार बिहीबार १ सय ७९ जना प्रतिनिधिसभा सदस्य र ३३ जना राष्ट्रियसभा सांसदको पीसीआर टेस्टका लागि थ्रोट स्वाब संकलन गरिएको र बाँकीको शुक्रबार गरिँदैछ ।

संसद् सचिवालयले बैठकमा छिर्नुअघि सवै सांसदहरूले कोरोना संक्रमण नभएको रिपोर्ट देखाउनुपर्ने नियम बनाएको छ। राष्ट्रियसभाको बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिमा रिपोर्ट अनिवार्य गर्ने राजनीतिक सहमति बनेको हो ।

यो बाहेक दुवै सदनमा साविकको बीचका दुई कुर्सी छाडेर मात्रै सांसदहरूलाई बस्ने व्यवस्था मिलाइएको छ । त्यस्तै यो पटक कुनै पनि सांसदले कुर्सी फेरेर बस्न पाउने छैनन् । पहिलो दिन बसेको कुर्सीमा नै अरुदिन पनि बस्नुपर्ने नियम बनाइएको छ ।

प्रि–बजेट छलफल बैशाख २८ बाट
संविधान अनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने हुन्छ । यस बर्ष बजेट अधिबेसन ढिला गरि सुरु भएको छ । बजेट पेश गर्नुअघि १५ दिन अघि नै संसदमा प्रि–बजेटबारे छलफल गर्नुपर्ने नियामावली अुनसार बैशाख २८ गतेबाट प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची तय भएको छ । प्रिबजेट छलफल सकेर संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्नेगरी तयारी भएको छ । त्यसका लागि संसद सचिवालयले
प्रतिनिधिसभामा तीन दिन र राष्ट्रियसभामा दुई दिन प्रि–बजेट छलफल गर्ने कार्यसूची तय गरेअनुसार प्रतिनिधि सभामा २८ देखि ३० र राष्ट्रिय सभामा २८ र २९ वैशाखमा प्रि–बजेटमाथिको छलफल सक्ने तयारी छ ।
प्रि–बजेट छलफल सकेरर जेठ २ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रमसहित पेश गर्नेछन् । नीति तथा कार्यक्रम पास भएपछि बजेट पेश गर्न बाटो खुल्नेछ ।

बजेट अधिशेशनमा प्रमुख प्रतिपक्ष लगायत प्रतिपक्ष दल आक्रमक रुपले प्रस्तुत हुने तयारीमा छन् । कोरोना संक्रमण नियन्त्रणका क्रममा औषधि उपकरण खरिदमा भएको भ्रष्टाचार, अध्यादेश लगायतका विषयमा विपक्षीले संसद तताउने तयारी गरेका छन् । यति मात्रै होइन, सत्तारुढ दलभित्रै पनि यी विषयमा सरकारको चर्को आलोचना भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार