बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • पत्रपत्रिका
  • यता कोषमा २ अर्ब मौज्दात, उता हावाहुरी पीडितको बिचल्ली

यता कोषमा २ अर्ब मौज्दात, उता हावाहुरी पीडितको बिचल्ली

  • मङ्लबार, चैत्र १९, २०७५
यता कोषमा २ अर्ब मौज्दात, उता हावाहुरी पीडितको बिचल्ली

राजधानीबाट आज प्रकाशित सबै दैनिक पत्रिकाहरू बारा र पर्सामा आइतबार गएको विनाशकारी हावाहुरीमा केन्द्रित भएका छन् । हावा–हुरीको वर्णनसँगै त्यसले पुर्याएको क्षतिलाई आजका सबै दैनिक पत्रिकाहरूले ब्यानर समाचार बनाएका छन् ।

अन्नपूर्णलले ‘कहालीलाग्दो त्यो एक मिनेट’ शीर्षक दिएर आँधीको ताण्डवबारे मुख्य समाचार बनाएको छ । अन्नपूर्णका अनुसार, बारा र पर्सामा गएको आँधीहुरीको प्रकृति कस्तो हो भन्नेमा मौसमविद् नै अन्योलग्रस्त छन् ।

कान्तिपुरका अनुसार, असिनापानीसँगै आइतबार साँझ आएको शक्तिशाली हुरीमा मृत्यु हुनेको संख्या २७ पुगेको छ । ४ सयभन्दा बढी घाइते छन् । बाराको फेटा गाउँपालिकाको करिब २ सय किमिको सेरोफेरोमा सर्वाधिन जनधनको क्षति भएको छ । आधा घण्टामा करिब १८ किलिोमिटर विध्वंसकारी यात्रा गरेको शक्तिशाली हुरीले प्रत्येक बस्ती करिब ३ मिनेटमै तहसनहस बनाएको हो ।

कान्तिपुरका अनुसार, अधिकांशको मृत्यु च्यापिएर भएको छ । हुरीले कच्ची र पक्की घरसमेत भत्काउँदा अधिकांशको च्यापिएर मृत्यु भएको हो ।

नागरिकले हुरीले एकै परिवारका ४ सदस्यको ज्यान लिएको लेखेको छ । हावाहुरीले फेटा गाउँपालिकाका इजहार मियाँका ४ सदस्यको ज्यान गएको हो ।

नागरिकका अनुसार फेटा गाउँपालिका–३ र ६ का अधिकांश परिवारमा हुन्डरीले बज्रपात भएको छ । यहाँका आधाभन्दा बढी घर पूरै ध्वस्त भएका छन् । हुरीले अधिकांश घरमा कुनै न कुनै रुपमा नोक्सानी पुर्याएको छ ।

राजधानीले ‘पीडितको बिचल्ली, कोषमा २ अर्ब मौज्दात’ शीर्षक दिएर हावाहुरीपीडितको राहतमा देखिएको कमजोरीबारे लेखेको छ ।

समाचार अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात छ । तर, सरकारले बारा र पर्सामा हावाहुरीबाट परिवार गुमाएका र बिचल्लीमा परेकाका लागि सहयोग पठाउन नसकेको लेखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयबाट माग नभएकाले सो रकम नपठाएको जनाएको छ । ‘कोषमा २ अर्ब रुपैयाँभन्दा बढी रकम छ । गृह मन्त्रालयले माग गर्नासाथ रकम पठाउँछौं’ प्रधानमन्त्री कार्यालयका एक अधिकृतलाई उद्धृत गर्दै राजधानीले लेखेको छ ।

हावाहुरीले पुर्याएको क्षतिलाई कारोबारले आर्थिक दृष्टिले लेखेको छ । कारोबारका अनुसार पाँच मिनेटको हावाहुरीले अर्बौं क्षति पुगेको छ । हुरीले पुर्याएको क्षतिको यकिन विवरण भने कारोबारमा छैन ।

चर्चामा

सम्बन्धित समाचार