राधा पाेखेल — पुरूषप्रधान समाजको धर्म, संस्कृति, पुरूष अनुकूल छ । तर, यसको अर्थ, पुरूषमाथि अन्याय नै भएको छैन भन्नेचाहिँ होइन रहेछ ।
महिला हिंसाबिरुद्ध १६ दिने बिशेष अभियान चलिरहेको बेला मलाई भने महिलाद्वारा पुरूषमाथि हुने हिंसाबारे केही लेख्न मन लाग्यो ।
कुरा शुरू गरौं । हिजो कामको शिलशिलामा बालाजु पुगेकी थिएँ । गाउँको छिमेकि दाजु भेटिनुभयो। चिन्न पनि मुस्किल भयो । बल्लतल्ल चिनें । अचम्मै परें दाजुको रूपरंग देखेर ।
के हेरेकी नानी ? पागललाई जस्तो ?
नि:शब्द भएँ म । हो भनौं कसरी भनौं ? होइन भनौं, होजस्तै लाग्छ । ओहो ! कस्तो धर्मसंकट । एकछिनपछि फ्याट्ट बोली फुट्यो – होइन, होइन दाजु । हजुरलाई कहिल्यै पागल सोच्छु होला त ? जसोतसो आफूलाई सम्हालें । मैले केही सोध्नै नपाई दाजुका आँखामा आँसु भरिए ।
मुखबाट शब्द निस्कनु अघि आँखाबाट तप्प तप्प आँसु पो झार्नु भयो दाइले । म बडो असमन्जसमा परेँ । एकछिन को भलाकुसारी पछि उहाँको घर परिबार र उहाबारे बुझ्न चाहें ! र नजिकै को क्याफे तिर पाइला बढाए !
मलाई खाउँलाझैं गरेर ट्वाल्ट्वाल्ती तलदेखि माथिसम्म घुरेर हेर्नुभो । तिमी त लेखिका होइन ? पढिरहन्छु म तिम्रो लेख । राम्रो लाग्छ । तिम्रो लेख पढ्दा नारीवादीजस्तो लाग्छ तिमी । होइन, यो संसारमा नारीमात्र पर्छन् र हिंसामा ? पुरूषमाथि नारीले हिंसा गर्दैन ? गज्जब छ बा ! के बुझाई हो तिमीहरूको ?
दाजुका आँखामा आँसु होइन, आगोको लप्का दन्कन थाल्यो । मनभित्रैदेखि डर लागेर आयो मलाई । के भनौं के, फेरि नि:शब्द भएँ म ।
उहा बारे बुझ्न खोज्दा गल्ती गरेको महशुस भयो । पुरुषहरुको मन त कठोर हुन्छ भन्थें ओहो ! के भन्नु । कस्तो संकट ? बाह्य वातावरणमा बगेको चीसो सिरेटोसँगै मेरो मनको गहिराईमा पनि सिरेटो चल्न थाल्यो । जिज्ञासाले मन भरियो । भन्नुस् न दाइ ? के भयो र त्यस्तो ? केही गर्न सक्थें कि मैले ? यतिन्जेलमा कफी आइपुग्यो ।
ममाथि हिंसा भयो । तिम्री भाउजूले हिंसा गरिन ममाथि ।
महिला हिंसाबाट मुक्ति भनेको बदलामा पुरूषमाथि हिंसा गर्नु हो ? तिमी त लेखिका मान्छे, लु ममाथि तिम्री भाउजूले गरेको हिंसा लेखेर छपाउ त ! तिम्रो पनि दम हेरौं म । दाजुले ममाथि चुनौती तेर्स्याउनु भो ।
शान्त भावमा मैले दाजुलाई सोधें- दाजु ! भाउजूले तपाईंमाथि के त्यस्तो नराम्रो गर्नु भो ? पहिला त्यो कुरा त भन्नुस् । अनि लेख्ने कुरा पछि गरौंला ।
हाँडीमा मकै पड्के जसरी दाजु पड्कन थाल्नुभो-
घरको गरिबीको कारण मैले कति दु:ख गरेर पढें, कति संघर्ष गरेर जागिर खाएँ ? त्यो त सब थाहा छ नि तिमीलाई ।
उपचारको सिलसिलामा म सानैमा गाँउ छाँडेपछि उहा सँग भेट भएको थिएन् ! गाउँमा हुँदा सोझा र सरल प्रकृतिका सामान्य परिबारमा जन्मनु भएको दाईलाई बाबा आमाले निकै दु:ख गरेर पढाउनु भएको थियो , बिगतमा फर्कन मन लाग्यो मलाई !
स्वर्ग जस्तो घरमा नया दुलही को आगमन सँगै झगडा हुन थाल्यो ! जहिले पनि स साना कुरा निकालेर म सँग झगडा गरि राख्थिन ! श्रिमतिको कुरा सुन्दा आमालाई त्याग्नु जस्तो अनि आमाको कुरा सुन्दा श्रिमति त्याग्नु जस्तो लाग्थ्यौं ।
बिस्तारै श्रीमतीले आमा बाबालाई नोकर्नी जस्तै गर्न थालिन। खान पनि अड्कलेर दिन थालिन। बिरामी हुँदा वास्ता गर्न छाडिन । जे भए नि म त छोरा हूँ नि नानी ! सहनुको पनि सीमा हुन्छ नि ! बुहारी त अर्काकी छोरी, छोरो त मै हो नि । स्वास्नीको कुरा सुनेर मैले बाबा आमालाई त्यस्तो नराम्रो गर्नु हुन्छ त ?”
गाउँको सबै बेचेर शहरमा घर बनाउँ भनी, त्यसै गरें । उसको खुशीका लागि जे जे भन्छ, सबै मान्दै गएँ । ल, अब त मेरो बाबु आमा बोझ भए रे… ।
दाजु एक्कासी भक्कानिनु भो । बोल्नै सक्नुभएन । बोली बन्द नै भो । हरे ! कस्तो आपत ? आफूभन्दा सानो भए पनि फकाउनु हुन्थ्यो, बूढो मान्छेलाई के भन्नू ?
केही छिनपछि दाजु फेरि बोल्न थाल्नुभो- हेर नानी ! मेरा जन्मदिने मैले पनि आमा बाबा छाडेर आए भने तिमिले पनि छाड्नु पर्छ कि आमा बाबा रोज्नु कि म रोज्नु यस्तै धम्किपुर्ण बचनले मनमा ठुलो आघात पर्दै गयो !
कसरी भन्न सकेकी होली ? मनमा कत्रो पाप ? कति अमानवीय ? कति निष्ठुरी ? हे भगवान ! दाजुले दुबै हातले टाउको समाउनुभयो ।
मेरो मनमा पनि ती भाउजूप्रति घृणा मिश्रित आक्रोश पलायो । दाजुलाई सबै कुरा भन्न आग्रह गरें ।
दिनदिनको झगडा देखेर बाआमा घर छाडेर बृद्धाश्रममा जाने सोंच बनाउनुभएको रहेछ । अकस्मात एक दिन बाआमाले बोलाएर भन्नुभो- हाम्रा कारणले बुहारीलाई अप्ठेरो परेजस्तो छ । अब हामी यो घर छाडेर जाँदैछौं । अप्ठेरो नमान ।
मैले श्रीमतीसँग अनुनय विनय गरेँ । आमाबाको चित्त दुखाउनुहुन्न भनेँ । ढुङ्गा पग्लेला, तर त्यसको मन पग्ले पो ! विश्वास गरेर उसैको नाममा घर पास गरियो । अहिले आएर मेरो नामको घर छुनै दिन्न भन्छे । लोग्ने–स्वास्नी अंशवण्डा गरौं भनें । त्यो पनि मानिनँ ।
दाईको आँखामा आँसु अटेन । परेलीको खोंच हुँदै आँसुको खोली बग्न थाल्यो । मेरो पनि रसिला भए दुबै आँखा ।
यति सुनाउँदै गर्दा दाजुको टाउको बिस्फोट हुन लागेको बमजस्तै लाग्यो मलाई ।
र, फेरि सुनाउन थाल्नु भो ।त्यसपछि आमाबासँगै निस्किएँ म पनि । भगवानलाई त्यागेर राक्षसनीलाई अँगाल्न सक्छु त म ? मेरा लागि मेरा बाआमा भगवान हुन् बुझ्यौ बहिनी ? स्वास्नीका लागि पितृसमान आमाबालाई कसरी बृद्धाश्रम पठाउन सक्छु म ? मैले जन्म दिने आमा बाबा लाई आफुबाँट अलग गराउन नसक्दा हामि एक बर्षदेखि टाडा टुटेको मन लिएर बाँचिरहेको छौं । अहिले एउटा कोठा खोजेर बसेका छौं । ममाथि हिंसा भो नानी । मलाई न्याय चाहियो ।
जन्म दिने प्रतिको दाईको माया र ममता देखेर श्रद्धाले शिर झुक्यो मेरो । मनमनै नमन गरेँ दाईलाई ।
दाजु रौद्र भावमा बोल्दै जानुभो –आमाबाले अहिले पनि स्वास्नीसँग मिलेर बस भनेर मलाई दबाब दिइरहनु भएको छ
कति सहन सक्ने ? कति क्षमाशील ? दाजु फेरि भक्कानिनु भयो ।
म आमा बाबा त्याग्न नसक्ने , बुहारी राख्न नसक्ने, सहनै नसकेपछि बैरागिएर घर छोडेँ नानी ।
दाजुको कथा नसक्दै मेरो आँखाबाट आँशुका धाराले अनुहार पोतिएको थियो ! आधुनिकता को नाममा गाँउमा भन्दा शहरमा वृद्धवृद्धाको अवस्था दयनीय रहेको छ भएको ज्ञ्यात भयो मलाई ।
अलि शान्त देखिनु भो दाजु सम्हालिँदै अन्तिममा दाजुले कुराको बिट यसरी मार्नुभो घडीको सुईमा चल्नुपर्ने शहरी ब्यस्त जीवन र नारीमा बड्दै गइरहेको कठोरताको कारण मान्छेको बुढेसकाल एकदमै असुरक्षित र अत्यासलाग्दो बन्दै गइरहेको छ ! आज कंयौ आमाबाबुको काख रित्तो भएको छ !
दाईको कुरा सुनेपछि एकतमासले अमिलो भयो मेरो मन । फिल्मी कथा जस्तै लाग्यो उहाँको जीवन । आफै छोरी भएर जन्मनु परेको मा घृणा लागेर आयो ! आफुले खान लागेको गास कटाएर आफ्ना सन्तानलाई सक्षम बनाउदैं गर्दा कति सपना सजाएको हुन्छन् आफ्नो सन्तान प्रति ?
यति निर्मम हुन सक्ने नारीहरुबाट समाजमा कसरी मानवीय मूल्य स्थापित होला ? कतै यो समाज पाषाण युगतिरै त फर्कँदै छैन ? भावी पुस्तालाई कस्तो संस्कृति छाडेर जाँदैछौं ? प्रश्नै प्रश्नको चक्रब्यूहमा रूमल्लिएँ म ।
अन्त्यमा दाजुसँग छुट्टिने बेलामा सकेको न्याय दिने वचन गरेकी थिएँ । न्याय दिने न्यायाधीश त होइन म । तैपनि सत्य कुरा राख्न आफ्नो कर्तब्य ठान्दै शब्दमार्फत भएको हिंसा सार्बजनिक गर्नेछु भन्दै छुट्टिएकि थिंए ।
फर्कंदा बाटोभरि सोच्दै आएँ । हाम्रो समाज पुरूषप्रधान छ । त्यसैले पुरूषको तुलनामा महिलामाथि बढी नै अन्याय, अत्याचार हुन्छ । समाजको धर्म, संस्कृति, सबै पनि पुरूष अनुकूल छ । तर, यसको अर्थ, पुरूषमाथि अन्याय नै भएको छैन भन्नेचाहिँ होइन रहेछ । महिलाहरूबाट पुरूष पनि प्रताडित रहेछन् । उनीहरूको पक्षमा हामी सचेत नारीहरूले बोल्नैपर्छ ।
महिलाका लागि महिलाले मात्र र पुरूषका लागि पुरूषले मात्र बोलेर, लडेर हुँदैन । पुरूष-महिला हातेमालो गर्दै अघि बढ्न सकेमात्रै समाजले गति लिन्छ, देशको मुहार बदलिन्छ ।
मान्छे मेसिन होइन । मान्छे पशु पनि होइन । पुरानो मेसिन थोत्रो भएपछि कारखानामा नयाँ मेसिन जडान गरेजस्तो वा पशु बुढो भएपछि बगरेको हातमा बेचेजस्तो मान्छेलाई गर्न सकिँदैन । तर आज भौतिक सम्पत्ति मानवीय मूल्यको अन्तिम मापक बन्दै गइरहेको छ । उत्पादनको क्षेत्रमा पुरानो अनुत्पादक मेसिनलाई नयाँ मेसिनले विस्थापन गरेजस्तो परिवार र समाजमा पनि छोरा-छोरीले बाबु-आमालाई विस्थापन गरिरहेको छ ।
पक्कै पनि नयाँलाई अवसर र जिम्मेवारी दिनै पर्छ । तर, अवसर र जिम्मेवारीको नाममा बाबु-आमा र पुरानो पुस्तालाई बेवारिस बनाउनु चाहिँ नैतिकता र मानवीय मूल्य गुमाउनु हो । जब मान्छेमा नैतिकता र मानवीयता बाँकी रहन्न तब मान्छे, मान्छे नभएर पशु बन्दछ । आमा-बाबु भनेका जिउँदो भगवान हुन् भने पुरानो पुस्ता भनेको जिउँदो इतिहास । जिउँदो इतिहासको मानमर्दन गरेर इतिहासको पोथा कण्ठ पार्नुको के अर्थ ?
तसर्थ, पुरानो पुस्तालाई गाली, बेइज्जती गर्नुभन्दा उनीहरूको यथोचित सम्मानसहित नयाँ पुस्ताले जिम्मेवारी लिनु बुद्धिमानी हुन्छ ।