• होमपेज
  • बुढीगंगा
  • बुढीगंगाको ११ औं नगर सभाबाट ४ वटा कार्यविधि पारित, ३१ प्रतिशत बजेट खर्च

बुढीगंगाको ११ औं नगर सभाबाट ४ वटा कार्यविधि पारित, ३१ प्रतिशत बजेट खर्च

  • आइतवार, पुस २८, २०८१
बुढीगंगाको ११ औं नगर सभाबाट ४ वटा कार्यविधि पारित, ३१ प्रतिशत बजेट खर्च

बाजुरा—बाजुराको बुढीगंगा नगरपालिकाको ११ औं हिउँदे अधिवेशन तथा नगर सभा सम्पन्न भएको छ । आइतवार “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार, सुरक्षित र समृद्ध बुढीगंगा विकासको आधार” भन्ने मूल नारा सहित सञ्चालन भएको नगर सभा सम्पन्न भएको हो ।

११ औं हिउँदे अधिवेशन तथा नगर सभामा नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा सुरु भएकोमा विभिन्न नीति, ऐन तथा कार्यविधिहरुमा छलफल गर्दै सर्वसम्मत पारित गरिएका छन् ।

वडा नम्बर ६ का अध्यक्ष तथा नगर प्रवक्ता हेमराज जैशीका अनुसार नगर सभाबाट ४ वटा कार्यविधि पारित भएका छन् । उनका अनुसार डिजिटल स्वास्थ्य ऐन, इन्डोर खेलकुद स्थल व्यवस्थापन तथा सञ्चालन कार्यविधि, स्थानीय जनसहभागीता नीति र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन पारित गरिएका छन् ।

त्यस्तै नगर सभामा चालू आर्थिक बर्षमा विविध क्षेत्रमा भए गरेका प्रगति विवरणहरु समेत प्रस्तुत गरिएका छन् ।

त्यस्तै नगरपालिकाले चालू आर्थिक बर्षको हालसम्म कुल बजेटको ३१ प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिको चालू आर्थिक बर्षको ६ महिनासम्म चालू तर्फ ३३.८९ प्रतिशत र पूजीतर्फ २७.०४ प्रतिशत गरि कुल ३१. ६१ प्रतिशत बजेट खर्च गरेको छ । चालू आवमा कुल बजेट ५९ करोड ८२ हजार ७५.८९ रहेकोमा हालसम्म १८ करोड ६७ लाख ५९ हजार ७ सय ८० रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख राम बहादुर बानियाँको अध्यक्षतामा सञ्चालन भएको नगर सभामा नगर उपप्रमुख माया कुवर, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ, १० वटै वडाका वडा अध्यक्ष, नगरसभा सदस्य, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार