शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • चिसोले जनजीवत प्रभावित

चिसोले जनजीवत प्रभावित

  • शनिबार, पुस ५, २०७६
चिसोले जनजीवत प्रभावित

बाक्लो हुस्सुसँगै पश्चिमी हावा चल्दा बढेको अत्यधिक चिसोले विराटनगर लगायत पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ ।

चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पनि सकस परेको छ । सबै भन्दा बढी बालबालिका, वृद्धवृद्धा र महिला तथा किनेर शरीर भरी न्यानो कपडा लगाउन नसक्नेहरु प्रभावित बनेको विराटनगरका सन्तोश चौहानले बताए । उनले एक्कासि बढेको चिसोले सर्वसाधारणको दैनिकीमा निक्कै ठूलो असर परेको बताए ।

चिसोका कारण बजार, सार्वजनिक स्थल, सरकारी कार्यालयमा सर्वसाधारणको चहलपहल कम हुँदै गएको विराटनगरस्थित विशाल युथ क्लबका सल्लाहकार वीरु तामाङले बताए । हुस्सुका कारण भिजिविलिटी कम हुँदा सडकमा सवारी साधनको चाप पनि कम हुँदै गएको उनको भनाइ छ । चिसोले घरवारविहीन भएका र जाडोमा न्यानो कपडा किनेर लगाउन नसक्ने सर्वसाधारण बढी पीडामा रहेको तामाङले बताए ।

जनजीवत प्रभावित बन्दै गएपछि मोरङमा प्रहरीले आजबाट दाउराको व्यवस्थापन गर्दै आगो ताप्ने व्यवस्था मिलाएको छ । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले प्रहरीको सक्रियता र समन्वयमा बिहानैदेखि मोरङका एक सय ८५ स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय बासिन्दा, संघ संस्था र स्थानीय तहसँग समन्वय गर्दै दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

विभिन्न चौक, सार्वजनिक स्थल, गाउँ र बजारहरुमा बिहानैदेखि आगो बालेर ताप्ने व्यवस्था प्रहरीले मिलाएको हो । एसपी अधिकारीले घरमा न्यानो लुगा नभएर चिसोले कठ्याङ्ग्रिदै समय विताइरहेकाहरुलाई केही राहत पुगोस र चिसोबाट हुने मानविय क्षति नहोस भन्ने उदेश्य रहेको बताए । चिसो तथा शीतलहरबाट प्रभावित गरिब, वृद्धवृद्धा, सुत्केरी महिला तथा बालबालिका र विद्यार्थीहरुको पहिचान गरी विभिन्न संघ संस्था तथा सरोकारवालाहरुसँग समन्वय गर्दै न्यानो कपडाको पनि व्यवस्था गरिने जानकारी एसपी अधिकारीले दिए ।

हावापानी फिल्ड कार्यालय विराटनगरका अनुसार विराटनगरको न्यूनतम तापक्रम आज ९.५ डिग्री छ । ‘गत बुधबारदेखि अधिकतम तापक्रम १६ डिग्री भन्दामाथि गएको छैन,’ कार्यालय प्रमुख विकाश देउजाले भने, ‘केही दिनदेखि तापक्रम ओरालो झर्ने क्रममा छ ।’ बाक्लो हुस्सु र दुई/तीन दिनदेखि चलिरहेको पश्चिमी हावाले धेरै चिसो महसुस भइरहेको उनको भनाइ छ । विराटनगरमा शीतलहर भने नचलेको बताउँदै देउजाले तापक्रम अस्थिर बन्दै ओरालो झर्ने क्रममा रहेकाले अत्यधिक चिसोको महसुस हुनुका साथै जनजीवन प्रभावित बन्दै गएको जानकारी दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले चिसोबाट प्रभावित भएकाको सुरक्षाका लागि जिल्ला प्रकोप व्यवस्था समितिको बैठकबाट निर्णय गर्दै चिसोबाट हुने क्षति रोक्न पूर्वतयारीमा जुटिसकेको जानकारी दिए । उनकाअनुसार बैठकमा चिसोबाट जोगिन सर्वसाधारणलाई सचेत गराउने, वन कार्यालयलाई आगो ताप्न दाउरा सहुलियतमा उपलब्ध गराउन निर्देशन दिने, जोखिममा रहेकाहरुलाई लक्षित गरेर न्याना कपडा वितरण गर्ने, चिसोबाट बच्न स्वास्थ्य सम्बन्धी चेतनामुलक सन्देश प्रवाह गर्ने, चिसोका कारण विभिन्न रोगका बिरामी बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै औषधि र विशेषज्ञ चिकित्सक तयारी अवस्थामा राख्ने, तथा चिसोका कारण बिरामी परेकाको उपचार प्रभावकारी बनाउने निर्णय भएको छ ।

बालबालिका, वृद्धवृद्धा, विपन्न र सुकुम्बासी बस्तीहरुमा स्थानीय तहसँग समन्वय गरेर न्यानो कपडा वितरणको काम पनि थालिने बताउँदै प्रजिअ भुजेलले त्यसका लागि तयारी अवस्थामा रहन सबैलाई आह्वान गरिसकिएको जानकारी दिए । मौसमको भविष्यवाणी गर्नका लागि चिसोबाट विगतमा जस्तो मानविय क्षति नहोस भनेर हावा पानी फिल्ड कार्यालयसँग समन्वय गर्दै त्यहाँबाट बढ्दो चिसोका सम्बन्धमा दैनिक सूचना समेत लिन थालिएको भुजेलको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार