शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पर्यटन
  • कास्कीकाे हेमजामा आलु महोत्सव शुरु, आलुकाे गहनामा सजिए महिला

कास्कीकाे हेमजामा आलु महोत्सव शुरु, आलुकाे गहनामा सजिए महिला

  • शनिबार, चैत्र २३, २०७५
कास्कीकाे हेमजामा आलु महोत्सव शुरु, आलुकाे गहनामा सजिए महिला

पोखरा महानगरपालिका–२५ हेमजामा शुक्रबारदेखि १० औँ संस्करणको आलु महोत्सव शुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ’ भन्ने नाराका साथ स्थानीय विष्णुपादुका क्लबको आयोजनामा शुरु महोत्सव वैशाख १ गतेसम्म सञ्चालन हुनेछ ।

आलु तथा तरकारीको पकेट क्षेत्रको रुपमा परिचित यस ठाउँका कृषि उत्पादनको प्रदर्शनी तथा प्रचारप्रसार गर्ने र हेमजालाई व्यावसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको आयोजकको भनाइ छ । महोत्सवमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, जापानीज सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवं प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहेका छन् ।

 महोत्सवमा २८ कृषि, ९५ व्यापारिक तथा कूल १० वटा आलुका परिकारका कक्ष रहेको क्लबका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषि उत्पादनको माध्यमबाट हेम्जाले कृषि गाउँका रुपमा आफूलाई परिचित गराएको बताउनुभयो । मन्त्री थापाले यहाँका कृषकले भोग्नुपरेको शीतभण्डार, बिक्री केन्द्रलगायतका समस्यालाई प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सांसद दुर्गा विकले उत्पादनका माध्यमबाट यस ठाउँले देशको समृद्धिको अभियानमा योगदान गरेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बराल, विन्दुकुमार थापा, प्रभा कोइराला, वडा नं २५ का अध्यक्ष शोभाखर तिमिल्सिनालगायतले यस ठाउँका किसानको परिश्रमप्रति सम्मान व्यक्त गर्दै किसानका समस्या समाधान गर्न तीनै तहका सरकार प्रतिबद्ध रहेको भनाइ राख्नुभयो ।

महोत्सवको अवसरमा बर्दियाका कृषक कमल गिरीलाई नगद रु २५ हजारसहित राष्ट्रिय कृषक सम्मानबाट पुरस्कृत गरियो । त्यस्तै चन्द्रकान्त डुम्रे र अनन्तराज जैसीलाई नगद रु १५ हजारसहित प्रदेश उत्कृष्ट कृषक तथा जीवन केसीलाई नगद रु १० हजारसहित स्थानीय उत्कृष्ट कृषकबाट सम्मानित गरिएको थियो । सो अवसरमा कषि वैज्ञानिक डा भीमबहादुर खत्रीलाई पनि सम्मान गरिएको थियो । रासस

चर्चामा

सम्बन्धित समाचार