बलिउडका सत्तरी-असी दशकका ‘लभर ब्वाई’ ऋषि कपुर ६७ वर्ष उमेरमा बिहीबार आफ्नो जिन्दगीबाट बिदा भए। दुई वर्षदेखि रगतको क्यान्सरसँग जुधिरहेका ऋषिले करिब एक वर्ष न्यूयोर्कमा उपचार गराए। गत सेप्टेम्बरमा मुम्बई फर्किएका उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो।
ऋषिका हजुरबासहित उनका बुबा, काका–काकी, दाजुभाइ लगायत सिंगो परिवार, सरसंगत, हुर्काइबढाइ नै बलिउड हो। उनी अभिनेता, निर्माता र निर्देशक राज कपुर र कृष्णा कपुरका छोरा हुन्।
बलिउड यस्तो ठाउँ हो, जहाँ स्टारपुत्रहरूले सहजै प्रवेश त पाउँछन्, तर खासै फाप्दैन। उनीहरूको कामलाई सधैं ‘महान’ आमाबाबुको विगतसँग दाँजिन्छ। राम्रो गरे जस आमाबाबुले लैजान्छन्, नराम्रो गरे ‘फलानोको छोरा भएर यस्तो झूर काम गर्यो’ भन्दै उल्याउँछन्।
१९५२ सेप्टेम्बर ४ मा जन्मेका ऋषि कपुर बलिउडका त्यस्ता कम स्टारपुत्रमा पर्छन्, जसले आफ्नो करिअरमा बाबुको सेप लाग्न दिएनन्।
उनको ‘डेब्यू’ फिल्म ‘मेरा नाम जोकर’ (१९७०) लाई मानिन्छ। यो फिल्म सुटिङ हुँदा ऋषि १६ वर्षका थिए। उनले यसमा राज कपुरको बाल भूमिका (राजु) गरेका छन्।
उनको ‘लभर ब्वाई’ छविको सुरूआत भने ‘बबी’ (१९७३) बाट भयो। ‘बबी’ हिट भए पनि यसपछिका धेरै वर्ष उनका फिल्मले सफलता पाएनन्।
सन् १९८० दशकपछि भने उनको सफलता उकासियो। त्यो समयमा उनले खेलेका ‘सरगम’, ‘प्रेमरोग’, ‘नसिब’, ‘सागर’, ‘नगिना’ लगायत स्मरणीय छन्।
यी फिल्म युट्युबमा उपलब्ध नभए पनि ऋषिका केही यादगार फिल्म यो सूचीमा राखिएको छ।
बबी (१९७३), निर्देशकः राज कपुर
धनी परिवारका छोरा र गरिब परिवारकी छोरीबीचको प्रेम कथामा बलिउडमा धेरै फिल्म बनेका छन्। ‘बबी’ यस्तै कथामा बनेको फिल्म हो।
मिस्टर नाथ (प्राण) र सुषमा (सोनिया सहनी) व्यस्त दिनचर्या र अन्य प्राथमिकताबीच छोरा राज (ऋषि कपुर)लाई समय दिन बिर्सन्छन्। उनीहरूसँग छोरालाई दिने समय छैन। राज आफ्नो स्याहारसुसार गर्ने मिसेज ब्रिगान्जा (दुर्गा खोते) लाई आमासरह मान्छन्। फिल्ममा उनी ज्याक (प्रेमनाथ) की ‘माइ’को भूमिकामा छन्।
सानैमा होस्टल बसेर पढेका राज अठार वर्ष पुग्नै लागेका हुन्छन्। आफ्नो जन्मदिनको पार्टीमा ज्याककी छोरी बबी (डिम्पल कपाडिया) प्रति पहिलो नजरमै आकर्षित हुन्छन्। बबी पनि राजलाई मन पराउन थाल्छिन्।
राजका व्यापारी बुवाका लागि भने माछा मारेर जीविका चलाउने ज्याककी छोरीसँग आफ्ना छोराको विवाह गरिदिनू कल्पनाभन्दा बाहिरको कुरा हुन्छ। यो प्रेमको बीचमा ठूलो विभाजन धनी र गरिबको रेखा हुन्छ। यो विभाजनले दुई परिवारको सम्बन्ध बिग्रँदै जान्छ।
के राज र बबीको प्रेम सफल होला? यसका लागि फिल्म हेर्नुपर्छ।
यसअघि बाल कलाकारको भूमिकामा देखिए पनि यो नै ऋषि कपुरको पहिलो फिल्म हो। उनको जोडी बनेकी डिम्पल कपाडियाको पनि यो पहिलो फिल्म थियो। राजका बुवाका रुपमा प्राण र बबीका पिताका रुपमा प्रेमनाथ यो फिल्मका सशक्त खम्बा हुन्। सहरिया किशोर उमेरकाको भावना प्रतिनिधित्व गर्ने बबी र राज निर्दोष देखिन्छन्।
यो त्यो वर्षको सबभन्दा हिट फिल्म बनेको थियो। फिल्मको गीत-संगीत, कलाकारको अभिनयसँग ऋषि र डिम्पलको ‘फ्रेस’ छवि पनि एउटा कारण बन्यो। फिल्मको ‘मैं शायर तो नहीँ’, ‘झुट बोले कौवा काटे’, ‘ना मागूँ सोना चाँदी’, ‘हम तुम इक कमरे मे बन्द हो’ आदि गीत चर्चित छन्।
हम किसी से कम नहीँ (१९९७), निर्देशकः मनशुर खान
धनाढ्य एक व्यक्तिलाई अफ्रिकाबाट भारत फर्कने क्रममा बेरुत एयरपोर्टमा हृदयाघात हुन्छ। उनले आफ्नो सम्पत्ति बेचेर ल्याएको हिरा एउटा छालाको पेटीमा राखेका हुन्छन्। मर्न लागेको अवस्थामा उनले एक जना मान्छेलाई त्यो पेटी आफ्ना छोरा राजेश (ऋषि कपुर) लाई दिनु भन्छन्। राजेश दिल्लीको एक होटलमा नाचगानको काम गर्छन्।
ती धनाढ्य व्यक्तिले पेटी पुर्याइदिनु भनेका मान्छे व्यापारी किशोरीलाल (कमल कपुर) हुन्छन्। हिरा भएको पेटी उनले लिएको केही समयमै उनलाई एउटा गिरोहले पछ्याउँछ। भाग्दाभाग्दै उनी साइकल स्ट्यान्डमा पुग्छन् र एउटा साइकलको डिकीमा त्यो हिरा लुकाउँछन्। साइकल सन्जय कुमार (तारिक खान)को हुन्छ जसमा ‘एसके’ लेखिएको हुन्छ।
सन्जयलाई यसबारे भनक हुँदैन। किशोरीलालले उनको अनुहार नदेख्दै उनी साइकल लिएर हुँइकिन्छन्।
किशोरीलाललाई पछ्याउनेका टोली नेता हुन्छन् सौदागर सिंह (अमजद खान)। उनलाई त्यो हिरा किशोरीलालसँगै छ भन्ने लाग्छ। त्यसैले आफ्ना साथीसँग मिलेर उनले आफ्ना छोराको किशोरीलालले अपहरण गरेको र तीस लाख फिरौती मागेको कुरा राजेशलाई बताउँछन्। यो सुनेपछि राजेश किशोरीलालकी छोरी काजल (काजल किरण)लाई प्रेममा पारेर आफ्नो बुवाको सम्पत्ति र सौदागरका छोरा फिर्ता ल्याउने जुक्ति निकाल्छन्।
राजेश मन्जीत कुमार बनेर काजललाई माया गरेझैं गर्छन्। धनी बनेर प्रस्तुत भएका राजेशप्रति किशोरीलाल पनि आकर्षित हुन्छन्। तर काजल र सन्जयकुमारको बिहेको बाचा उनीहरूको परिवारले पहिल्यै गरिसकेका हुन्छन्। सन्जयले काजलसँग आफ्नो बिहेको बाचा सम्झाउँदा किशोरीलालले अपमानित गरेर पठाउँछन्।
यसपछि फिल्ममा धेरै हेराफेरि चल्छ। के सन्जयले किशोरीलालसँग कुनै बदला लेलान्? काजललाई मनैदेखि मन पराउने सन्जय र प्रेमको नाटक गरेर माया गर्न खोज्ने मन्जीत/राजेशमध्ये काजलले कसलाई माया गर्छिन्? राजेशको काजलप्रतिको नक्कली प्रेम साँचो प्रेममा बदलिए के होला? हिरा कसले पाउला? हिराको खोजीमा रहेका गिरोहको के होला? यो जान्न हेर्नुस्, ‘हम किसी से कम नहीँ’।
‘थ्रिलर’ र त्रिकोणात्मक प्रेम कथा सँगसँगै अघि बढ्ने ‘हम किसी से कम नहीँ’ रोचक कथासँगै मधुर गीत-संगीतका कारण पनि चर्चित छ। फिल्मको ‘क्या हुआ तेरा वादा’, ‘बचना ए हसिनो’, ‘चाँद मेरा दिल’जस्ता गीत चर्चित छन्।
लैला मजनु (१९७६), निर्देशकः हरनम सिंह रवाली
जब जब आदर्श प्रेमको कथा भनिन्छ, त्यहा लैला-मजनुको नाम उदाहरण बनेर आउँछ। भारत पाकिस्तान सीमा नजिकै राजस्थानको विजोरमा एउटा लैला-मजनु नामको चिहान छ जसलाई प्रेमको प्रतीक मानिन्छ।
इतिहास र लोककथाका रुपमा जीवित लैला मजनुको यही अमर कथामा बनेको फिल्म ‘लैला मजनु’ मा ऋषि कपुर र रंजिताले मुख्य भूमिका निर्वाह गरेका छन्।
लैला र कैसका रुपमा चिनिने मजनु दुई प्रतिद्वन्द्वी सम्प्रदायका हुन्छन्। तर उनीहरूको प्रेम भने दुई शरीर एक प्राणजस्तो हुन्छ। एउटालाई चोट लाग्दा अर्कोलाई दुख्ने अजीवको प्रेम। फिल्ममा यस्ता मार्मिक दृश्य धेरै छन्। जब यीमध्ये एक जनालाई सजाय दिइन्छ, अर्को तड्पिइरहेको देखाइन्छ।
लैला र मजनुको प्रेममा बाधा बनेका लैलाका दाजु तरबेज (रंजीत), बक्श (डेनी डोंगजोङ्पा) र सिंगो समाज उनीहरूको शारीरिक दुरी बढाउन सफल हुन्छन्। तर आत्मिक रुपमा यी दुईलाई छुट्याउने सामर्थ्य कसैमा हुँदैन।
आदर्श प्रेमका प्रतीकका रुपमा जीवित लैला मजनुको अमर प्रेमको अन्तर्य महशुस गर्न हेर्नुस्, ‘लैला मजनु’।
प्यार मे ट्विस्ट (२००५), निर्देशकः हृदय सेट्टी
फिल्ममा यश खुराना (ऋषि कपुर) र शीतल आर्या (डिम्पल कपाडिया) अपरिचित भए पनि पटक पटक ठोक्किन्छन्। यी भेट सुखद हुँदैनन्। तर पनि यी दुई पात्रमा केही समानता छन्। दुवै आफ्नो सन्तानका एकल अभिभावक हुन्। उनीहरू परिवारका सदस्यलाई दैनिक घटनाक्रम सुनाउने बेला यो नोंकझोकको कुरा पनि सुनाउन भुल्दैनन्।
आफ्नो अटोफर्म कम्पनीको सिइओको अभिभारा त्यागेका यश यो जिम्मेवारी आफ्नो छोरा राजिव (विकाश भल्ला) ले सम्हाल्न लागेकोमा खुसी छन्। उता शीतल पनि आफ्नो छोरी रिया (सोहा अली खान)को बिहे गराउने तयारीमा पुगिसकेकी छन्।
एक हिसाबले शीतल र यश फुर्सदिला भएका छन्। पटक पटक हुने उनीहरूको आकस्मिक भेटले उनीहरूलाई नजिक बनाउँदै लैजान्छ। यो निकटताले यी दुई जना खुसी भए पनि उनीहरूका सन्तानको भने होसहवाश उड्छ। यसपछि उनीहरूको प्रेममा आउने ‘ट्विस्ट’लाई रमाइलोसँग देखाइएको छ।
डी डे (२०१३), निर्देशकः निखिल आडवाणी
भारतको मोस्ट वान्टेड सूचीमा रहेका गोल्डम्यान (ऋषि कपुर) पाकिस्तानको कराँचीमा छन्। भारतीय खुफिया एजेन्सी रअले गोल्डमेनलाई ज्युँदै भारत ल्याउने योजना बनाउँछ।
रअका प्रमुख अश्विनी राव (नसार)को नेतृत्वमा गोल्डम्यान नाम दिइएको अपरेसनको ४० दिनको अवधिलाई फिल्ममा रोचक शैलीमा देखाइएको छ।
खुंखार डन दाउद इब्राहिमसँग मिल्दोजुल्दो गोल्डम्यानको भूमिकामा ऋषि कपुर निकै जमेका छन्। फिल्मको सुरूदेखि अन्तसम्म कथाको केन्द्रमा उनै छन्।
गोल्डम्यानलाई पक्रन चार फरक पृष्ठभूमिका पात्रहरू खटाइएको छ- बल्ली (इरफान खान) रुद्र (अर्जुन रामपाल), जोया (हिमा कुरेशी) र असलम (आकाश गाहिया)। फिल्मलाई बीचबीचमा बल्ली अर्थात् इरफानले ‘न्यारेट’ गर्छन्।
गोल्डम्यानको छोराको बिहेको दिन उनलाई पक्रने उद्देश्य लिएका यी चार पात्र आफ्नो उद्देश्यमा सफल होलान्? गोल्डम्यानसम्म पुग्न उनीहरूले चुकाउने मूल्य कस्तो होला? फिल्मको कथा यही हो।
संवाद, स्क्रिनप्ले र अभिनयको संयोजन मिलेको यो फिल्ममा ऋषि कपुर र इरफान खानको अभिनय अरूभन्दा विशेष छ। एक दिन मात्रको अन्तरमा बितेका यी दुई कलाकारलाई एउटै फिल्ममा यति सशक्त भूमिकामा देख्न पाउनु दुर्लभै हो।