शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • इटलीमा ९५ वर्षीयाको कोरोना भाइरसमाथि विजय

इटलीमा ९५ वर्षीयाको कोरोना भाइरसमाथि विजय

  • मङ्लबार, चैत्र ११, २०७६
इटलीमा ९५ वर्षीयाको कोरोना भाइरसमाथि विजय

कोरोना भाइरसको संक्रमण विस्तारबाट पछिल्लो समय सबैभन्दा बढी आक्रान्त बनेको युरोपेली मुलुक इटालीमा ९५ वर्षीया वृद्धाले कोरोना भाइरसको संक्रमणमाथि विजय हासिल गरेकी छिन् ।

संक्रमणका कारण मृत्यु हुनेहरूमा अशक्त र वृद्धवृद्धाहरू बढी रहेको समाचार सार्वजनिक भइरहेका बेला इटालीकी ९५ वर्षीया अल्मा क्लारा कोर्सेनीले कोरोना भाइरसको संक्रमणमाथि विजय हासिल गरेकी हुन् ।

बेलायती समाचार पत्रिका इन्डिपेन्डेन्टको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार कोरोना संक्रमित भएपछि कोर्सेनीलाई ५ मार्च (२२ फागुन)मा स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । तर, उनी पूर्णतः निको भएर घर फर्केकी छिन् ।

उनको उपचारमा संलग्न चिकित्सकले भनेका छन् कि कोरोना भाइरसका कारण अस्पताल भर्ना भए पनि ती वृद्धाका लागि ‘एन्टिभाइरल’ उपचार गर्नुपरेन । बरु, अस्पताल भर्ना भएपछि उनको शरीरले कोरोना भाइरसविरुद्ध प्रभावकारी प्रतिक्रिया देखाउन थाल्यो ।

९५ वर्षीया वृद्धासँग स्थानीय पत्रिका गजेटा डे मोडेनाले संक्षिप्त कुराकानी गरेको थियो । त्यसक्रममा उनले आफू पूर्ण रूपमा निको भएको र आफूलाई भेट्न आउनेहरू असल मानिसहरू भएको पत्रिकाको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

सो अनलाइनले अस्पतालमा उपचाररत रहँदा निको भएपछि चिकित्सक टोलीसँग खुसियाली मनाउँदै गरेको तस्बिर पनि प्रकाशित गरेको छ, जहाँ उनी मुस्कुराइरहेको देखिन्छिन् । पत्रिकाले भनेको छ, ‘कोर्सेनी अस्पतालका स्टाफहरूका लागि गौरवको विषय बनेकी छिन् ।’

कोरोना भाइरसको संक्रमण वृद्धवृद्धा र केटाकेटीका लागि सबैभन्दा बढी दुरुह मानिएका वेला सय वर्ष नाघेका एक चिनियाँ नागरिक पनि कोरोना भाइरसमाथि विजय हासिल गरी अघिल्लो हप्ता घर फिर्ता भइसकेका छन् ।

वुहानका एक सय तीन वर्षीय झाङ ग्वाङफेन कोरोना भाइरसमाथि विजय हासिल गर्दै अघिल्लो हप्ता घर फर्केका हुन् । कोरोना संक्रमण भएपछि उनलाई १ मार्च (१८ फागुन)मा वुहानको लियान अस्पतालमा भर्ना गरिएको थियो । साभार नयाँ पत्रिका

चर्चामा

सम्बन्धित समाचार