आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • लगनशीलता नै सफलताको कसी

लगनशीलता नै सफलताको कसी

  • आइतवार, मंसिर १५, २०७६
लगनशीलता नै सफलताको कसी

अनामनगरदेखि थापागाउँ जाने उकालोमा दायाँतिर कफीशाला छ। छेउमै छ रानी कलेक्सन। यो आधुनिक सिजनेबल कपडा पसलमा प्रियारानी लामा भेटिन्छिन्। उनी मिस कस्मपोलिटन वल्र्ड- २०१९ की विजेता हुन्। उनको परिचय यतिले काफी हुँदैन। नेपाल वान टेलिभिजनमा कार्यक्रम प्रस्तोतासँगै माइक्रो बायोलोजीकी विद्यार्थी। ब्युटी प्याजेन्ट तथा फेसन प्रतियोगिताको कोरियोग्राफर, कार्यक्रमकी होस्ट र मोडल पनि। समाजसेवामा पनि काम गर्दै आइरहेकी प्रियाले आफ्नै व्यवसाय पनि सुरु गरेकी छन्। आफ्नै कस्टमेटिक ब्रान्ड पनि लन्च गर्दैछिन्।

मिस कस्मपोलिटन वल्र्ड २०१९ मलेसियामा सम्पन्न भएको थियो। अक्टोबर २५ मा सम्पन्न कार्यक्रममा ३२ देशका प्रतियोगीलाई उछिन्दै नेपालकी प्रियाले प्रथम स्थान हासिल गरिन्। अन्तर्राष्ट्रियस्तरको यो प्रतियोगिताले उनको सपना त पूरा गर्‍यो नै देशविदेशमा समेत चर्चा चुलियो।

उनलाई टपटेनमा पुग्नुअघि सोधिएको प्रश्न थियो ‘तपाईंको जिन्दगीको सबैभन्दा बेस्ट समय कुन हो ? ’ उनले यसको जवाफ पनि अलि फरक तरिकाले दिइन्, भनिन्, ‘जब म हरेक बिहानीमा ब्युँझेर आँखा खोल्छु त्यो नै मेरा लागि सबैभन्दा पावरफुल समय हो। जिन्दगीका ससाना पलको स्वाद लिन चाहन्छु, हरेक बिहानीले एउटा सपना बोकेर आएको हुन्छ।’

उनले यस्तै हरेक प्रश्नको सटिक जवाफ दिइन्। आफूमा भएको कन्फिडेन्ट, वाकपटुता र हरेका विषयमा बोल्ने दक्षताले गर्दा नै मिस कस्मपोलिटियनको उपाधि जितेको दाबी गर्छिन् उनी। भन्छिन्, ‘युरोप अमेरिकाजस्ता विकसित राष्ट्रका क्षमतावान् सहभागी पनि सहभागी थिए प्रतियोगितामा। तर मैले दिएको प्रश्नको जवाफले गर्दा नै यो उपाधि हात लागेको हो। कार्यक्रमका लागि लाखौं डलर खर्च गर्ने नेपाली नभएर के भो त, हामीसँग क्षमता छ। बौद्धिक ट्यालेन्ट छ जुन हरेक ठाउँमा देखाउन सक्छांै। यति हो आफैंप्रति पूर्ण विश्वास हुनुपर्‍यो।

मिस टिन धरान २००८ मा सहभागी भएर उनले ब्युटी प्याजेन्ट र फेसनको दुनियाँमा पाइला सारेकी हुन्। २०१० मा मिस पूर्वाञ्चलको फस्ट रनरअपको ताज जितेपछि उनी त्यही सालमा मिस नेपालमा सहभागी भइन्। मिस नेपालमा सिकेको अनुभवले उनलाई फेसन कोरियोग्राफीतिर लाग्न पे्ररित गर्‍यो।

सन् २०११ देखि मिस पूर्वाञ्चलको कोरियोग्राफी सुरु गरिन्। अहिले उनी राष्ट्रिय अन्तर्राष्ट्रिय फेसन सोको कोरियोग्राफी गर्र्दै आएकी छन्। कोरियोग्राफी गर्नकै लागि उनी जापान, कोरिया, थाइल्यान्ड, हङकङ, मलेसियाजस्ता देश पुगेकी छन्। कुनै पनि पेसामा सफल हुन निरन्तर लगाव र धैर्य चाहिने महसुस गरेकी प्रिया परिणामको अपेक्षा नगरी विगत १२ वर्षदेखि ब्युटी प्याजेन्ट र कोरियोग्राफीमा करियर बनाइरहेकी छन्।

उनले अहिलेसम्म पाँच सयभन्दा बढी कार्यक्रम होस्ट गरिसकेकी छन् भने उत्तिकै मात्रामा ब्युटी प्याजेन्टको कोरियोग्राफी। उनले प्याजेन्ट सुरु गर्दाको समयमा यो क्षेत्रमा लाग्नेलाई राम्रो नजरले हेर्ने समाज थिएन। अझ बुवाआमाका तीनजना छोरी मात्रै। उनका बुवा राजनीति र व्यापारमा छन् भने आमा सरकारी जागिरे।

आमाको जागिरको सिलसिलामा उनीहरू जनकपुरमा हुर्किएका हुन्। छोरीहरूलाई बोर्डिङमा पढाउँदा उनीहरूका आफन्त, छरछिमेकले अर्काको घर जाने छोरीलाई किन बोर्डिङ पढाएर खर्च गर्नुपर्‍यो भन्दै बारम्बार सवाल उठाउँथे। उनको परिवारले छोरी भनेर कहिल्यै फरक व्यवहार गरेन। हरेक काममा सहयोग गरे। आफ्नो सफलताको श्रेय आमाबुवालाई दिन चाहने प्रिया हरेक युवाको सफलतामा परिवारको मुख्य भूमिका हुने स्वीकार गर्छिन्। कुनै काम गर्छु भनेर सुरु गरेर मात्रै सफल भइँदैन, कतिपटक निराशा छाउँछ, डिप्रेसन हुन्छ, हिम्मत डगमगाउँछ तर हौसला दिने परिवार भयो भने डटेर काम गर्ने प्रेरणा मिल्छ।

मिस कस्मपोलिटियनको ताज जितेपछि उनको जिम्मेवारी पनि बढेको छ। मलेसिया गइरहनु पर्छ। अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा आयोजकसँग मिलेरै काम गर्ने योजनामा छिन् उनी। संसारभरका हिंसापीडित महिलाका लागि सानै भए पनि केही काम गर्ने सोच छ। प्रदेश नं २ सरकारसँग मिलेर सिरहाका दलित विद्यार्थी र महिलाको शिक्षाको क्षेत्रमा काम गर्ने योजनामा छिन् उनी।

उनलाई युवाले देशमा अवसर छैन भनेर गुनासो गरेको पटक्कै मन पर्दैन। ब्युटी प्याजेन्ट होस् या डान्स, गायन, बिजनेस नै किन नहोस् हरेक क्षेत्रमा अवसर छ। आज सानो केही गरेर रातारात चर्चा कमाउँछु भन्नु भएन नि। उनी भन्छिन्,

‘दुईवटा म्युजिक भिडियो गर्‍यो, सुपरहिट नै भएँ भन्ने, हाइफाई जिन्दगी बाँच्नुपर्ने, जस्तो बाटो पनि हिँडिदिने गलत चलन मौलाइरहेको छ। यसले युवामा निराशा ल्याउँछ। मैले यो सफलताका लागि ११ वर्षदेखि खटेर काम गरिरहेकी छु। धैय हुनुपर्‍यो, सफलताले अवश्य पछ्याउँछ।’

उनकै पसलमा बसेर कुराकानीमा जोडिएका थियो हामी। प्रश्न भुइँमा खस्न नपाउँदै चतुर तरिकाले जवाफ दिन्छिन् उनी। एक पटक भनेको कुरा उदाहरणसहित प्रस्ट्याउँछिन्। निकै आत्मविश्वासी देखिने प्रियाले जिन्दगीमा स्वतन्त्र भएर केही विशेष काम गर्ने सपना सजायकी छन्। स्वतन्त्रताले युवामा जिम्मेवारी बोध गराउने अनुभव सुनाउँछिन् उनी। कार्यक्रमको समयतालिका हेरेर एउटा ब्युटी प्याजेन्टको कोरियोग्राफी गर्दा डेढ लाखसम्म पारि श्रमिक लिन्छिन्। एउटा कार्यक्रममा होस्ट गरेको २५ देखि ४० हजारसम्म लिने गरेकी छन्।

चर्चामा

सम्बन्धित समाचार