बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • स्वास्थ्यमा कुन प्रदेशमा कति कर्मचारी समायोजन, कति दरबन्दी कायम?

स्वास्थ्यमा कुन प्रदेशमा कति कर्मचारी समायोजन, कति दरबन्दी कायम?

  • शुक्रबार, चैत्र १५, २०७५
स्वास्थ्यमा कुन प्रदेशमा कति कर्मचारी समायोजन, कति दरबन्दी कायम?

काठमाडौं– सरकारले स्वास्थ्य सेवातर्फका २७ हजार ३ सय २ कर्मचारीको समायोजन गरेको छ। समायोजन सकिएको घोषणा भए पनि हालसम्म स्वास्थ्य सेवातर्फको सूची भने सार्वजनिक भएको छैन।

‘कुन कर्मचारीको कहाँ समायोजन भएको छ भन्ने निश्चित भइसकेको छ, बिहीबार साँझसम्म वेबसाइडमा राख्छौँ, केही प्राविधिक प्रक्रियाका कारण ढिलो भएको हो,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने।

सात प्रदेशमा २ हजार ३ सय ९४ कर्मचारीको समायोजन गरिएको छ। सबैभन्दा बढी प्रदेश ५ मा ५ सय ६४ कर्मचारी समायोजन भएका छन्।

प्रदेश १ मा ३ सय ७३, प्रदेश २ मा ३ सय ३०, प्रदेश ३ मा ३ सय ७१, गण्डकी प्रदेशमा ३ सय ३५, प्रदेश ५ मा ५ सय ६४, कर्णाली प्रदेशमा २ सय र सुदूरपश्चिम प्रदेशमा २ सय २१  कर्मचारी समायोजन भएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघअन्र्तगत २ हजार ७५ कर्मचारी समयोजन भएका छन्। सरकारले स्थानीय तहमा २२ हजार १ सय ७६ स्वास्थ्यका कर्मचारीको समायोजन गरेको छ।

समायोजन भएका कर्मचारीले आफ्ना गुनासाका लागि गुनासो व्यवस्थापन समिति गठन गरेको  छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा कर्मचारी समायोजन संयोजक केदारप्रसाद पनेरुले कर्मचारीले चैत २० गतेसम्म निवेदन दिनसक्ने जानकारी दिए।

उनले कर्मचारी समयोजनबारे गुनासा सुन्ने, सोको व्यवस्थापन गर्ने तथा फाजिल कर्मचारी एवं बिरामी, अशक्त भएका कर्मचारीको निवेदनको छिनोफानो चैत महिनाभित्रै सक्ने प्रयास भएको बताए।

साविकका क्षेत्रीय अस्पताल, उपक्षेत्रीय अस्पताल, अञ्चल अस्पताल तथा जिल्ला अस्पतालहरुलाई प्रदेशमा हस्तान्तरण गरिएको छ। स्वास्थ्य सेवातर्फ ४ हजार ९८ दरबन्दी कायम गरिएको छ। जुन प्रदेशको कूल दरबन्दीको १८ दशमलब ५ प्रतिशत भएको मन्त्रालयको भनाइ छ।

साथै, पछि थपिएका दुई जिल्लामा जिल्ला अस्पतालसमेत थप गरी दरबन्दी कायम गरिएको छ।

स्थानीय तहमा स्वास्थ्यको अधिकृत र सहायक गरी २५ हजार ६ सय ५४ दरबन्दी कायम भएको छ। जसअन्र्तगत अधिकृत २ सय १० र सहायक २५ हजार ४ सय ४४ कर्मचारीको दरबन्दी कायम भएको छ।

स्थानीय तहको कूल दरबन्दीको ३८ प्रतिशत स्वास्थ्य सेवाको दरबन्दी कायम गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

४ हजार १७ स्वास्थ्य संस्थाहरुबाट स्थानीय तहको स्वास्थ्य सेवा प्रवाह हुने, ३ सय ८ आयुर्वेद औषधालय सम्बन्धित स्थानीय तहको मातहत हुनेगरी हतान्तरण भएको र २७ प्राथमिक अस्पताललाई सम्बन्धित स्थानीय तह मातहतमा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता अधिकारीले संघअन्र्तगत ल्याइएका पाँच अस्पतालका कर्मचारीलाई संघअन्र्तगत व्यवस्थापन गरिएको जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार