शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पत्रपत्रिका
  • छापामा आज : ढुंगा–गिट्टीको व्यापार, जनप्रतिनिधिको अनुहार

छापामा आज : ढुंगा–गिट्टीको व्यापार, जनप्रतिनिधिको अनुहार

  • आइतवार, फाल्गुन १२, २०७५
छापामा आज : ढुंगा–गिट्टीको व्यापार, जनप्रतिनिधिको अनुहार

१२ फागुन, काठमाडौं । राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरु आज पनि एनसेल टावर विस्फोटमै केन्द्रित भएका छन् । ललितपुरसहित देशभरका १० जिल्लाका एनसेल टावरमाथि शुक्रबार एकैपटक आक्रमण भएको थियो ।

त्यस्तै, जनप्रतिनिधिको ढुंगागिटी व्यापार, राउटेले सुरु गरेको जागिरलगायत विषयको चर्चा पनि आजका पत्रिकाहरुले गरेका छन् ।

आइतबार प्रकाशित हुने हिमाल साप्ताहिकले ‘ढुंगागिट्टीको व्यापार, जनप्रतिनिधिको अनुहार’ शीर्षक दिएर प्राकृतिक स्रोत दोहनमा उत्रिएका देशभरका जनप्रतिनिधि तथा दलका नेताबारे एक रिपोर्ट छापेको छ ।

हिमालका अनुसार, नदी–खोलाजन्य पदार्थ संकलन र बिक्री–वितरणको व्यवसायमा संलग्न नेता र जनप्रतिनिधिहरुले स्थानीय सरकारको अधिकारको चरम दुरुपयोग गरिरहेका छन् ।

यसरी पदीय जिम्मेवारीविपरीत ढुंगा–गिटीको व्यापारमा लाग्नेमा सिन्धुपाल्चोक, काभ्रे र धादिङका जनप्रतिनिधि बढी छन् । हिमालका अनुसार, चौतारा साँगाचोकगढीका मेयर अमानसिंह तामाङ, बर्दिबास नगरपालिकाका मेयर विदुर कार्की, भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल, बाह्रबीसे नगरपालिकाका मेयर निम्फुन्जो शेर्पा र धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ प्राकृतिक दोहन गर्दै ढुंगा–गिटीको व्यापार गरिरहेका छन् ।

स्थानीय तहका जनप्रतिनिधि मात्रै नभएर सांसद् पनि यो धन्दामा लागेका छन् । धादिङका सांसद् भूमि त्रिपाठी, काभ्रेका गंगाबहादुर तामाङ हुन् या तीर्थ लामा सबैजना ढुंगा गिट्टीको व्यापार चलाइरहेका छन् । सिन्धुपाल्चोकका प्रदेश सांसदको धन्दा पनि प्राकृतिक स्रोत दोहन गर्नु नै हो । ढुंगा गिटीमा जनप्रतिनिधिका अतिरिक्त नेताहरुको पनि उत्तिकै लगाब छ । कांग्रेस धादिङका नेता विश्व अर्याल, प्रभातकिरण सुवेदी दुवैले प्राकृतिक स्रोत दोहन गर्दै आएका छन् । हिमालका अनुसार नेकपा नेता राजेन्द्र पाण्डेका छोरा प्रकाश पाण्डे पनि यसैमा रमाइरहेका छन् ।

धनगढी प्रिमियर लिग विजेताको तस्वीर छापेको कान्तिपुरले देशभरका एनसेल टावरमाथि भएको विस्फोटले गृह प्रशासनमाथि गम्भीर सुरक्षा चुनौती बढाएको निष्कर्ष निकालेको छ ।

कान्तिपुरले जस्तै नागरिकले पनि एनसेल टावरमाथि भएको आक्रमणकै विषयलाई मुख्य समाचार बनाएको छ । चन्दामा कुरा नमिलेपछि एनसेनलाई तर्साउन विस्फोट गराइएको निष्कर्ष नागरिकको छ ।

राउटेले जागिर थालेको अर्को खबर पनि नागरिकमा छ । नागरिकका अनुसार पूर्वमुखिया महिनबहादुरसहितका ५ जनाले दैलेखको सामाजिक सेवा केन्द्रमा राउटे सामाजिक कार्यकर्ता पदमा जागिर सुरु गरेका हुन् ।

राजधानीले विदेशस्थित नेपाली दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावासको लागि आफ्नै भवन खरिद पहिलो प्राथमिकता भए पनि घरभाडालाई नै बढी जोड दिने गरेको लेखेको छ ।

अनलाइन खवरबाट

चर्चामा

सम्बन्धित समाचार