बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • एक हप्ता बित्यो, टेलिकमले दिएन सापटी सुविधा

एक हप्ता बित्यो, टेलिकमले दिएन सापटी सुविधा

नियामक निकायको निर्देशन अटेर गर्दै

  • मङ्लबार, चैत्र १८, २०७६
एक हप्ता बित्यो, टेलिकमले दिएन सापटी सुविधा

काठमाडौं — तपाईँ इन्टरनेट नभएको ठाउँमा हुनुहुन्छ । मोबाइलमा पैसा पनि सकियो । तर तपाईँलाई कसैसँग फोन गर्नैपर्ने आवश्यकता छ । अब तपाईँ के गर्नुहुन्छ ? यो कहिलेकाहीँ हुने घटना होइन, आम समस्या हो । लकडाउनका कारण टेलिकम कम्पनीहरुको रिचार्ज कार्ड बिक्री हुन नसक्दा बजारमा अहिले यसको अभाव सुरु भइसकेको छ ।

सामान्य खुद्रा बिक्रेतासँग भएका रिचार्ज कार्डहरु अहिले सकिइसकेका छन् । टाढा जानलाई ‘लकडाउन’ छ । ठाउँठाउँमा राखिएका विद्युतीय कियोस्कका सटर पनि अहिले बन्द छन् । यस्तो अवस्थामा रिचार्ज गर्ने अनलाइन बैंकिङ वा पेमेन्ट सर्भिस प्रोभाइडरहरुबाट मात्रै हो ।

तर यसमा सबै नागरिकहरु अभ्यस्त छैनन् । अझै पनि २० प्रतिशत नेपाली मात्रै अनलाइन बैंकिङको पहुँचमा रहेको तथ्यांकले देखाउँछ । यस्तो अवस्थामा यो सुविधाको पहुँच वा ज्ञान नभएका ग्राहकहरु अहिले निकै अप्ठ्यारो अवस्थामा गुज्रिसकेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले यही समस्यालाई मध्यनजर गर्दै टेलिकम कम्पनीहरुलाई आफ्ना ग्राहकलाई २०० रुपैंया सापटी सुविधा उपलब्ध गराउन अघिल्लो साता नै निर्देशन दिएको थियो । तर, ‘लकडाउन’भएको एक साता बितिसक्दा पनि नेपाल टेलिकमले नियामक निकायका आदेश बमोजिम सापटी सेवा सुरु गरेको छैन ।

यस्तो संकटको अवस्थामा समेत टेलिकमले ग्राहकलाई अत्यन्तै आवश्यक सेवाका समेत वास्ता गरिरहेको छैन । बरु “हालको विशेष परिस्थितिमा कम्पनीको सेवाहरुको महशुल एनटी रिचार्ज कार्ड वा विद्युतीय माध्यममार्फत् भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ ।” भन्ने सन्देश मोबाइलमा पठाइरहेको छ । जबकी बजारमा रिचार्ज कार्ड किन्नै पाइँदैन ।

उता, एनसेलले सबै ग्राहकहरुलाई सापटी सेवा खोलेर रु २०० सम्म लिन पाउने व्यवस्था गरिसकको छ । नेपाल टेलिमलसँग अहिले पनि सापटी सेवा छ । तर त्यो सेवा सीमित ग्राहकलाई दिइन्छ, त्यो पनि २० रुपैंया मात्रै ।

यो नगन्य रकम मात्रै हो । नेपाल टेलिकम स्रोतका अनुसार अहिले टेलिकमका ८० लाख भन्दा बढी मोबाइल नम्बरहरुको ब्यालेन्स ५० रुपैंया भन्दा कम छ । तीमध्ये अधिकांश ग्राहकहरु रिचार्जको समस्यामा छन् ।

चर्चामा

सम्बन्धित समाचार