शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • आजका पत्रिका : ताप्लेजुङमा बारम्बार किन हुन्छ हवाई दुर्घटना ?

आजका पत्रिका : ताप्लेजुङमा बारम्बार किन हुन्छ हवाई दुर्घटना ?

  • शुक्रबार, फाल्गुन १७, २०७५
आजका पत्रिका : ताप्लेजुङमा बारम्बार किन हुन्छ हवाई दुर्घटना ?

१७ फागुन, काठमाडौं । काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरु आज पनि मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी भएको हेलिकप्टर दुर्घटनाकै विषयमा केन्द्रित भएका छन् । त्यस्तै, भारत–पाकिस्तान तनाव, नेकपाको एकता प्रक्रियालगायत विषयलाई पनि आजका पत्रिकाहरुले समेटेका छन् ।

नागरिकले हेलिकप्टर दुर्घटनाको सम्भावित कारणमाथि केन्द्रित रहेर मुख्य समाचार लेखेको छ ।

नागरिकका अनुसार स्थानीयले बाटो बिराएका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताएका छन् भने केहीले क्षमताभन्दा बढी वजन बोकेकाले भार थेग्न नसकी हेलिकप्टर भुइँमा झरेको बताएका छन् ।
उच्चपदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटनामा परिरहँदा उडानका लागि ताप्लेजुङको आकाशमाथि नै प्रश्न उठेको नागरिकले लेखेको छ । यसबारे चर्चा गर्दै नागरिकले लेखेको छ– बुधबारजस्तै ०६३ असोज ७ गते ताप्लेजुङको फलेस्थित ढुंगे पहाडमा भउको दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको ज्यान गएको थियो । ताप्लेजुङमा १३ वर्षअघि पनि यस्तै दुर्घटना भएको थियो । घटना दोहोरिएसँगै यसको कारण अनुमान लगाउनेहरुले अनेक बहस थालेका छन् ।

लामो समय ताप्लेजुङस्थित नेपाल वायुसेवा निगमको स्टेशन इञ्चार्ज भएर काम गरी अहिले सेवा निवृत्त भएका हेमन्तकुमार उप्रेतीले जहाज दुर्घटनामा ताप्लेजुङको आकाश दोषी नभएको नागरिकलाई बताएका छन् । ‘आकाश र भूगोललाई होइन, छिनछिनमा परिवर्तन भइरहने यहाँको मौसमलाई केही भन्न सकिएला’, उप्रेती भन्छन्, ‘मौसमलाई चुनौती दिने प्रयास गरे दुर्घटनाको सम्भावना बलियो हुन्छ ?’ पर्यटन व्यवसायी पिछोवाङ शेर्पा र ईश्वरी पौडेलले पनि ताप्लेजुङको आकाशलाई दोष दिनु राम्रो नहुने स्पष्ट पारे ।

भारत–पाकिस्तानबीच केही दिनदेखि बढेको तनाव थामिने संकेत देखिएको विश्लेषण नागरिकले गरेको छ । पाकिस्तानले बुधबार नियन्त्रणमा लिएका भारतीय लडाकु विमानका पाइलट अभिनन्दनलाई शुक्रबार रिहा गर्ने निर्णय गरेसँगै दुई मुलुकबीचको तनाव थामिने संकेत देखिएको नागरिकको अनुमान छ ।

हेलिकप्टर दुर्घटनाका मृतकको शव निकाल्न सैनिकहरुले गरेको संघर्षको तस्वीर छापेको कान्तिपुरले विना तयारी मन्त्रीसहितको टोली ताप्लेजुङ पुगेको लेखेको छ । कान्तिपुरका अनुसार प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायले थाहा पाउँदासम्म टोली मन्दिर पुगिसकेको थियो ।

जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाउँदा नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएको अर्को खबर पनि कान्तिपुरमा छ ।
अन्नपूर्णले ‘बाबा आउने बाटो हेर्दै रवीन्द्रका छोरा’ शीर्षक दिएर बाबु गुमाएका रवीन्द्रका छोराको मनोदशाबारे मर्मस्पर्शी सामग्री छापेको छ ।

पोखराबाट केशवशरण लामिछाने लेख्छन्– दिनभर घरमा शुभेच्छुकको भीड लागिरहँदा स्वराज अधिकारी बार्दलीबाट भीड नियाल्दै थिए । उनी घरी भित्र गएर हजुरआमालाई सुम्सुम्याउँथे त घरी बाहिर आएर भीड नियाल्थे । रवीन्द्रका ८ वर्षीय छोरा स्वराज कतै बाबा आइहाल्छन् कि भनेर बिहीबार बाटो हेरिरहेका थिए ।’

ज्युँदो बाबुलाई मरेको भन्दै कीर्ते गरेर नेपाली नागरिकता लिएको खबर पनि अन्नपूर्णको पहिलो पृष्ठमा पढ्न सकिन्छ । भारत बिहारका शम्भुप्रसाद साहले स्व अनुपलाललाई बाबु भनेका छन् । उनका बाबु विश्वनाथ भने जीवितै छन् ।

पञ्चेश्वर विवाद यथावत् रहेकोलाई अन्नपूर्णले एंकर बनाएको छ ।

राजधानीले आईएनजीओ र एनजीओले १ खर्ब ९ अर्ब लगानी गरेको लेखेको छ भने गोरखापत्रमा नेकपाका नेताहरुले दिवंगत मन्त्री अधिकारीको सम्झना गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार