बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • क्रिकेट
  • मलेसियामाथि नेपालको जित, शीर्षको दाबेदारी कायमै

मलेसियामाथि नेपालको जित, शीर्षको दाबेदारी कायमै

  • बिहिबार, साउन ९, २०७६
मलेसियामाथि नेपालको जित, शीर्षको दाबेदारी कायमै
फाईल तस्वीर

काठमाडौं :  सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट  प्रतियोगितामा नेपालले मलेसियामाथि जित हात पारेको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइको खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराउँन सफल भएको हो । मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ बलमा ५१ रन बनाई विस्फोटक ब्याटिङ गरे ।  मल्लले ५ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर प्रदीप ऐरीले १४ बलमा १२ रन बनाए । विनोद भण्डारीले ८ बलमा १३ रन बनाए ।  पारसलाई स्वास्थ्य समस्या भएपछि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका थिए ।

निर्धारित समयमा वर्षाका कारण खेल सुरु हुन नसकेपछि ९ ओभरमा छोट्याइएको  हो ।  नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । मलेसियाले पहिला ब्याटिङ गरी ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो।

नेपालका लागि सोमपाल कामीले ३, वसन्त रेग्मीले २ , करण केसी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।  पहिलो खेलमा मंगलबार कतारसँग पराजित भएको नेपालले मलेसियामाथि जित निकाली शीर्ष स्थानको दाबेदार बनेको छ । जित सँगै नेपाल तेस्रो स्थानमा उक्लिएको छ । विश्वकप छनोटको बाटो सहज भएको छ ।  नेपालले अब शनिबार कुबेतसँग र आइतबार सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । यी दुवै खेलमा जित हात पारे नेपाल शीर्ष स्थानमा रहँदै  टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर (विश्वस्तरीय छनोट) खेल्ने अवसर पाउनेछ । विश्वस्तरीय छनोट प्रतियोगिता आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्स ९यूएई० मा आयोजना हुनेछ ।

१४ टोलीको सहभागिता रहने विश्वस्तरीय छनोट प्रतियोगिताको शीर्ष स्थानमा आउने ६ टोलीले भने सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप खेल्ने अवसर पाउनेछन् ।

चर्चामा

सम्बन्धित समाचार