कालो कोट लगाएर नगरपालिकाको इजलासमा बस्दा सुशीला पाख्रिन उप–मेयर होइन न्यायाधीशजस्तो देखिएकी थिइन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाकी उप–प्रमुख सुशीला पाख्रिनले इजलास सकिएपछि न्याय निरुपणका रोचक प्रसंगहरु अनलाइनखबरलाई सुनाइन् ।
उपमेयर निर्वाचित भएको दुई वर्षमा देखिने गरी भौतिक विकासका काम नभए पनि समाज बुझ्ने विश्वविद्यालय पाएको पाख्रिनको अनुभव छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राजनीति गर्दै क्याम्पस पढ्ने क्रममा बुझ्न नपाएको समाज उनी अहिले पढ्दैछिन् ।
उनलाई हाम्रो पहिलो प्रश्न थियो–
स्थानीय तहको इजलासमा पनि न्यायाधाीशले जसरी कालो कोट नै लगाउनुपर्ने नियम नै हो ?
सामान्यतः न्यायिक बिषय हेर्नेले कालो कोट लाउनुपर्छ भन्ने हिसाबले लगाएको । न्याय निरुपणका क्रममा कालो कोट लगाएर बस्दा मान्छेलाई मनोवैज्ञानिक प्रभाव परेको पनि पाइयो । त्यसैले यो अभ्यास गरेको ।
न्याय निरुपणबाट एउटा पक्ष जहिल्यै असन्तुष्ट हुन्छ, कत्तिको अपजश आइरहेको छ ?
सिन्धुपाल्चोक जिल्लाका पालिकाहरुमध्ये सबभन्दा धेरै उजुरी आउने बाह्रबिसे नगरपालिका नै होला । हामीले संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार मुद्दा हेर्ने हो । त्यसमा पनि हामी मेलमिलाप गराउनेमा केन्द्रित हुन्छौं । र पनि, यो अपजसे काम त हो नै ।
कस्ताखालका उजुरी बढी आउँछन् ?
सबभन्दा धेरै उजुरी श्रीमान–श्रीमतीका झगडा आउँछन् । म योसँग बस्नै सक्दिनँ भन्दै आउँछन् । हामीसँग एक त सम्बन्ध बिच्छेद गराउने अधिकार छैन, अर्को आवेशमा गरेको निर्णय ठीक हुँदैन । त्यसैले, सकेसम्म मेलमिलाप गराउँतिर लाग्छौं । घरेलु झगडापछि जग्गाको साँध सीमाना मिचेको, रुख काटिदिएको आदि उजुरी आउँछन् ।
श्रीमान–श्रीमतीको झगडाका मुद्दा बढी आउनुको कारण के होला ?
यसमा वैदेशिक रोजगारीको प्रभाव परेको देखियो । यस्ता मुद्दामा पुरुष पनि पीडित रहेको पाइयो । कतिपय श्रीमान यहाँ घरमा बच्चा हेरेर बसिरहेका छन् । तिनका श्रीमती वैदेशिक रोजगारीबाट फर्केपछि घर नगएको देखियो । श्रीमानले घर आउन भन्दा श्रीमती माइत वा अन्यत्र गएको उजुरी पनि आउने गरेका छन् ।
श्रीमान सोझो भएको फाइदा उठाएर श्रीमतिले अर्को पुरुषसँग सम्बन्ध राखेको उजुरी पनि आएका छन् । एकजना केटाले लाखौं खर्च गरेर धुमधामसँग विहे गरेछन् । केही समयपछि उनको नवदुलहीले सुटुक्क अर्को केटासँग बिहे गरिछन् । त्यस्तो उजुरी पनि आयो । त्यस्तोमा दुवैका परिवार राखेर केटालाई क्षतिपूर्ति दिलाउने प्रयास गर्यौं ।
यो दुई वर्षमा हामी कहाँ रहेछौं र हाम्रो समाज कता जाँदैछ भनेर बुझ्न पाइयो । नगरपालिका प्रमुख नै भएको भए पनि मैले यसरी समाजको चरित्र बुझ्न पाउने थिइनँ होला । मलाई त विश्वविद्यालय जस्तो भएको छ, उपप्रमुखको यो पद ।
हिजो मैले समाजको बाहिरी आवरणमात्र देखेको रहेंछु । भित्रभित्रै सामाजिक सम्बन्धहरु टुट्दैछन् । इजलासमा कतिपय केसले मलाई चकित बनाउँछ, भित्रभित्रै हल्लाउँछ ।
भन्नाले ? कस्तो केस छ त्यस्तो ?
कैयौं उदाहरणहरु आउँछन् । एउटा रुखको निहुँमा भएको मनमुटावले दाजुभाइलाई कहाँसम्म पुर्याउँछ भन्ने देखियो । मुख्यतः श्रीमान–श्रीमती र दाजुभाइको झगडाले हाम्रो समाजलाई कुन मोडमा पुर्याएको छ, हाम्रा सामाजिक सम्बन्धहरु कसरी विघटन हुँदैछन् भन्ने देखाउँछ ।
युवा पुस्तामा सानो मनमुटावमा पनि सम्बन्धविच्छेद नै गरिहाल्ने प्रवृत्ति बढेको छ । विवाहेत्तर यौन सम्बन्ध सम्बन्धी समस्या सोचिएभन्दा विकरालरुपमा बढेको छ ।
न्याय निरुपण बाहेक उपप्रमुखको अन्य दायित्वमा दुई वर्षको अनुभव कस्तो रह्यो ?
पहिलो वर्ष सिक्दासिक्दै बित्यो । हामीसँग संविधान बाहेक अरु कुनै ऐन–कानुन, कार्यविधि, नियमावली थिएनन् । अन्योलमै पहिलो वर्ष बित्यो भनौं । दोस्रो वर्ष नगरसभाबाट कार्यविधिहरु बनायौं । अहिले कामले गति लिँदैछ ।
समग्रमा उपप्रमुखको रुपमा म सन्तुष्ट छु भन्ने अवस्था नभए पनि न्यायिक समिति संयोजकको जिम्मेवारीमा खुशी छु । वास्तवमा योे नगर प्रमुखलाई भन्दा उपप्रमुखलाई बढी जनतासँग जोडिने जिम्मेवारी रहेछ ।
उपप्रमुखलाई अनुगमनको जिम्मेवारी पनि छ । योजना बाँडफाँड र अनुगमनको लागि उपप्रमुखले प्रत्येक टोलमा पुग्नुपर्छ । यी दुई कामबाट म सन्तुष्ट छु ।
धेरै स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच वैमनश्य देखिएको छ नि ?
देशभरकै पालिकाहरुमा उठेको गुनासो हो यो । प्रमुख र उप–प्रमुखले आ–आफ्नो तोकिएको जिम्मेवारी राम्रोसँग निर्वाह गर्दा यो विवाद आउँदैन । बाह्रबिसेमा हामीले त्यसै गरेका छौं ।
यो अलिकति व्यक्तिमा पनि भर पर्ने कुरा हो जस्तो लाग्छ । व्यक्तिले राजनीतिक भविष्य र समाजले आफूलाई कसरी हेरिरहेको छ भनेर हेर्यो भने यस्तो समस्या हुन्न होला ।
साभार अनलाइन खबर बाट