धनगढी, भदौ २४ । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै कैलालीमा डल्फिन महोत्सव हुने भएको छ । डल्फिन संरक्षण र पर्यटन वर्षलाई लक्षित गरी कैलाली होटल व्यवसायी संघले टीकापुरमा डल्फिन महोत्सव गर्न लागेको हो ।
धनगढीमा पत्रकार सम्मलेन गर्दै कैलाली होटल व्यवसायी संघले यही भदौ २८ देखि ३० गतेसम्म टीकापुरमा महोत्सव आयोजना गर्न लागिएको जनाएको छ ।
‘डल्फिन संरक्षण, सम्वर्द्धन तथा पहिचान, पर्यटन विकासको अभियान’ भन्ने नाराका साथ डल्फिन महोत्सव गर्न लागिएको कैलाली होटल व्यवसायी सघंका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए ।
महोत्सवमा डल्फिन अवलोकन, थारु तथा अछामी खानाको परिकार, थारु नृत्य, देउडा प्रतियोगिता, कर्णाली नदीमा जलयात्रालगायतको व्यवस्था रहनेछ ।
महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।