शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • दुर्गेशको ‘ह्याप्पी तिहार’, गालीको शिकार

दुर्गेशको ‘ह्याप्पी तिहार’, गालीको शिकार

  • बिहिबार, अशोज ३०, २०७६
दुर्गेशको ‘ह्याप्पी तिहार’, गालीको शिकार

असोज २१ गते अर्थात् दसैं टीकाको दिन गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भयो।

गीतमा उनकै स्वर तथा सङ्गीत सुन्न सकिन्छ भने शव्द तयार गर्न साथ दिएका छन् डिपी खनालले।

गएको तीजमा ‘बीच्च–बीच्चमा…’ बोलको गीत ल्याएर चर्चा कमाएका दुर्गेश दसैंको छेकोमा फिल्म ‘छ माया छपक्कै’ को प्रमोसनल गीतबाट चर्चामै रहे।

पुनः उनी ‘ह्याप्पी तिहार’ बोलको गीतबाट यतिबेला चर्चामा छन्। सार्वजनिक भएको एक साता नबित्दै ११ लाख बढी दर्शकले गीत हेरिसकेकका छन्।

हो सोल्टा सोल्टिनी हो, ह्याप्पी तिहार चिसो बियर
जिन्दगी मरिलानु के छ र हो, बाँचे टुप्लुक्क मरे पुक्लुक्क
कि कसो हो?

उल्लेखित शव्दबाटै थाहा हुन्छ गीत कतिसम्म रोमान्टिक र फेस्टिभ मुडमा तयार छ भन्ने। तर, गीतका शव्द यतिमै सीमित छैनन्।

ह्याप्पी तिहार ह्याप्पी तिहार, चिसो बियर।
डन, आयो डन, जा मूला भन्।
राजा हो राजा, बजाइ दिन्छ बाजा।
ए निकाल गाँजा, खानुपर्छ आज,
लुटेको माल हुँदा सबैको राज।

बियर, गाँजा शव्द तथा भिडियोमा देखाइएको मदिराजन्य दृश्यले नेपालको कानुनले वर्जित कार्यलाई दुरुत्साहन गरेको छ। सार्वजनिक गीतमा दर्शकलाई लागूऔषध या मदिराजन्य पदार्थ समाजका लागि हानिकारक छन् भनेर सूचित सम्म गरिएको छैन।

दुर्गेशको गीत ‘ह्याप्पी तिहार’ मा कानुनी व्याख्या

लागूऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद दुई, दफा तीनअन्तर्गत् ‘गाँजा’ लाई लागूऔषधको परिभाषाभित्र राखिएको छ।

ऐनको परिच्छेद दुईको दफा चारमा ‘गाँजा’ निषेधसम्बन्धी कानुनलाई परिभाषित गरिएको छ। जसअनुसार गाँजा र गाँजाबाहेक अन्य लागूऔषधको खेती गर्न, उत्पादन, तयारी गर्न, खरिद, बिक्री–वितरण गर्न, निकासी वा पैठारी, ओसारपसार, सञ्चय गर्न तथा सेवन गर्न निषेध गरिएको छ।

ऐनको परिच्छेद चारको दफा १४ मा उल्लेखित निषेधित गाँजा सेवन गरिएको पाइए एक महिना कैद वा २ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्थासमेत छ।

तर, दुर्गेशले भने सार्वजनिक गीतमा कानुनद्वारा वर्जित लागूऔषधको खुलेआम प्रचार गरेको सुन्न सकिन्छ। यतिमात्र नभएर मदिराजन्य पदार्थको पनि उल्लेख्य प्रचार गरेका छन्।

दुर्गेशको यस गीतले कनुनसँग मात्र अर्थ नराखेर ‘तिहार’ जस्तो चाडलाई पनि विकृत रूपमा व्याख्या गरेको छ। तिहारको देउसी–भैलोका बीचबीचमा त्यस्ता अवान्छित शव्द प्रयोग गरिएका छन्। जसले संस्कृतिमाथि प्रहार गरेका छन्।

यसबारे मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद नौ ‘धर्मसम्बन्धी कसुर’ को दफा १५६ को उपदफा १ मा कसैले लेखेर, वचनले वा आकार, चिह्नद्वारा वा अरू कुनै किसिमबाट कुनै जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्‍याउन हुँदैन।

यही दफा १५६ को उपदफा १ मा उक्त ‘धर्मसम्बन्धी कसुर’ गरेको पाइएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्ष कैद र २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

कानुनमा यति हुँदाहुँदै पनि दुर्गेशले भने आफ्ना फ्यान फलोअर्समाझ अवान्छित शव्दले भरिएका गीत बजारमा ल्याएका छन्। जसले गर्दा यो गीतलाई दर्शकले भने राम्रो प्रतिक्रिया दिएका छैनन्।

गीतमाथिको असन्तुष्टि र आलोचना

कतिपय दर्शकले तिहारजस्तो राम्रो चाडमा यस्तो गीत ल्याएकोमा दुर्गेशलाई गालीको वर्षा नै गरेका छन्। उनीहरूले यस प्रकारका गीतले नेपालको सांस्कृतिक पक्षमा आघात पुग्ने तथा यस्ता विषयले नेपाली गीत–सङ्गीत क्षेत्र नै दुर्गन्धित हुने प्रतिक्रिया दिएका छन्।

उक्त गीत हेरेर असन्तुष्ट बनेका दर्शक सिंगर मुक्तिनाथ उप्रेतीले लेखेका छन्, ‘यो गीत हो कि आधुनिक रक्सीको विज्ञापन हो?’

त्यस्तै अर्का मिलन जोक नामक दर्शकले लेखेका छन्, ‘कानुन नभएको देशमा जे गरे पनि हुन्छ। त्यही भएर त संस्कार पनि हराउँदै गएको छ। यहाँ सबैलाई भ्युजमात्र चाहिएको छ।’

यी प्रतिक्रिया उदाहरणमात्र हुन्। गीतको भिडियोमा अधिकांश प्रतिक्रिया असन्तुष्टिले भरिएका छन्।

के भन्छन् सङ्गीतकर्मी?

दुर्गेशको गीतले दर्शकको मात्र ध्यान तानेको छैन। यसमा नेपाली गीत–सङ्गीतकर्मीको पनि ध्यानाकषर्ण भएको छ। यसबारे नेपालन्युजले लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष तथा गायक बद्री पंगेनीसँग जिज्ञासा राख्दा दुर्गेशको गीतबारे छलफल भइरहेको बताए।

‘म गाँउतिर भएकाले यसमा धेरै ध्यान पुगेका छैन तर धेरैले यसमाथि जिज्ञासा राख्नुभएको छ। हाम्रो राष्ट्रिय परम्परा र चाडपर्वमा यस्ता गलत अभिप्राय बोेकेका गीत–सङ्गीत बजार आउनु पक्कै पनि राम्रो होइन,’ पंगेनीले भने, ‘यस सम्बन्धमा छलफल हुँदैछ। हाम्रो अधिकारिक धारणा चाँडै आँउछ।’

नेपाल गीतकार संघले दुर्गेशको यस गीतमा संघको ध्यान नै नपुगेको र कस्तो गीत छ हेरेर मात्र प्रतिक्रिया दिने जनाएको छ।

गीतको भिडियो

चर्चामा

सम्बन्धित समाचार