ललितपुर। हिजोआज तपाईंहरुले ललितपुरको सडकलाई नियाल्नु भएको छ ? छैन भने एक पटक अवश्य ध्यान दिएर हेर्नुहोस् । केहि फरक दृष्यि देख्नुहुनेछ । तपाईंहरुले साघुँरो सडकको दुबैतर्फ साइकल लेन देख्नुहुनेछ ।
केहि दिन अघि मात्र ललितपुर महानगरपालिकाले साइकल नगर बनाउने भन्दै नगरभित्र साइकल लेनको शुरुवात ग¥यो । नगरलाई साइकलमैत्री तथा पर्यावरणमैत्री बनाउने भन्दै स्थानीय सरकारले नै साइकल लेन अभियान चलायो । थापाथली पुलदेखि कुपन्डोल, पुल्चोक, जावलाखेल हुँदै लगनखेलसम्म जोड्ने सडकमा साइकल लेन छुट्याउने काम भयो । नगर प्रमुख चिरिबाबु महर्जनले भएकै सडकको दायाँ बायाँ लेन कोरेर साइकल लेनको उद्घाटन गरे । महानगरको यो प्रयासलाई साइकल चढ्ने देखि साइकल अभियन्ता तथा वातावरणविद्हरुले प्रशंसा गरे ।
ललितपुरलाई पछ्याउँदै काठमाडौँ महानगरपालिकाले पनि साइकल लेनको विषय उठायो । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य आफै साइकल बोकेर सडकमा उत्रिए । उनले पनि उपत्यकालाई साइकलमैत्री सहर बनाइछाड्ने उद्घोष गरे । त्यसो त शाक्यले आफ्नो चुनावी अभियानमा समेत उपत्यकालाई साइकल सिटी बनाउने भन्दै चुनावी घोषणापत्र बनाएर जनमत लिएका थिए । तर आफ्नो कार्यकालको आधाआधी समय बितिसक्दा समेत साइकल सिटीको बारेमा चुइक्क नबोलेका शाक्यलाई ललितपुरको साइकल लेन अभियानले एकाएक ततायो ।
साइकल लेन कति व्यवहारिक ?
उपत्यका भित्रका सडकहरुमा साइकल लेन निर्माण गर्नु र प्रयोगमा ल्याइनु नराम्रो कुरा होइन । साइकल सिटीको रुपमा समेत उपयुक्त मानिएको काठमाडौँ उपत्यकामा साइकल लेन छुट्याएर साइकल प्रयोगलाई प्रोत्साहन गर्नु आफैमा राम्रो पक्ष हो । तर, यसो भन्दैमा हतार हतार ल्याइएको नीति तथा कार्यक्रमले सफलता पाउछ भन्ने छैन । जुन पहिले नै शुरुवात गरिसकिएको माइतिघर–तीनकुने साइकल लेनले देखाइसकेको छ । यो उदाहरणलाई हेरेर भएपनि सरकारले साइकल लेन बारे सहि नीति लिनुपर्ने हो । लेनको दीर्घकालिनता, व्यवहारिकता र प्रभावकारितालाई ध्यानमा राख्दै साइकल लेन निर्माण गर्नुपर्ने हो । अहिलेको ललितपुरको साइकल लेन भएकै सडकमा दायाँबायाँ कोरिएको छ । मात्र सिम्बोलिक संकेतले लेन चिन्नुपर्ने अवस्था छ । त्यसमाथि सधैजसो सवारी चाप पर्ने सडकमा साइकल लेन कसरी प्रयोगमा आउँला ?
योजना डिजाइनर महानगरका प्रतिनिधिहरु के भन्छन् ?
प्राथमिकताका आधारमा सडकमा साइकल लेनको सुरुवात गरेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन बताउँछन् । सहरलाई व्यवस्थिति बनाउने र साइकलमैत्री सहर बनाउँदै वातावरणीय सन्तुलत गराउने लक्ष्य रहेको मेयरको भनाइ छ ।
‘बढ्दो सवारी चाप र वायुप्रदुषणलाई ध्यानमा राख्दै ललितपुर महानगरपालिकाले साइकल प्रयोगलाई प्रत्साहनको नीति लिएको छ । त्यसैका लागि आवश्यक वातावरण बनाउन हामीले साइकल लेन निर्माणको कार्यथालनी गरेका छौँ,’ मेयर महर्जनले भने, ‘साइकल लेनका लागि उपयुक्त सडक पूर्वाधार नभएपनि सेयर राइडिङ्गको मान्यतामा साइकल लेन छुट्याउने काम भएको छ । यसले साइकल प्रयोगलाई केहि सहजता र प्रत्साहन गर्छ भन्ने हाम्रो विश्वास छ ।’
महर्जनका अनुसार अहिले महानगरले साइकल लेनसम्बन्धी ऐननै बनाएको छ । जसले साइकल लेन र प्रयोगसम्बन्धी नियम बाँध्नेछ । सडकमा छुट्याइएको साइकल लेनमा अन्य सवारी साधन जान पाउने नपाउने र जरिवान सम्मको व्यवस्था गरेको छ । अहिले प्रारम्भिक रुपमा ललितपुर महानगरपालिकाले ऐन बनाए पनि काठमाडौँ, भक्तपुर र ललितपुर तीनै जिल्लाका सबै नगरहरुले यसलाई कार्यान्वयनमा लैजाने गृहकार्य भइरहेको महर्जनले जनकारी दिए ।
ललितपुर महानपालिकाले पहिलो चरणमा थापाथली पुलदेखि कुपन्डोल, पुल्चोक, जावलाखेल हुँदै लगनखेलसम्म जोड्ने सडकमा साइकल लेन छुट्याएको छ । पहिलो चरणमा सो क्षेत्रमा साइकल रुट बनाएर अघि बढेको नगरले दोस्रो चरणमा लगनखेलबाट मंगलबजार र पुल्चोकबाट मङ्गलबजारसम्म पनि साइकल रुट बनाउने योजना बनाएको छ । यसका लागि महानगरले पहिलो चरणमा गत आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट ५० लाख रुपैयाँ छुट्याएको थियो भने, यसै आर्थिक वर्षमा पनि ५० लाख रुपैयाँ छुट्याएको छ । नगरभित्रका सडकमा साइकल लेन छुट्याउने देखि स्तरउन्नती गर्ने र लेनसँगै साइकल स्ट्यान्ड वा साइकल पार्किङ्ग समेत निर्माण गर्ने महानगरको योजना छ ।
अहिले भएकै सडकको दायाँ बायाँ छुट्याइएको लेनलाई व्यवस्थित गर्न र साइकल यात्रीको सुरक्षाको प्रत्याभूति दिलाउन महानगरले आगामी हिउँदे अधिवेशनमा साइकल ऐन ल्याइने तयारी समेत गरिरहेको छ ।
यता, काठमाडौं महानगरपालिकाले पनि साइकल लेनलाई प्राथमिकता दिँदै माइतीघर–तीनकुने साइकल लेनलाई पुनर्जीवन दिने भएको छ । माइतीघर देखि तीनकुनेसम्मको साढे दुई किलोमिटर दुरीको दुईतर्फी लेनलाई व्यवस्थित गर्दै साइकल लेनको निरन्तरता दिने नगरको योजना छ । जुन लेन पहिले नै निर्माण गरिएको थियो ।
२०७० सालमा सरकारले ठूलै तामझामका साथ उद्घाटन गरिएपनि उचित व्यवस्थापन नपाउँदा साइकल लेन केबल पार्किङ्गस्थल र सामान थुपार्ने स्थल मात्र बन्न पुग्यो । कतिलाई त आजसम्म पनि सो क्षेत्रमा साइकल लेन छ भन्ने सामान्य जानकारी समेत छैन । मुख्य सडकको सतहभन्दा अलि माथि उठेको ट्याक्टाइल पेभिङसहितको बाटो नै साइकल लेन हो । तर उक्त लेन अहिले पैदल बाटो र पाकिङ्ग स्थल बन्दै आएको छ । सोही लेन अहिले महानगरले पुनः प्रयोगका लागि भौतिक संरचनागत सुधार तथा व्यवस्थापनका लागि पहल थालेको हो ।
माइतिघर–तीनकुने साइकल लेन गुरुयोजनाका लागि महानगरले तीन करोड खर्च गर्दैछ ।
साइकल लेन कस्तो हुनुपर्छ ? मापदण्ड के ?
अन्तर्राष्ट्रिय प्रयोग र मान्यताका आधारमा साइकल लेनको मापदण्ड कम्तिमा पनि एक दशमलव २ मिटरको हुनुपर्छ । सरदर १.२ मिटर देखि २ मिटर सम्मको लेन हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । यो लेन अन्य सवारी साधनले प्रयोग गर्ने लेनभन्दा बाहिर हुनुपर्ने नियम हो । त्यसमा सडकको अवस्था हेरी तीन तरिकाले साइकल लेन छुट्याउन सकिन्छ । अहिलेको अन्तर्राष्ट्रिय प्रयोगका हिसाबमा डेडिकेटेट, कन्ट्राफ्लो र एडभाइजर गरी तीन पद्धतिमा साइकल लेन प्रयोग गर्न सकिन्छ । जसमा अहिलेको ललितपुरको प्रयोग एडभाइजर पद्धतिको हो । जुन त्यति प्रभावकारी र व्यवहारिक मानिदैन । भएकै सडकलाई साझेदारीको रुपमा प्रयोग गर्ने पद्धति भएकाले अन्य सवारी साधनले साइकल लेन मिच्ने र साइकल यात्रीको सुरक्षा समेत नहुने हुन्छ । तर सडकको अवस्था र संरचनाका आधारमा राईड सेरिङ्गको मान्यतामा सडक भित्रनै छुट्याउन सकिने नेपाल साइकल सोसाइटीका उपाध्यक्ष तथा प्राविधिक विज्ञ सोमराज राना बताउँछन् ।
‘हुँदै नहुनुभन्दा कम्तिमा प्रयोगको थालनि राम्रो कुरा हो । जुन ललितपुरमहानगरपालिकाले गरिरहेको छ । यसमा हाम्रो साथ र सहयोग रहन्छ,’ रानाले भने, ‘राइड सेरिङ्ग नेपालमा मात्र होइन अन्य विदेशी सहरहरुमा पनि हुने गर्छन् । त्यसमा आपत्ति जनाउनु पर्ने केहि छैन । सबै ठाउँमा डेडिकेटेट(छुट्टै) साइकल लेन हुनैपर्छ भन्ने छैन । केहि सहज ठाउँहरुमा यो पद्धती पनि प्रयोगमा ल्याउन सकिन्छ ।’
अर्को कन्ट्राफ्लो पद्धति भने एकतर्फी बाटोमा प्रयोग गर्न सकिने साइकल लेन हो । जुन अन्य सवारी साधनलाई एकातर्फी भएपनि साइकललाई दुईतर्फी प्रयोग गर्न सकिन्छ भन्ने अवधारणामा बनाइएको हुन्छ । जुन हाम्रा सहरका बाटोहरुमा पनि प्रयोग गर्न सकिन्छ ।
‘यी तीन पद्धतीहरु मध्ये सबैभन्दा राम्रो सुरक्षित र व्यवहारिक भनेको डेडिकेटेट पद्धतिनै हो । तर, यो हाम्रोमा प्रयोग गर्न अत्यन्त कठिन छ । ललितपुर र काठमाडौँका साना र साघुँरा रोडमा कसरी प्रयोग गर्ने ? तर बाहिरी चक्रपथ सडकमा भने कार्यान्वयन गर्न सकिन्छ,’ राना भन्छन् ।
अहिले पहिलो चरणमा उपत्यका भित्रका सडकहरुमा प्रयोग थालनि गरिएपनि चक्रपथमा पनि यो साइकल लेन छुट्याइनु पर्ने साइकल सोसाइटीको माग छ । त्यसका लागि ऐन नियम नै बनाएर चक्रपथ सडक खण्डमा साइकल लेन छुट्याउन यातायात मन्त्रालय तथा संवन्धित कार्यालयलाई अनुरोध गरिएको रानाले जानकारी दिए ।
साइकल लेनको आवश्यकता
पछिल्लो समय विश्वका अधिकांश सहरहरुमा साइकलको प्रयोग बढेर गएको छ । बढ्दो प्रदुषण, सवारी चापलाई र सहजतालाई मध्यनजर गर्दै सहरहरुमा साइकलको प्रयोग बढ्दै गएको हो । युरोपेली मुलुक, अमेरिकी तथा अन्य विकसित मुलुकहरुका प्रसिद्ध सहरहरुमा समेत साइकलको प्रयोगलाई उच्च प्राथमिकता दिइएको छ । त्यसका लागि त्यी क्षेत्रहरुमा साइकल लेनको उचित व्यवस्थापन गरिएका छन् । नेपालको सन्दर्भमा उपत्यका भित्र भौतिक, सामाजिक, आर्थिक पर्यावरणीय सबै दृष्टिकोणले साइकल लेनको आवश्यक छ । त्यसमाथि सडकमा गुड्ने सवारी साधनहरु मध्ये सबैभन्दा कमजोर र निर्भिक साधनको रुपमा साइकललाई लिने गरिन्छ । तर, यहाँ भने साइकललाई सवारी साधननै होइन भन्ने सम्मको मानिसकिता राख्ने गरिन्छ । सडकमा धेरै हेपिने साधनसमेत साइकल नै हो । यस्तो समस्या समाधानका लागि साइकल लेन अपरिहार्य छ । तर आवश्यकता छ भन्दैमा बिना तयारी यसलाई कार्यान्वयन गर्दा फेरि यसको हालत पनि माइतीघर तिनकुने साइकल लेनकै हालत त हुने होइन भन्ने आशंका त्यतिकै छ ।