
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६ किलो भन्दा बढी सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा १५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक एसपी सुशील सिंह राठौरले जानकारी दिनुभयो ।

ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर ल्याएको सुन बरामद गरेको उहाँले बताउनुभयो । प्रहरीका अनुसार बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।


