शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पत्रपत्रिका
  • विप्लवको हेर्डक्वार्टरमै चिरा, पार्टीले अविश्वास गरेपछि प्रकाण्ड निस्क्रिय

विप्लवको हेर्डक्वार्टरमै चिरा, पार्टीले अविश्वास गरेपछि प्रकाण्ड निस्क्रिय

  • आइतवार, चैत्र १०, २०७५
विप्लवको हेर्डक्वार्टरमै चिरा, पार्टीले अविश्वास गरेपछि प्रकाण्ड निस्क्रिय

१० चैत, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका नेता हेमन्तप्रकाश ओली सुदर्शन पक्राउ र त्यो पार्टीभित्र देखिएको मतान्तर आजका दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । त्यस्तै, सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन, गुमनाम प्रदेश प्रमुख र विद्यार्थी राजनीतिको पछिल्लो प्रवृत्तिलाई पनि आजका पत्रिकाहरुले केलाएका छन् ।

कान्तिपुरले विप्लव नेतत्वको नेकपाको अन्तरकुन्तर केलाएको छ । तेस्रो वरीयताका नेता विप्लवसहित ९ नेता पक्राउपछि ठूलो धक्का खाएको यो समूहका अन्य नेता पनि निगरानीमा रहेको समाचारमा उल्लेख छ । विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएर सरकारले कडाइ गरिरहेका बेला त्यो पार्टीमा भने विवाद चुलिएको छ । समाचार अनुसार विप्लवका अति विश्वासपात्र मानिएका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पछिल्लो समय एक्लिएका छन् । सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेका गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएको कान्तिपुर समाचारको सार छ ।

कान्तिपुरका अनुसार, शंकाको घेरामा रहेका प्रकाण्ड अहिले विप्लवसँग सम्पर्कमा समेत छैनन् । हाल उपत्यकामै रहेका उनी निष्क्रियजस्तै छन् । उनलाई विज्ञप्ति जारीलगायतका काम नगर्न निर्देशन दिइएको छ ।

कान्तिपुरजस्तै नेपाल साप्ताहिकले पनि विप्लवको हेर्डक्वार्टर नै विभाजित बनेको लेखेको छ ।

नेपाल साप्ताहिक लेख्छ– विप्लव समूहको राजनीतिक संगठन भने निकै कमजोर छ । स्थायी कमिटीका नेताहरु विभाजित देखिन्छन् । भातृ संगठनमा पकड राख्न नेताहरुबीच होडबाजी देखिन्छ । आफूअनुकूल नेतृत्व नछानेपछि नेता खड्गबहादुर विश्वकर्माको पहलमा पत्रकार संगठनका पाँच नेता निष्कासनमा परे ।

नेपालका अनुसार, आर्थिक विवादमा समेत फसेको छ, विप्लवको पार्टी । आर्थिक विभाग प्रमुख प्रकाण्ड र सुदर्शनबीच विवाद झ्याँगिएर पाँच सदस्यीय स्थायी कमिटी नै विभाजित छ ।

तोकिएभन्दा बढी शुल्क असुल्दै आएको वीरगञ्जको नेसनल मेडिकल कलेजले समयमा रकम नबुझाउने विद्यार्थीसँग त्यसको ब्याजसमेत उठाउने गरेको खुलासा आजको कान्तिपुरले गरेको छ । समाचार अनुसार मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष बसरुद्धिन अन्सारी सञ्चालक रहेको कलेजले ब्याजबापत प्रतिविद्यार्थी हजारौं रुपैयाँ असुलिसकेको छ । २ लाख रुपैयाँ लिँदा १५ हजार ब्याज उठाइएको छ ।

अन्नपूर्णले सातवटै प्रदेशका प्रमुखको सोधीखोजी गरेको छ । ‘गुमनाम प्रदेश प्रमुख’ शीर्षक समाचारमा अन्नपूर्णका खगेन्द्र भण्डारी लेख्छन्– अघिल्लो वर्ष माघ ३ गते सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्यो । प्रदेश प्रमुखमा नियुक्त व्यक्तिहरुको निकै चर्चा भएको थियो । तर यतिबेला उनीहरु निष्क्रियजस्तै छन् ।

अन्नपूर्ण अगाडि लेख्छ– प्रदेश प्रमुख नियुक्त हुनुअघि उनीहरु आ–आफ्नो क्षेत्रमा सक्रिय र परिचित थिए । पाँच वर्षका लागि नियुक्त प्रदेश प्रमुख पहिलो वर्षमै गुमनाम भएका छन् । सेरेमोनियल राष्ट्रपतिको चर्चा सञ्चारमाध्यममा भइरहे पनि अधिकांश प्रदेश प्रमुखका गतिविधिबारे आमनागरिक बेखबर छन् । स्वाइनफ्लुबाट पर्सामा १ जनाको मृत्यु भएको खबर पनि अन्नपूर्णमा छ ।

ठूला मुद्दा छाडेर सानो मुद्दामा अख्तियार अल्झेको निष्कर्ष राजधानीले निकालेको छ । समाचार अनुसार अकुत सम्पत्तिसम्बन्धी ७० मुद्दाको छानबिन नै नगरी तामेलीमा राखेको आयोगले खुद्रा मुद्दामा भने चासो दिइरहेको छ ।

नागरिकले ‘चीनले चिनेका नेपाली वैज्ञानिक’ शीर्षकमा चीनमा ख्याति कमाएका नेपाली वैज्ञानिकबारे एक सामग्री छापेको छ ।

चर्चामा

सम्बन्धित समाचार