शुक्रबार, चैत्र १६, २०८०

  • बिहिबार, माघ २४, २०७५

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा एनसेल लाभकर परेको छ । सर्वोच्च अदालतले बुधबार एनसेल र एक्जिएटाबाट लाभकर असुल्न गरेको परमादेशलाई आजका पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा उतारेका छन् ।

यससँगै, नेकपा कार्यदलभित्रको गलफती, विद्युत्त चुहावटमा आएको सुधार, मुलुकको अर्थतन्त्रको सोधीखोजी आजका पत्रपत्रिकाहरुले गरेका छन् ।

एनसेल कर विवादबारे सबै दैनिक पत्रिकाले मुख्य समाचार बनाए पनि नयाँ पत्रिकाले भने मुलुकको अर्थतन्त्रबारे सोधीखोजी गरेको छ । नयाँ पत्रिकाका अनुसार, नेपाल राष्ट्र बैंकमा रहेको सरकारको खातामा २ खर्ब २२ अर्ब रुपैयाँ थुप्रिएको छ । केन्द्रीय सरकारको १ अर्ब ७१ अर्ब र स्थानीय तहको ५१ अर्ब रुपैयाँ खर्च नभएर निष्क्रिय भएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका लेख्छ– ६ महिनामा १८ प्रतिशत मात्र विकास खर्च भएको छ । ढुकुटीमा नगद प्रवाह नहुँदा बजारमा तरलता अभाव भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण कार्यदलभित्रै चर्को असन्तुष्टि देखिएको अर्को खबर पनि नयाँ पत्रिकामा छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टी नेतृत्वलाई प्रयोग गर्नेहरुले कार्यदल असफल भएको प्रचार गराएको भन्दै कार्यदलकै नेताहरु असन्तुष्ट बनेको नयाँ पत्रिकाले लेखेको छ ।

एनसेल आयकरबारे सर्वोच्चले गरेको फैसलालाई मुख्य समाचार बनाएको नागरिकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने लेखेको छ । असारमा परीक्षण उडान गर्नेगरी विमानस्थल निर्माण धमाधम भइरहेको छ ।

नागरिक लेख्छ– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो । जसको १३ असारमा परीक्षण उडान गर्ने तयारी छ ।

अन्नपूर्णले एनसेल आयकरसँगै विद्यमान छुवाछुतबारे समाचार बनाएको छ । अन्नपूर्णका अनुसार ओखलढुंगामा दलित जनप्रतिनिधिलाई योजना छनौटमा निषेध गर्ने र बजेटसमेत रोकिएको छ ।

अन्नपूर्ण लेख्छ– सिद्धीचरण नगरपालिका १२ का वडा सदस्य सुनीता नेपालीले सडकबाट दलित बस्तीसम्म जाने घोडेटो बाटो र खानेपानीका लागि योजना माग गरेको दुईपटक भयो । योजना सूचीमा राखिन्छ । तर बजेट पर्दैन । दलित भएकै कारण सुनुवाइ नभएको उनले गुनासो गरिन् ।

अन्नपूर्णकै पहिलो पृष्ठमा विद्युत्त चुहावट घटेकोदेखि सुटिङ गर्न विदेश जाने कल्चरसम्मको चर्चा छ ।

रुकुम पश्चिमका आन्दोलित स्थानीयको तस्वीर छापेको कान्तिपुरले ‘सर्वोच्चको आदेशः कर आजियता र एनसेलबाटै’ शीर्षक दिएर मुख्य समाचार छापेको छ । प्रधानमन्त्री केपी ओली र अमेरिकी राजदूतबीच भएको कुराकानीको विषयलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा लेखेको छ ।

चर्चामा

सम्बन्धित समाचार