• होमपेज
  • समाचार
  • ग्रामीण सडकमा जताततै पहिरो

ग्रामीण सडकमा जताततै पहिरो

  • सोमवार, साउन ५, २०७७
ग्रामीण सडकमा जताततै पहिरो

स्थानीय तहले निर्माण गरेका अधिकांश सडक पहिरोले अवरुद्ध भएका छन् । वातावरणीय प्रभाव मूल्यांकनबिना डोजर लगाएर जथाभावी खनिएका सडकका कारण जताततै पहिरो खसेको हो । कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–जुम्ला सडक र कर्णाली करिडोर खुलालु–लैफु सडकबाट विभिन्न गाउँ जोड्न केही वर्षयता स्थानीय तहबीच प्रतिस्पर्धा छ । वर्षा सुरु भएदेखि नै सबै ग्रामीण सडक बन्द भएको जिप चालक टेकबहादुर खत्रीले बताए ।

‘सबैजसो सडकमा पहिरो छ,’ उनले भने, ‘पहिरो नखसेका ठाउँमा पनि हिलोले गाडी चलाउन मुस्किल हुन्छ ।’ गाउँ जोड्न खनिएका शाखा सडकबाट बगेको ढुंगामाटोले सुर्खेत–जुम्ला सडक पनि हिलाम्य बनेको उनको भनाइ छ । स्थानीय शाखा सडकबाट बगेको ढुंगामाटो र पहिरोले कर्णाली राजमार्ग जोखिमपूर्ण बनेको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज दानसिंह भण्डारीले बताए । उनका अनुसार कारोना महामारीका कारण कर्णाली राजमार्गमा पनि फाट्टफुट्ट मात्र गाडी चलिरहेका छन् । ग्रामीण सडकका कारण कर्णाली राजमार्गको दैलेख, कालीकोट र जुम्ला खण्डको अधिकांश ठाउँमा पिच उप्किएको छ ।

हिउँदयाममा सञ्चालनमा आएर जिल्लाभरिका एक दर्जन बढी ग्रामीण सडक बन्द भएका छन् । पानी परेको बेला कर्णाली राजमार्गमा पनि गाडी चल्न गाह्रो हुने यातायात व्यवसायी हस्त बमले बताए । उनका अनुसार सान्नीगाड–मेहेलमुडी, रेगिंल–सेरिज्युला, लालीघाट–कुमालगाउँ, आरसीपी–फुकोट, भुराबगर–भिटा–नानीकोट, पलाता–बाख्रेबजार–धौलागोह–राडुनेटा, सेरी–भर्ता, खाडाचक्रको पिली–पाखालगायत ग्रामीण सडक बन्द भएको २ साता नाघेको छ । नयाँ खनिएको सडक भएकाले पहिरो र हिलोका कारण गाडी चल्न समस्या भएको नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । उनका अनुसार केही सडकमा स्तरोन्नति थालिएको छ ।

जिल्लाका ९ वटै स्थानीय तहले पूर्वाधारको बढी रकम ग्रामीण सडकमा खर्च गरेका छन् । एउटै ग्रामीण सडकमा ३ देखि ६ करोडसम्म खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । एक कोलेनिका कर्मचारीका अनुसार सडकको नाममा कालीकोटमा बेथिति बढिरहेको छ । उनले डोर हाजिरीमा कामदारले काम गरेको देखाए पनि अधिकांश काम डोजरमार्फत भएको दाबी गरे । कालीकोटका स्थानीय तहले गत वर्ष मात्र सडक निर्माणमा ५० करोड रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । यस वर्ष पनि त्यही हाराहारीको रकम विनियोजन भएको छ ।

कर्णाली राजमार्गमा ठाउँठाउँ पहिरो

वर्षा सुरु भएसँगै कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकको ठाउँठाउँमा पहिरो खसेको छ । पहिरोले दैलेख र कालीकोटको सिमाना दही खोला, गगने खोला, मान्मको सुनार खोला र कालीकोटको टाकुल्ला खोला बढेर गाडी चल्न समस्या भएको यातायात व्यवसायीको गुनासो छ ।

कालीकोटको तिलागुफा–८ मा पर्ने टाकुल्ला खोलामा ८ वर्षअघि पक्की पुलका लागि ठेक्का भए पनि अहिलेसम्म पुल नबन्दा यात्रुले वर्षौंदेखि सास्ती भोगिरहेका छन् । वर्षामा गाडी तर्न नसकेर त्यहीं लाम लाग्ने गरेको तिलागुफा नगरप्रमुख रतनबहादुर शाहीले बताए ।

त्यस्तै, पुल नबन्दा दैलेखको घट्टे खोला र रती खोलामा पनि यात्रुले सास्ती पाइरहेका छन् । यस वर्ष कोरोना कहरमा पनि स्थानीय तहका जनप्रतिनिधिले बजेटको ५० प्रतिशत रकम सडक खन्नमै खर्चिए पनि गतिलो काम नभएको कांग्रेस नेता नन्दबहादुर शाहीले बताए । विकास बजेट मनपरी रूपमा खर्च हुँदा आफन्तलाई काम दिने र डोजरबाट कमिसन खाने काम भइरहेको उनले दाबी गरे । ‘सबै तहले खर्च गरेको बजेटको निष्पक्ष छानबिन हुनुपर्छ,’ उनले भने, ‘कतिपय स्थानीय तहले कामभन्दा पनि कागज मिलाएर बजेटको दुरुपयोग गरिरहेका छन् ।’

जथाभावी सडकले पहिरो

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा गत मंगलबार ६ जना पहिरोमा परे । दुई जनाको उद्धार भयो, तीन जनाको शव भेटियो । एक अझै बेपत्ता छन् । पहिरोसँगै २० मिटर तलसम्म बगेर घाइते बनेका स्थानीय ६८ वर्षीय होमनाथ पाण्डे उपचाररत छन् ।

कालीगण्डकीको बिर्घा हुँदै रिडी जोड्ने उक्त सडकका कारण गएको पहिरोले चार परिवार विस्थापित भएका छन् । ‘सडकले नै ठूलाठूला पहिरो निम्त्याएको छ । कुनै पनि वर्ष सुखले बिताउन नपाइने भयो । यस पटकको पहिरोले त ज्यानै लियो,’ पहिरोमा घाइते भएका पाण्डेले भने, ‘हामीले नै निम्त्याएको विपत् हो । सुविधा लिन जहाँतहीं सडक खन्यौं । वन र डाँडापाखामा उधिनियो अहिले त्यसको सिकार हामी नै भयौं ।’

असार २६ मा पोखरा महानगर–१८ सराङकोटमा पहिरोमा परी पाँच जनाले ज्यान गुमाए । पहिरोले पुरेको घर मोटरबाटोभन्दा झन्डै डेढ सय मिटर तल पर्छ । १५ किलोमिटर सडकमध्ये आधा कालोपत्रे भएको छ । गत आवमा पहिरो गएकै स्थान पँधेलीसम्म कालोपत्रे गरिसक्नुपर्ने सम्झौता भए पनि ठेकेदारले लकडाउनको बहाना बनाउँदै बाटो अधकल्चो छाडेका छन् । महानगरबाट उल्टै म्याद थप भएको छ । सडकको पहिरो हटाउन कसैले वास्ता नगरेको स्थानीय शेरबहादुर थापाले बताए ।

गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले असारे विकास र बिनाइन्जिनियर जथाभावी खनिएका सडकले ज्यानै जाने क्रम बढेको बताए । प्रदेशसभाको हालैको बैठकमा उनले भने, ‘असारे विकासले नै क्षति पुर्‍याएको छ । विकासको बहानामा असारमा पैसा सक्नुपर्ने हुँदा गुणस्तरीय सडक बन्न सक्दैनन् । सराङकोटको घटना पनि असारे विकास प्रमुख कारण हो ।’ इन्जिनियरिङ, सर्वेक्षण र डिजाइनबिनै सडक खन्दा जोखिम बढेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द मरहट्टाले बताए । ‘बिनामापदण्ड, आवश्यकताभन्दा बढी सडक खन्ने, सडकले प्रत्येक घर छुनुपर्ने, सडकलाई दिगो बनाउन संरचना निर्माण गर्नुभन्दा फराकिलो बनाउनु अर्को समस्या हो,’ उनले भने ।

छरिएर रहेका बस्तीमा जताततै बाटो खन्दा तिनै कैयौं बस्ती पहिरोको उच्च जोखिममा रहेको मरहट्टाले बताए । उनका अनुसार बिनाअनुमति, वातावरणीय मूल्यांकनबिना सडक खन्ने प्रतिस्पर्धा बढी देखिन्छ । एक्स्काभेटर प्रयोग गरी वातावरणीय प्रभावलाई ध्यान नदिई सडक खन्दै आएका छन् । ‘हिउँदमा खनिएका सडक बर्खामा चल्दैनन्,’ स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का यामबहादुर गुरुङले भने, ‘नेतालाई सडकको ट्र्याक खोल्नु ठूलो लाग्छ तर सडक मर्मत गर्न, जोखिममा परेका घरपरिवारको उद्धार गर्नतर्फ ध्यान पुग्दैन । सडक मर्मतसमेत नहुँदा त्यही सडक मृत्युको कारण बनको छ ।’कान्तीपुरबाट

चर्चामा

सम्बन्धित समाचार