राधा पाेख्रेल — आक्रोश र घृणा एकसाथ ज्वालामुखी बनेर बिस्फोट हुने खबर। उफ ! कति भक्कानियो मन ।के तपाईंहरुको भक्कानिएन र मन ?
अछामको साफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा सोमबार २१ वर्षीया युवतीको छाउपडी गोठमा मृत्यु भएको अनलाइनमा एउटा खबर पढें । चटक्कै मुटु चुँडिने खबर । आक्रोश र घृणा एकसाथ ज्वालामुखी बनेर बिस्फोट हुने खबर । उफ ! कति भक्कानियो मन । खै कसरी व्यक्त गरौं शब्दमा ? के तपाईंहरुको भक्कानिएन र मन ? ओपन हार्ट सर्जरी गरेकी मान्छे म । कति गारो भयो होला सहनलाई ? झन्नै अस्पताल जानुपरेको । के ढाँट्नु तपाईहरुलाई !
केहि समय अगाडि छाउगोठमा सर्पले डसेर एउटी युवतीको मृत्यु भएको महिना दिन नबित्दै अर्की युवती छाउगोठमै बलात्कृत भएकी थिन् । छाउपडी प्रथाको समाचार नेपाली सरहदभन्दा सात समुन्द्रपारि अमेरिकासम्म फैलिन पुगेको थियो । तेजाब आक्रमणको आतंक पनि घटेको छैन । जताततै महिला हिंसाका घटना भइरहेका छन् । हिंसा घट्नुको साटो बढिरहेको छ । असुरक्षाको आतंकले हामी नेपाली नारीहरू मानसिक रोगी बन्दै गइरहेका छौं ।
विश्व एक्काइसौं शताब्दीमा छ । ज्ञान, विज्ञान र प्रविधिको विकासले मानव सभ्यतामा अभूतपूर्व क्रान्ति भएको छ । पृथ्वी साँघुरो भएको अनुभूत गर्दैछ मान्छे । सायदनिकट भविश्यमा मान्छे अरू ग्रहमा बसाइँ सर्न सफल हुन्छन् होला । तर, विडम्वना ! हाम्रो देशका हामी नागरिक चरम अन्धविश्वासको अन्धकार युगमा बाँचिरहेका छौं ।
प्रत्येक दिन अन्धविश्वासका कारण कुनै न कुनै सानाठूला घटनाहरू समाजमा घटेकै हुन्छन् । कुनै घटनाले समाजमा बिग्रह पैदा गर्छ त कुनैले विभेद । कुनै घटनाले मान्छेको ज्यानै जान्छ त कुनै घटनाले धन सम्पत्तिको नोक्सानी गर्छ । देश र समाजलाई अघि बढाउन तगारो बनिरहेका यस्ता अन्धविश्वासी संस्कृतिलाई अन्त्य नगरेसम्म समृद्धि कसरी आउला ?
छाउपडी प्रथा मानव समाजको एउटा कलंक हो । महिलामाथि हुने क्रुर अमानवीय हिंसा हो । जुनबेला शरीरमा सबभन्दा बढी पोषकतत्वको आवश्यक पर्छ, त्यहीबेला भोकभोकै राख्ने, जुनबेला शरीरलाई सबैभन्दा बढी सरसफाईको आवश्यक पर्छ, त्यहीबेला प्रकाश र हावा पनि नछिर्ने कालकोठरीमा लगेर बन्द गर्ने, अनि जुनबेला मानसिकरूपमा सबभन्दा आडभरोसा र सान्त्वनाको आवश्यक पर्छ, त्यहीबेला परिवारका सदस्यहरूसँग अलग्याएर राख्ने । अनि उनीहरूलाई रोग नलागे कसलाई लाग्छ ? उनीहरूलाई सर्पले नडसे कसलाई डस्छ ? उनीहरू मानसिकरूपमा बिछिप्त नभए को हुन्छन् ? उनीहरू असुरक्षित नभए अरु को हुन्छन् ?
धर्म, संस्कृति र परम्पराका नाममा यस्तो हिंसा सुदूरपश्चिमका महिलाहरूले कहिलेसम्म भोग्ने ? हो, परापूर्वकालदेखि समाजमा चल्दै आएका कतिपय धर्म, संस्कृति र परम्पराहरू राम्रा छन् । त्यसको हामी सबैले संरक्षण गर्नुपर्छ । कतिपय समयसापेक्ष सुधार गर्नुपर्ने छ, त्यसलाई सुधार गर्दै लैजानुपर्ने हुन्छ भने कतिपय जबर्जस्ती भत्काउनुपर्ने पनि हुन्छ, त्यसलाई राज्यले कडा कानुन बनाएर भत्काउनुपर्छ । धर्म, संस्कृति र परम्पराका नाममा मानवताविरोधी कुराहरू बोकेर हिँड्नुहुँदैन ।
रजस्वलासम्बन्धी सही ज्ञान दिन नसक्दा एकातिर महिला हीनताबोधले ग्रसित छ । मानसिक रूपमा आतंकित छ । शारीरिकरूपमा रोगी बन्दैछ । अर्कातिर पुरूषहरूले घृणा गर्छन्, अमानवीय अछुत व्यवहार गर्छन् । परम्पराका नाममा समाजले परिवारसँग अलग्याएर कालकोठरी छाउगोठमा बन्धक बनाउँछ । अनि परम्पराका नाममा अभिभावक र यो समाज गर्व गर्छ । सरकार मूकदर्शक बनेर रमिता हेर्छ ।
अब छाउपडी प्रथाको अन्त्य गर्नसरकारले सामाजिक जागरणका लागि सचेतनामुखी विविध प्रभावकारी कार्यक्रमहरू सन्चालन गर्ने र छाउगोठ खोजीखोजी नष्ट गर्ने (सर्च एण्ड डिस्ट्रोय) अभियान शुरू गर्नुपर्छ । यस अभियानमा राजनीतिक पार्टीहरू, सामाजिक संघ संस्थाहरू, नागरिक समाज सबैले पनि साथ दिन जरूरी छ ।
युगौंदेखि शासकहरूले आफ्नो स्वार्थपूर्तिका लागि समाजमा रोपिदिएको अन्धविश्वासको संस्कृति जादुको छडी चलाएझैं छु मन्तर गरेर हटाउन सम्भव छैन । नागरिकको सोच र संस्कार परिवर्तनका लागि सरकार योजनावद्ध सशक्त कार्यक्रमहरू लिएर जनतामाझ जान जरूरी छ । साथै, आवश्यक नियम कानुन निर्माण गर्दै प्रभावकारी कार्यान्वयन गर्न पनि जरूरी छ । तर, सरकारसँग यस्तो कुनै प्रष्ट नीति, कार्यक्रम देखिँदैन । चरम अन्धविश्वासको अन्धकार युगबाट नागरिकलाई विज्ञानको उज्यालो युगमा ल्याउने जिम्मा सरकारको हो ।
रजस्वला भएकी महिलालाई घृणा गर्ने, अछुत व्यवहार गर्ने र छाउगोठ पठाउने घरपरिवार, समाज र सरकारलाई बिनम्रतापूर्वक आग्रह छ-महिला भनेका सृष्टि हुन्, धर्ती हुन् । रजस्वला हुनु भनेको सृष्टिलाई निरन्तरता दिन परिपक्व हुनु हो । तसर्थ, घृणा होइन, उनीहरूको यथोचित सम्मान गर्न सिक ।
राधा पाेख्रेलकाे फेशबुक पेजबाट शाभार