शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पर्यटन
  • खप्तडमा प्रदेशले बनाउने पर्यटन विकास समिति कस्तो ?

खप्तडमा प्रदेशले बनाउने पर्यटन विकास समिति कस्तो ?

  • सोमवार, चैत्र १८, २०७५
खप्तडमा प्रदेशले बनाउने पर्यटन विकास समिति कस्तो ?

थापना कालदेखि नै भ्रष्टाचारको आरोप खेपेर खारेज भएको खप्तड क्षेत्र पर्यटन विकास समिति फेरी प्रदेश सरकारले ब्युताउने तयारी गरेको छ। संघीय सरकारले खप्तड क्षेत्र पर्यटन विकास समिति खारेज गरेपछि खप्तड क्षेत्र विकास तथा व्यवस्था समिति गठन गर्न प्रदेश मन्त्रीपरिषद् बैठकबाट स्वीकृती प्राप्त भईसकेको छ। प्रदेशले बनाउने समितिमा पनि राजनीतिक नियुक्ती नै हुने प्रदेशको उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयका प्रवक्ता यज्ञमुर्ती खनालले बताए।

खुलेयाम भ्रष्टाचार र अनियमिततापछि भएका मुद्दामामिला र विवादका कारण पर्यटन मन्त्रालयले बजेट कटौती गरेसंगै २०६३ सालमा गठन भएको खप्तड पर्यटन विकास समिती २०७५ मा खारेज भएको थियो। खप्तडको नाममा चार जिल्लाका राजनीतिक दलहरुले कार्यकर्ता पोस्ने काम गर्न थालेपछि विकास समिती गठन भएदेखि उपलव्धी हासिल गर्न सकिएको थिएन्।

अव प्रदेशले बनाउने समिति पनि प्रदेशको मन्त्रीपरिषद्को निर्णय अनुसार हुने छ। समितिको कार्यविधिमा यस क्षेत्रमा ख्याती प्राप्त एक जनालाई समितिको अध्यक्ष बनाउने उल्लेख छ। यस्तै खप्तड जोडिएको चार वटै जिल्लाका जिल्ला समन्वय समितिका अध्यक्ष, खप्तडको विकासका लागि योगदान पुगाएका व्यक्ति र पर्यटन प्रवद्धनमा सक्रिय व्यक्तिलाई समितिको सदस्यमा नियुक्त गर्ने मन्त्रालयका प्रवक्ता खनालले बताए।

विगतको समितिले १० बर्षको अवधीमा २१ करोड खर्च गरेपनि अहिले सम्म त्यस्को उपलव्धी देखिएको छैन्। खप्तड क्षेत्र पर्यटन विकास समितीका पुर्व अध्यक्ष पुर्णराज जोशीले सुरुवातदेखि नै समिति विवादीत भएपनि केहि काम गर्न नसकेको स्वीकार गरे।

विकास समितिको नव निर्मित अढाइ तलाको कार्यालय भवन निर्माण पुरा नहुँदै जिर्ण हुने अवस्थामा पुगेको छ। महसुल नतिरेको भन्दै टेलिफोन, विद्युतको लाइन समेत काटिएको थियो। खप्तडमा बनाउनुपर्ने गेस्ट हाउस, पदमार्ग, भ्यू टावर, पुलहरू, सांकेतिक चिह्न लगायत पर्यटकका लागि आवश्यक टेन्ट, लुगा कपडा, घोडा खरिदका लागि १० वर्षको अवधिमा २१ करोड बजेट खर्च गरिएको छ।

तर काम अधिकांश अधुरा छन्। एकै बर्ष ७ करोड बजेट आएको समयमा पर्यटन विकास समितिको अध्यक्षमा अहिलेका मुख्यमन्त्री त्रिलोचन भट्ट रहेका थिए। सो बेला माओवादीका कार्यकर्ताहरूले कामै नगरी उपभोक्ता समिति गठन गर्दै रकम हिनामिना गरेको आरोप लाग्दै आएको छ।

सो बेलामा ५ सय थान टेन्ट र ४० वटा घोडा खरिदको बिल पेश भएको थियो। पछि भ्रष्टाचारको आरोपमा मुद्धा परेपछि टेन्ट रामारोशन महोत्सवमा आगलागि भएर नष्ट भएको तथा खप्तड पुगाएका घोडा हड्डी देखाएर बाघले खाएको मुचुल्का तयार पारिएको थियो।

खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्ष बन्नका लागि होडबाजी गर्ने र अध्यक्ष तथा सदस्य बनिसकेपछि खप्तडको विकासका लागि आएको बजेट आफ्नो खल्तीमा हाल्ने परिपाटीले खप्तडमा आवश्यक संरचनाको अझै अभाव छ। त्यो परिपाटी प्रदेशको समितिमा पनि जारी रहने आशंका बढेको छ।

दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार