• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • थप संक्रमण फैलन नदिन वीरगन्जमा उच्च सतर्कता

थप संक्रमण फैलन नदिन वीरगन्जमा उच्च सतर्कता

  • बिहिबार, बैशाख २५, २०७७
थप संक्रमण फैलन नदिन वीरगन्जमा उच्च सतर्कता

वीरगन्ज : एकै दिन एउटै परिवारका १७ जनामा कोरोनाको संक्रमण भेटिएपछि वीरगन्जमा बिहीबारदेखि थप सतर्कता अपनाइएको छ । वीरगन्ज ३ छपकैयामा बुधबार एउटै परिवारका १७ जनामा कोरोना संक्रमण भेटिएको थियो । त्यसअघि गत आइतबार त्यही परिवारका ३६ वर्षीय पुरुषमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

एउटै परिवारमा १८ जना संक्रमित भेटिएपछि थप संक्रमण फैलनबाट रोक्न वीरगन्ज महानगरका अधिकांश क्षेत्रमा सवारी साधन आवत जावतमा पूर्ण रुपमा रोक लगाइएको छ । बिहीबार बिहान ५ बजेदेखि नै वीरगन्जको मुख्य सडक तथा संक्रमित भेटिएका वडा र त्यस आसपासका क्षेत्रमा आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको हो ।

१८ जना संक्रमित भेटिएका वीरगन्ज वडा नम्बर ३ संगै त्यस आसपासका वडा नम्बर १ र २ लाई पनि पूर्ण रुपमा सिल गरिएको छ । स्थानीय प्रशासनले वीरगन्ज शहर प्रवेश गर्ने पावरहाउस चोकदेखि वीरगन्ज भन्सार क्षेत्रको रजत जयन्ति चोकसम्मको मुख्य सडकमा भने बिहीबार बिहानै देखि सवारीसाधन आवागमनमा रोक लगाएको छ ।

अतिआवश्यकबाहेकका सबै सवारी साधनहरु स्थानीय प्रशासनको अनुमति विना चलाउन रोक लगाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय पर्साबाट यसअघि लिइएका सवारी सधान सन्चालनको इजाजतपत्र (सवारी पास) बिहीबारदेखि खारेज पनि गरिएको उनले बताए ।

उनका अनुसार अब आवश्यकता भए इ–पास अर्थात अनलाइनबाट अनुमतिपत्र (सवारी पास) लिएर मात्रै सवारी सधान चलाउनुपर्ने व्यावस्था बिहीबारदेखि गरिएको छ । बिहीबार इ पास नलिइ काममा हिँडेकाहरुलाई प्रहरीले सवारी साधन नियन्त्रणमा लिएर मानिसलाई भने घर फर्काइ दिनथालेको छ ।

किराना पसल र बैंक पनि बन्द

वीरगन्जको मुख्य सडकको आवतजावतमा स्थानीय प्रशासनले पूर्ण रुपमा रोक लगाएपछि बिहीबारदेखि शहर झन सुनसान भएको छ । लकडाउनमा बिहान ११ देखि ३ बजेसम्म खुल्ने किराना पसलहरु पनि खुलेका छैनन् ।

लकडाउनमा निश्चित समयका लागि खोलिने गरेका बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द छन् । बिहीबार बिहानैदेखि शहरको हरेक टोल र चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथी बढाउनुका साथै चेकजाचमा पनि थप कडाइ गरिएको छ ।

संक्रमितको क्लोज कन्ट्याक्टमा रहेका ८१ को स्वाब संकलन सुरु

वीरगन्ज ३ छपकैयामा बुधबार १७ र आइतबार १ जननमा कोरोना संक्रमण पुष्टि भएका एकै परिवारका १८ संक्रमितको क्लोज कन्ट्याक्टमा (हेलमेल) मा रहेकाहरुको पिसिआर परीक्षणका लागि बिहीबारदेखि स्वाब संकलन गर्न थालिएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर मदन उपाध्यायका अनुसार, वीरगन्ज ३ छपकैयाका एउटै परिवारमा भेटिएका १८ जना संक्रमितको क्लोज कन्ट्याक्ट (हेलमेल) मा रहेका ८१ जनाको पहिचान भइसकेको छ । उनका अनुसार संक्रमितहरुको कन्टयाक्ट्र ट्रेसिङ गर्ने क्रममा क्लोज कन्ट्याक्टमा रहेका ८१ जनाको पहिचान भएको हो । क्लोज कन्ट्याक्टमा रहेकाहरुको पहिचान भएपछि उनीहरुको पिसिआर परीक्षणका लागि बिहीबारदेखि स्वाब संकलन गर्न थालिएको उपाध्यायले जानकारी दिए ।

स्वाब संकलनका लागि अस्पतालबाट स्वास्थ्यकर्मीको टोली वीरगन्ज ३ छपकैयामा खटिइसकेको उनले बताए । क्लोज कन्टयाक्टमा रहेका ८१ जनाको स्वाब संकलन गरी परीक्षणपछि दोश्रो चरणमा संक्रमितहरुको घर भएको टोलका शंकास्पद अन्य व्याक्तिको पनि स्वाब संकलन गरी पिसिआर परीक्षण गरिने उपाध्यायले जानकारी दिए ।

तर नारायणी अस्ततालमा स्वाब संकलनका लागि आवश्यक केही स्वास्थय सामाग्रीको भने अभाव हुन थालेको उनले बताए ।अहिलेसम्म ८ सय भिटिएम सकिइसकेको र अब अस्पतालमा ४ सय मात्र भिटिएम रहेकोले यसले धेरै दिन थेग्न सक्ने अवस्था नरहेकोले स्वास्थ्य मन्त्रालयसँग थप भिटिएम माग गरिएको उपाध्यायले बताए । नारायणी अस्पतालले बुधबारसम्म ८ सय जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको छ ।

मेसु उपाध्यायले बुधबार एकै दिन फेला परेका १७ र त्यसअघि अस्पतालमा ल्याइएका १८ गरी २४ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिए ।

चर्चामा

सम्बन्धित समाचार