• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • छ लेन कालोपत्रे शुरु भएपछि उत्साह

छ लेन कालोपत्रे शुरु भएपछि उत्साह

  • मङ्लबार, मंसिर १०, २०७६
छ लेन कालोपत्रे शुरु भएपछि उत्साह

धनगढी, १० मसिंर । धनगढी अत्तरिया जोड्ने मोहना पुल–अत्तरिया छ लेन सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । तीन खण्ड गरेर निर्माण भइरहेको छ लेन सडकको तीन वटै खण्डमा कालोपत्रे गर्ने कार्यलाई अगाडि बढाइएको हो । पहिलो खण्डको भन्सार, मिलन चौक क्षेत्र, दोस्रो खण्डको बोराडाँडी र तेस्रो खण्डको अत्तरिया क्षेत्रमा कालोपत्रे गर्नका लागि तयारी गरिएको छ । अहिले कालोपत्रे गर्नका लागि ठाउँ तयार पार्ने कार्य भइरहेको छ लेन सडक निर्माण आयोजनाको कार्यालयले जानकारी दिएको छ ।

पहिलो खण्डको मिलन चौक क्षेत्रमा कालोपत्रेको लागि ‘प्राइम कोड’ राख्ने कार्य भइरहेको छ । भने, एक÷दुई दिनभित्रै दोस्रो र तेस्रो खण्डमा कालोपत्रे गर्ने क्षेत्रमा प्राइम कोड राखिने आयोजनाले जनाएको छ । तीनवटै खण्डको करिब सात÷आठ सय मिटर दूरीमा पहिलो चोटी कालोपत्रे हुने आयोजना प्रमुख होमबहादुर एमसीले बताए ।

उनका अनुसार यो दूरीमा हुने कालोपत्रेलाई ‘ट्राइल’ को रुपमा लिइएको छ । यसमा कालोपत्रे राम्रो भएमा त्यसपछि कालोपत्रेको कार्यलाई थप अगाडि बढाइने छ । ‘सात÷आठ सय मिटरमा कालोपत्रे गरेर सबै प्राविधिक पक्षको कुरा जाँच गर्छौ’, उनले भने–‘यदि, कालोपत्रे सफल देखिएमा त्यसपछि यसै अनुसार अरु क्षेत्रमा पनि कालोपत्रेको काम अगाडि बढाउँछौं ।’

छ लेन सडक निर्माण हुने क्रममा सडक आसपासका स्थानीयवासीका साथै, यात्रुलाई पनि थुप्रै समस्या हुँदै आएकाले उनीहरुले छिटोभन्दा छिटो सडक कालोपत्रे हुनु पर्ने माग गर्दै आएका छन् । छ लेन सडक निर्माणको कार्य सुरु भएको साढे दुई वर्षपछि कालोपत्रे गर्ने कार्यलाई अगाडि बढाइएपछि नगरवासीमा उत्साह थपिएको छ ।

सडक कालोपत्रे हुन थालेपछि उनीहरु खुशी भएका छन् । चटकपुरका मदनराज अवस्थीले कालोपत्रेको काम अगाडि बढ्दा खुशी लागेको बताए । उनले निर्माणाधीन छ लेन सडकबाट धुलो उड्दा अढाई वर्षदेखि व्यापार, व्यवसाय प्रभावित रहेको उल्लेख गरे । नगरवासीसहित व्यवसायीले छ लेन सडक निर्माणको कार्यलाई छिटोभन्दा छिटो रुपमा सम्पन्न गर्नु पर्ने माग गर्दै आएका छन् ।

निर्माण कार्य सुरु भएको अढाई वर्षपछि छ लेन सडक कालोपत्रेको काम थालिएको हो । विक्रम सम्वत २०७४ जेठबाट सडक निर्माणको कार्य सुरु गरिएको थियो । दुई वर्षमा काम सम्पन्न गर्नु पर्ने समायवधि रहे पनि विविध कारणले छ लेनको काम समयमा पूरा हुन सकेन ।

छ लेन सडक निर्माण कार्य सुरु भएकै बेला सर्वोच्च अदालतमा मुद्दासमेत परेपछि झन्डै आधा वर्षसम्म काम रोकिएको थियो । फलस्वरुप, सडक निर्माणको कार्य तदारुकताका साथ अगाडि बढ्न सकेको थिएन । गएको जेठ मसान्तमा सडक निर्माण अवधि सकिएको छ ।

छ लेन सडक निर्माणको म्याद सकिए पनि काम भने रोकिएको छैन । अहिले म्याद थप गराउने प्रक्रियालाई अगाडि बढाउँदै निर्माण कम्पनीहरुले सडक कालोपत्रेको कार्य सुरु गरेका छन् । त्रिनगर भन्सारको मोहना पुलदेखि अत्तरिया बजारसम्म १४.१९७ किलोमिटर दूरी रहेको छ लेन सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण गर्ने कार्य भइरहेको छ ।

मोहना पुलदेखि बोराडाँडीसम्म शर्मा÷अम्बर÷नागार्जुन, बोराडाँडीदेखि गेंटासम्म लुम्बिनी÷राजेन्द्र÷डाँफे जेभीले निर्माण गरिरहेका छन् । दुवै खण्डको लम्बाई ४.५ किलोमिटर रहेको छ । गेंटा देखि अत्तरिया सम्म ५.१९७ किलोमिटरको तेस्रो खण्डमा लामा÷राजेन्द्र÷डाँफे जेभीले काम गरिरहेका छन् ।

छ लेन सडक निर्माणका लागि एक वर्षको म्यादमात्रै थप हुने भएकाले निर्माण कम्पनीहरुले आउँदो जेठ मसान्तसम्म काम सक्नु पर्ने आयोजना प्रमुख एमसीले बताए । ‘काम पहिलेकोभन्दा अहिले सन्तोषजनक रुपमा अगाडि बढेको छ’, उनले भने–‘तर, निर्माण कम्पनीहरुले अझै गति बढाउन जरुरी देखिएको छ ।’

भौतिक प्रगति ५५ प्रतिशत
छ लेन सडक निर्माण सुरु भएको अढाई वर्षमा भौतिक प्रगति करिब ५० देखि ५५ प्रतिशत पुगेको जनाइएको छ । यसैगरी, वित्तीय प्रगति ३३ प्रतिशत रहेको आयोजना प्रमुख एमसीले जनाएका छन् ।

कुल एक अर्ब ६५ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको मोहना पुल–अत्तरिया छ लेन सडकमा हालसम्म करिब ६१ करोड रुपैयाँ खर्च भएको छ । हालसम्म सब–ग्रेड, वान लेयर्स बेस, साइड ड्रेन र खण्ड २ र ३ मा कल्भर्ट निर्माणको कार्य सम्पन्न भएको छ । खण्ड १ मा भने कल्भर्टको केही काम बाँकी रहेको जनाइएको छ ।

पुल बन्ने सुरसार छैन
मोहना पुल–अत्तरिया छ लेन सडक अन्तर्गत निर्माण हुने पुल निर्माणको सुरसार भने अझैसम्म हुन सकेको छैन । भन्सारस्थित मोहना नदी र गेटामा निर्माण हुने पुलको डिजाइन पनि फाइनल भइसकेको छैन । कन्सल्टेन्टले पुलको डिजाइन फाइनल गर्ने क्रममा रहेको छ लेन सडक आयोजनाको कार्यालयले जानकारी दिएको छ ।  पश्चिम टुडे खवर अनलाइन

चर्चामा

सम्बन्धित समाचार