शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • ७ महिनासम्म कुनै पाठ नपढेर विद्यार्थी वार्षिक परीक्षाको तयारीमा

७ महिनासम्म कुनै पाठ नपढेर विद्यार्थी वार्षिक परीक्षाको तयारीमा

  • शनिबार, फाल्गुन १७, २०७६
७ महिनासम्म कुनै पाठ नपढेर विद्यार्थी वार्षिक परीक्षाको तयारीमा

बाजुरा १७ फागुन– बडिमालिका नगरपालिका वडा न ७ मा रहेको लक्ष्मी माध्यमिक विद्यालय जिल्लीमा माध्यमिक तहको नेपाली विषय पढाइ नभएको ७ महिना बित्योे । विद्यालयका प्रअ समेत रहेका नेपाली शिक्षक कुष्मराज पण्डित १५ दिनको काज विदा लिएर अमेरिका हिँडेदेखि नेपाली विषय पढाइ भएको छैन । कुनै दिन आलोपालोमा पाठ अभ्यास बाहेक ८ देखि १० सम्मको नेपाली विषय पढाइ नभएको निमित्त प्रधानाध्यापक लालचन्द्र जैशीले बताएका छन् ।
पण्डित विद्यालय व्यवस्थापन समिति अध्यक्ष झुमा खत्री काठमाडौं गएको बेला सदस्यको अध्यक्षतामा बैठक बोलाएर काज मिलाउन लगाएका थिए । अमेरिका बसेर विद्यालयका लागि सहयोग रकम समेत संकलन गर्ने बचन सहित पण्डित १५ दिनका लागि काज विदामा हिँडे पनि ७ महिनापछि मात्र विद्यालय अनुहार समेत देखीएको छैन बिद्यार्थीहरुले बताएका छन् ।
भदौ ८ गते १५ दिनको काज विदा स्वीकृत गराएर हिँडेका प्रअ पण्डित फागुन ११ गतेमात्र विद्यालयको सम्पर्कमा आएका छन् । विव्यसले ७ दिनभन्दा बढी काज विदा दिन नमिल्ने र वार्षिक २४ दिन बढी लगातार विदामा बस्न नपाईने प्रावधान छ । तर पण्डितको हकमा त्यो नियम लागू भएन । यता नगरपालिकाले पनी कुनै वास्ता गरेको देखीदैन ।
शिक्षा विकासको नारालाई बिशेष प्राथमिकता दिएको बताउने बडिमालिका नगरपालिका पनि यसमा मौन रहेको देखीन्छ । उल्टै दुई महिनाको तलब सुविधा समेत दिइसकेको बताइएको छ बिद्यालयको एक श्रोतले जनाएको छ । आफू अनुकुल विदा बसेर विद्यार्थीको भविष्यमाथि नै खेलवाड गर्ने शिक्षकलाई नगरपालिका र शिक्षा विकास समन्वय इकाई बचाउन लागि परेको अभिभावकले आरोप लगाएका छन । ७ महिनासम्म कुनै पाठ नपढेर विद्यार्थी वार्षिक परीक्षाको तयारीमा छन ्। जोड्दा १ सय ८६ दिनसम्म प्रअ पण्डित विद्यालयमा हाजिर छैनन । २ सय २० दिन विद्यालय खोल्न पर्ने र १९३ दिन अनिवार्य पढाइ गर्नुपर्ने शिक्षा ऐनमा उल्लेख गरिएको भए पनी प्रअ आफै ७ महिनासम्म ब्यखबर बनेको बिद्यालय श्रोतले जनाएको छ । बिद्यालय ब्यबस्थापन समितिलाई समेत प्रअको चालबाजी नबुझेको र यस अघिका दिनहरुमा प्रअ पण्डित यस्तै गरेको बिद्यालय ब्यबस्थापन समितिका एक सदस्यले बताए ।
त्यो मात्र होइन शिक्षा विकास समन्वय इकाईको मावि तहको अंग्रेजी विषय पनि पढाई नभएको डेढ महिना बितेको छ । पारसमणि खत्री माघ १ गतेदेखि नेरा मावि जडागांमा राहत कोटामा गएपछि ८ देखि १० कक्षासम्म अंग्रेजी विषयसमेत पढाइ नभएको बिद्यार्थीको गुनासो रहेको छ । विद्यालयमा २ सय ८२ जना विद्यार्थी अध्ययनरत छन् भने ११ जना शिक्षक कार्यरत छन्।
चैतको पहिलो साताबाट वार्षिक परीक्षा तय गरिएको छ । नेपालीका कुनै पाठ पढाइ भएका छैनन् भने अंग्रेजी विषयका आधाबढी पाठ पढ्न नपाएको बिद्यार्थीहरुले बताएका छन् । किताब नपढेरै भएपनि विद्यार्थी परीक्षा दिन तयारीमा छन् । विद्यालय आउने, अंग्रेजी र नेपालीको विषयमा खाली बस्ने अनि घर फर्किने बाहेक अन्य काम नभएको बिद्यार्थीहरुले बताउदै आएका छन् ।

वडादेखि शिक्षा कार्यालय र नगरपालिकामा समेत आग्रह गर्दा कुनै सहयोग नभएको विव्यस अध्यक्ष झुमा रोकायाको भनाई छ। मलाइ अमेरिका गएको पनि फोनबाट मात्र जानकारी भएको हो, म काठमाडौं गएको बेला बैठक बोलाएर काज विदा स्वीकृति गरिएको देखिन्छ, मैले कुरा उठाउँदा सुनुवाई नै भएन अध्यक्ष खत्रीले बताईन ।
लक्ष्मी मावि कक्षा ८ सम्म स्वीकृत भएपनि प्रस्तावित माविका रुपमा सञ्चालित रहेको छ । नगरपालिकाले नगर शिक्षक राखिए पनि पूरा दरबन्दी हुन सकेको देखिदैन । मावि तहका दुई जना शिक्षक नहुनु र प्रावि दरबन्दीमा रहेकी माया रोकाया सुत्केरी विदामा रहेका कारण पढाइ पूर्ण रुपमा प्रभावित बनेको बन्दै गएको अभिभावकहरुले बताएका छन् ।
नेपाली पढाइ नै भएको छैन, अंग्रेजी आधा बढी पढाइ हुन बाँकी छ, अरु विषयको पनि समस्या उस्तै छ, बिद्यालयका अन्य शिक्षकहरुको गुनासो समेत रहेको छ । गुनासो गरेका छन् । गुणस्तर खोज्ने तर शिक्षक नियमित नहुने भएपछि अ‍ेपक्षा गरेको उपलब्धि हासिल गर्नु भन्दा उल्टो विद्यार्थीलाई आधारभुत ज्ञान समेत दिन मुस्कील पर्ने अवस्था लक्ष्मी माविको छ ।
जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुख गोपाल दत्त जोशीले असाधारण विदा पाउने भएपनि विदा बस्नु पूर्व नै स्वीकृति लिनुपर्ने बताएका छन्। नगरपालिकाका क्षेत्राधिकार बढी भएकोले नगर शिक्षा विकास शाखाको पत्रका आधारमा मात्र समन्वय इकाईले प्रक्रियाअघि बढाउने जोशीको भनाई छ ।
सदरमुकामबाट ३० मिनेटको पैदल दुरीमा पर्ने लक्ष्मी मावि मार्तडी कोल्टी सडकको बाटोमै पर्ने गर्छ। सबैको नजरमा परेपनि समस्या कसैको नजरमा नपरेको स्थानीयको गुनासो रहेको छ । जसको समस्यामा विद्यार्थी परेका छन । यस बारे नगरपालिका बोल्न खोजिरहेको छैन भने पण्डित सम्पर्कमा छैनन्।

चर्चामा

सम्बन्धित समाचार