• होमपेज
  • समाज
  • एड्स संक्रमित चार जनाको मृत्यु

एड्स संक्रमित चार जनाको मृत्यु

  • बिहिबार, फाल्गुन २२, २०७६
एड्स संक्रमित चार जनाको मृत्यु

दार्चुलामा स्वास्थ्य कार्यालयको सम्पर्कमा आएका एचआइभी÷एड्स संक्रमितको संख्या ३७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङक अनुसार भारतमा रोजगारीका लागि जाने सीमा क्षेत्रका नागरिकहरु बढी संख्यामा एड्स संक्रमित रहेको पाइएको छ ।
एड्सको संक्रमणबाट अहिलेसम्म दार्चुलामा चार जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । समाजमा बदनाम हुने डरले एचआइभी संक्रमित खुल्न नचाहाने गरेको उहाको भनाइ छ । चालु आर्थिक वर्षमा मात्रै थप चारजना एड्स संक्रमित फेला परेका छन् । दार्चुलामा एड्स संक्रमितको तथ्यांक लिएदेखि हालसम्म ४५ जनामा एचआइभीको संक्रमण देखिएको र तीमध्ये चारजनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङक छ ।
भारत र चीनसंग सीमाना जोडिएको दार्चुलामा एचआइभी संक्रमित बढी भएपनि स्वास्थ्य कार्यालयको सम्पर्कमा नआएको हुनसक्ने अधिकृत भट्टको भनाइ छ । स्वास्थ्य संस्थाको सम्पर्कमा आएका सबै संक्रमितले नियमित रुपमा एआरटी औषधी सेवन गरिरहेका छन् । औषधीको नियमित सेवनले एचआइभी संक्रमित पनि समान्य जीवन बाँच्न सक्ने भएकाले सबै संक्रमितलाई औषधि प्रयोग गर्न प्रोत्साहन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दार्चुलामा एड्सका बिरामीमध्ये १८ पुरुष र १९ महिला रहेकोमा १४ वर्षमुनिका ३ वालबालिका छन् । लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकामा ९÷९ जना संक्रमित छन् । मालिकार्जुन गाउँपालिकामा ८ जना, महाकाली नगरपालिकामा ७ जना, मार्मा गाउँपालिकामा ३ जना र दुहुँ गाउँपालिकामा १ जना एड्सका बिरामी सम्पर्कमा छन् । व्याँस, अपिहिमाल र नौगाड गाउँपालिकामा एड्सका कोहिपनि विरामी सम्पर्कमा नआएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले बताउनुभयो ।
एड्स संक्रमितलाइ हेर्ने दृष्टिकोण सकारात्मक हुनुका साथै बिरामीको पहिचान, उपचार र रोकथाममा समुदायको सक्रियता आवश्यक रहेकोमा प्रमुख भट्टले जोड दिनुभयो । सुदुरखवरबाट

चर्चामा

सम्बन्धित समाचार